चीनको थियानगोङ अन्तरिक्ष केन्द्रमा १४ प्रजातिका २० भन्दा बढी प्रकारका बाली उत्पादन ।
सलाद, गाजर, सूर्यमुखी, आलु र गहुँ अन्तरिक्षमै हुर्काइँदै ।
गहुँले अन्तरिक्षमै पूर्ण वृद्धि चक्र पूरा गरेको छ ।
अन्तरिक्षमा खाद्य उत्पादनले पृथ्वीबाट खाद्यान्न पठाउने निर्भरता घटाउन सक्ने अपेक्षा ।
चीनले भविष्यमा चन्द्रमामा समेत तरकारी खेती गर्ने योजना अघि बढाएको छ ।
काठमाडौँ, ५ असाेज । चीनले मानवलाई लामो समयसम्म अन्तरिक्षमा राख्ने तयारीअन्तर्गत आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा खेतीसम्बन्धी प्रयोगलाई तीव्र बनाएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार थियानगोङ अन्तरिक्ष केन्द्रमा अहिलेसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति तथा खाद्य बाली सफलतापूर्वक उत्पादन गरिएको छ ।
अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत बाली हुर्काइएका छन् । बिरुवालाई विशेष माध्यमका साथै पोषक तत्वयुक्त पानी र हावामा आधारित प्रविधिको प्रयोग गरी हुर्काउने गरिएको छ ।
वैज्ञानिकहरूका लागि गहुँ खेतीको प्रयोगलाई विशेष उपलब्धिका रूपमा लिइएको छ । गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ । पहिलो पटक उत्पादन भएको बीउबाट लगाइएको दोस्रो चरणको गहुँसमेत अहिले कटानीको नजिक पुगेको जनाइएको छ ।
अन्तरिक्षमा खाद्य बाली उत्पादन गर्ने प्रविधिको विकासले भविष्यमा पृथ्वीबाट खाद्यान्न तथा बीउ निरन्तर पठाउनुपर्ने निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । चीनले अन्तरिक्षमै हावा, पानी र खाद्य पदार्थ पुनःउत्पादन गर्न सकिने ‘नियन्त्रित जीवन–समर्थन प्रणाली’ विकास गरिरहेको छ ।
चीनले सन् २०३० सम्ममा मानवसहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको छ । त्यसपछि चन्द्रमाको सतहमा ‘तरकारी बगैँचा’ स्थापना गर्ने दीर्घकालीन योजनासमेत अघि बढाइएको छ । यस्तो प्रविधिबाट चन्द्रमामा लामो समय बस्ने अन्तरिक्षयात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाइ छ ।
