रियाद । यमनमा इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबविरुद्ध सैन्य गतिविधि तीव्र बनाएपछि मध्यपूर्वको तनाव थप जटिल बनेको छ । लाल सागर र बाब अल–मन्देब जलमार्ग आसपास हुथीको प्रभाव विस्तार हुँदै गएपछि साउदी अरबले अमेरिकासँग थप सैन्य सहयोगको आग्रह गरिरहेको बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार हुथीको पछिल्लो विस्तार रोक्न अमेरिका र उसका प्रमुख क्षेत्रीय साझेदार साउदी अरबले स्पष्ट रणनीति बनाउन नसकेको भन्दै क्षेत्रीय तथा अमेरिकी अधिकारीहरूमा चिन्ता बढेको छ ।
अमेरिकाले साउदीलाई गुप्तचर सूचना र सैन्य लक्ष्य पहिचानसम्बन्धी सहयोग बढाए पनि हुथीविरुद्ध प्रत्यक्ष सैन्य कारबाही गर्ने इच्छा तत्काल देखाएको छैन ।अमेरिकी प्रशासनले हाल प्रत्यक्ष आक्रामक हवाई हमला वा अन्य सैन्य कारबाही नगर्ने नीति कायम राखेको बताइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार हुथीले रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलमार्गमाथि प्रभाव विस्तार गर्ने लक्ष्य राखेका छन् । बाब अल–मन्देबले लाल सागरलाई अदनको खाडी हुँदै हिन्द महासागरसँग जोड्छ ।
यस क्षेत्रमा अस्थिरता बढेमा एसिया, युरोप र मध्यपूर्वबीचको व्यापार तथा तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । हुथीको गतिविधि लामो समयदेखि निगरानीमा रहेको र उनीहरूले महत्त्वपूर्ण समुद्री मार्गमा दबाब सिर्जना गर्न सक्ने चेतावनी गुप्तचर निकायले दिँदै आएको अमेरिकी अधिकारीहरूको भनाइ छ ।
हुथी र साउदी नेतृत्वको गठबन्धनबीच पछिल्ला सातामा तनाव बढेको छ । साउदी अरबले हुथीमाथि मक्कालाई समेत लक्षित गरेको आरोप लगाएको छ भने हुथीले साउदी एफ–१५ लडाकु विमान खसालेको दाबी गरेका छन् ।
शनिबार साउदी राजधानी रियादमा हवाई आक्रमणसम्बन्धी चेतावनी बजेको बताइएको छ । हुथीले रियादका महत्त्वपूर्ण स्थान तथा यान्बुस्थित साउदी अराम्कोको सुविधामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
साउदी नेतृत्वको गठबन्धनले यमनबाट रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरेको जनाएको छ । उक्त घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक नभएको बताइएको छ ।
हुथीको विस्तार रोक्न साउदी अरबले अमेरिकासँग प्रत्यक्ष सैन्य कारबाही गर्न आग्रह गरिरहेको स्रोतहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्दै हुथीविरुद्ध अमेरिकी हमला गर्न आग्रह गरेको बताइएको छ । तर ट्रम्प प्रशासनले अहिलेसम्म उक्त आग्रह स्वीकार गरेको छैन ।
ट्रम्पले हुथीसँग अमेरिका प्रत्यक्ष युद्धमा जान नचाहेको संकेत गर्दै हुथीको मुख्य समस्या साउदी अरबसँग रहेको बताएका छन् । यस विषयमा पूर्व अमेरिकी कूटनीतिज्ञहरूले अमेरिकी नीतिले साउदी अरबलाई गलत सन्देश दिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
क्षेत्रीय अधिकारीहरूका अनुसार साउदी सेनासँग मिसाइल रोक्ने क्षेप्यास्त्रको भण्डार घट्दै गएको छ । त्यसैले साउदी अरबले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग समेत हवाई प्रतिरक्षा सहयोग मागेको बताइएको छ ।
साउदी अरबले करिब एक दशकदेखि यमनको सरकारी सेनालाई तालिम तथा सैन्य सहयोग दिँदै आएको छ । तर हुथीको पछिल्लो विस्तार रोक्न ती सेना प्रभावकारी रूपमा सफल हुन नसकेको विश्लेषण गरिएको छ ।
यमनमा हुथी र साउदीसमर्थित सरकारी सेनाबीच एक दशकभन्दा लामो समयदेखि संघर्ष हुँदै आएको छ । हुथीलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) बाट तालिम तथा सहयोग प्राप्त हुने आरोप लाग्दै आएको छ ।
पूर्व अमेरिकी अधिकारीहरूका अनुसार हुथी इरानबाट पूर्ण रूपमा निर्देशित समूह नभए पनि इन्धन तथा अन्य सहयोगका लागि इरानसँगको सम्बन्ध महत्त्वपूर्ण छ । लामो समयको सम्बन्धले हुथीलाई सीमित क्षमताको विद्रोही समूहबाट प्रभावशाली सैन्य शक्तिमा रूपान्तरण गर्न सहयोग गरेको उनीहरूको भनाइ छ ।
हुथीको बढ्दो गतिविधिले स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित कूटनीतिक प्रयासमा समेत असर पारेको बताइएको छ । खाडी सहयोग परिषद् देशहरू र इरानबीच हुने भनिएको बैठक रद्द भएको तथा साउदी अरबले होर्मुज जलमार्ग खुला राख्ने सम्भावित सम्झौताको भाषाप्रति असन्तुष्टि जनाएको समाचारमा उल्लेख छ ।
यससँगै बाब अल–मन्देब र स्ट्रेट अफ होर्मुजजस्ता दुई महत्वपूर्ण समुद्री मार्ग एउटै भूराजनीतिक तनावसँग जोडिएका छन् । यी जलमार्गमा अवरोध उत्पन्न भएमा अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षामा असर पर्न सक्ने चिन्ता बढेको छ ।
अमेरिकाले विगतमा हुथीविरुद्ध लामो सैन्य अभियान सञ्चालन गरे पनि उनीहरूलाई निर्णायक रूपमा कमजोर पार्न नसकेको बताइएको छ । अहिले अमेरिका ओमानमार्फत हुथीसँगको सम्पर्क कायम राख्दै युद्धविराम जारी राख्ने प्रयासमा रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ ।
क्षेत्रीय अधिकारीहरूका अनुसार हुथीलाई सैन्य रूपमा कमजोर बनाउन सकिए पनि पूर्ण रूपमा पराजित गर्न कठिन हुन सक्छ । प्रत्यक्ष अमेरिकी हस्तक्षेप सीमित रहेमा साउदी अरबले एक्लै हुथीको विस्तार रोक्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ । हुथीको बढ्दो सैन्य गतिविधि, समुद्री मार्गमाथिको रणनीतिक चासो र साउदी–अमेरिका सम्बन्धले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनाएको छ ।
