भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मुख्य बुँदा

समुद्री सतहबाट करिब २,६०० मिटर उचाइमा रहेको ऐतिहासिक भंकासे।

यहाँबाट साविकका ३५ गाविसको भूगोल तथा धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला देखिन्छन्।

धार्मिक, प्राकृतिक र आरोग्य पर्यटनको सम्भावना बोकेको क्षेत्र।

स्थानीय तहले पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका योजना अघि बढाएको।

म्याग्दी, १५ असार । पहाडको उच्च स्थानमा रहेको समथर टापु, चारैतिर भिरालो पाखा र घना जङ्गल, बस्तीभन्दा टाढाको एकान्त र शान्त वातावरण अनि पृष्ठभूमिमा मुस्कुराइरहेका हिमशृङ्खलाहरू।

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको प्राकृतिक रूपमा सुन्दर र मनमोहक भंकासे क्षेत्र अहिले पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ।

परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको यो धार्मिक र पर्यटकीय स्थल समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटरको उचाइमा अवस्थित छ।

पात्लेखेतको वाखेत टोलको शिरमा रहेको यस ऐतिहासिक ठाउँको उचित प्रचारप्रसार आवश्यक रहेको स्थानीय बासिन्दा लोकबहादुर पुन बताउँछन्।

पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुनाले पहिले ‘भ्वाङ खसेको’ भन्दा भन्दै पछि अपभ्रंश भएर यसको नाम भंकासे रहन गएको जनविश्वास छ।

भंकासेमा पहाड भासिएर ओडार जस्तो बनेको एउटा ठूलो भ्वाङ रहेको छ, जसको नजिकै करिब १० रोपनी समथर खाली जमिन फैलिएको छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका सुन्दर हिमशृङ्खलाहरू स्पष्ट रूपमा देखिन्छन्।

स्थानीय बासिन्दाहरूका अनुसार म्याग्दीका साविकका ४१ वटा गाविसमध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट सहजै अवलोकन गर्न सकिन्छ।

भंकासेभन्दा करिब २०० मिटर तल ऐतिहासिक सिद्धको थान रहेको छ। उक्त थानमा तपस्या गरेका प्राचीन ऋषिहरूले देहत्याग गरेको विश्वास गरिने ठाउँमा अहिले मन्दिर र धर्मशाला समेत बनाइएको छ।

हालको समयमा पनि यहाँ देशका विभिन्न स्थानहरूबाट ऋषिमुनिहरू ध्यान तथा तपस्याका लागि आउने गरेका छन्। सिन्धुपाल्चोकबाट आएर विगत १२ वर्षदेखि भंकासेमा तपस्या गरिरहेका तपस्वी रुपचन्द्रले आफूले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि यहाँ तपस्या गर्न आएको बताएका छन्।

भंकासे र सिद्धथान क्षेत्रमा तपस्वीहरूका लागि आश्रमहरू समेत बनाइएका छन्। वाखेत बस्तीबाट करिब ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिँडेपछि भंकासे पुग्न सकिन्छ। यस्तै, रघुगङ्गा र मङ्गाल गाउँपालिका तथा बेनी नगरपालिकाको सिमानामा पर्ने अर्को प्रख्यात पर्यटकीयस्थल टोड्केबाट ४० मिनेटको पैदलयात्रा पछि भंकासे पुगिने व्यवस्था छ।

बेनी नगरपालिकाले सिद्धथान र भंकासे क्षेत्रलाई ‘आरोग्य पर्यटन’ को अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रूपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’ मा समेटेको वडाध्यक्ष मसविर रोकाले जानकारी दिएका छन्।

वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग र सिद्धथान जोड्ने सडक निर्माण भइसकेको जानकारी दिँदै उनले यस क्षेत्रको ऐतिहासिक तथ्यहरू जुटाउनका लागि धर्मगुरुहरूमार्फत खोज अनुसन्धान समेत थालिएको बताएका छन्। रासस

म्याग्दी, ११ जेठ । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीलाई वातावरणमैत्री चोयाका सामग्री बनाउने परम्परागत सीप प्रदान गरिएको छ।

विद्यार्थीलाई मौलिक तथा परम्परागत सीप हस्तान्तरण गर्दै वातावरणमैत्री सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु लगायतका सामग्री निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको हो।

बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का २० भन्दा बढी विद्यार्थीलाई तालिम दिइएको दीपक माविका सहायक प्रधानाध्यापक विजय सुवेदीले जानकारी दिए।

तालिममा स्थानीय प्रशिक्षक मनबहादुर परियारले निगालो र बाँसको चोयाबाट डोको, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बनाउने सीप सिकाइरहेका छन्। अघिल्लो पुस्ताबाट हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको यो सीपलाई जोगाउन र प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

चोयाका सामग्री वातावरणमैत्री हुनुका साथै ढुवानी र भण्डारणमा पनि उपयोगी मानिन्छन्। नगरपालिकाले विद्यार्थीलाई सीप र श्रमसँग जोड्ने उद्देश्यले विभिन्न विद्यालयमा हाउस वायरिङ, प्लम्बिङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने लगायतका तालिमसमेत सञ्चालन गर्दै आएको छ।

नगर प्रमुख सुरत केसीका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउन र स्थानीय स्रोतको उपयोगमार्फत रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

म्याग्दी । सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण शुरु भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण थालिएको हो ।

हिउँद शुरु भएर नदीमा पानीको सतह घटेपछि निर्माण व्यवसायीले काम थालेको आयोजनाका इन्जिनियर नरजङ गुरुङले जानकारी दिए । ‘ठेकेदारले पहिलो चरणमा खोलालाई डाइभर्सन गराउन थालेका छन्’, उनले भने, ‘खोला डाइभर्सनको काम सकेपछि नदी किनारमा पक्की पर्खाल निर्माणको काम शुरु हुुन्छ ।’

म्याग्दी नदी किनारमा १६५ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माणका लागि रु पाँच करोड ९७ लाख ५० हजार ६२४ कुल लागत अनुमान गरिएकामा २०८२ साल वैशाख १० गते चार करोड २१ लाख ५९ हजार ६९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताको म्याद आगामी २०८३ असार २० गतेसम्म छ । भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्यूरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण भएको छ। यो वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका म्याग्दी, पर्वत र मुस्ताङमा छवटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना शुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुरमान श्रेष्ठले बताए ।ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन्। ती आयोजनाको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार ८३९ रुपैयाँ रहेको छ ।

बेनी नगरपालिका- ४ सिङ्गा तातोपानीमा १०२, रघुगङ्गा गाउँपालिका-३ स्थित गायत्री मन्दिर संरक्षणका ५३ मिटर र पर्वतको जलजला गाउँपालिका-३ बौरस्थित कालीगण्डकी नदी किनारमा ८० मिटर, कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेतस्थित कालीगण्डकी नदीमा एक सय २९ मिटर लामो पर्खाल निर्माण गर्न लागिएको हो । मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीमा पनि नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।

नदी कटानका कारण उच्च जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि योजना माग भएअनुसार कार्यालयबाट ती आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको कार्यालयका प्रमुख श्रेष्ठले बताए । रासस

म्याग्दी, ८ असार । म्याग्दी जिल्लाको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारको चक्रपथ सडक स्तरोन्नतिको कार्य योजना समयभन्दा २० दिनअघि नै सम्पन्न भएको छ।

सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनीबीच २०७८ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता गरिएको योजना २०८२ साल असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य थियो। तर, निर्माण कम्पनीले समयमा मजदुर, उपकरण र निर्माण सामग्री परिचालन गरी समयभन्दा अघि नै काम सम्पन्न गरेको हो।

आयोजनाका इञ्जिनियर वीरबल सुनारका अनुसार सम्झौता बमोजिम नाली, पर्खाल र ढलानको काम सकिएको छ र प्राविधिक नापजाँच भइसकेको छ। भुक्तानी भने अझै बाँकी रहेको जानकारी दिइएको छ। बेनी–८ कालीपुलदेखि दोभान हुँदै खुलामञ्च पश्चिमको बहुउद्देश्यीय मैदानसम्म करिब ९ सय मिटर लम्बाइ र ५–६ मिटर चौडाइको आरसिसी ढलान सडक निर्माण गरिएको छ। सडकमा रङरोगन तथा ‘आइ क्याट’ समेत राखिएको छ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीका अनुसार म्याग्दीका अन्य दुई आयोजना—बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक र बेनी–गलेश्वर सडक पनि लक्ष्यभन्दा अगावै सम्पन्न भएका छन्। बेनी–अर्थुङ्गे सडक योजना तीन महिनाअघि नै सम्पन्न भएको हो भने १२ करोड ७५ लाखको लागतमा बनेको बेनी–गलेश्वर सडक २०८० साल पुसमा नै सम्पन्न भइसकेको छ। उनले भने, “लक्ष्यभन्दा अघि काम सके पनि भुक्तानीमा ढिलासुस्ती हुँदा समस्या छ।”

बेनी चक्रपथ सडक निर्माणपछि नदी तटको क्षेत्र सुरक्षित मात्र नभई, चहलपहल पनि बढेको छ। स्थानीय बासिन्दा बिहान–साँझ हिँडडुल गर्न तथा गर्मी छल्न यहाँ आउने गरेका छन्। बेनी नगरपालिका प्रमुख सुरत केसीका अनुसार, बेनी बजारलाई नमूना नगर बनाउने सरकारको योजनाअनुरूप चक्रपथ निर्माण गरिएको हो। आगामी वर्ष दरवाङ बसपार्क ढलान र टर्मिनल भवन निर्माणका लागि योजना प्रस्ताव गरिसकिएको पनि उनले जानकारी दिए।

बाढी जोखिम उच्च भएको बेनी बजारको संरक्षणका लागि पक्की तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। त्यसपछि माटो भराइ गरी सडक बनाइएको हो।यस आयोजनाले समयमै र लक्ष्यभन्दा अघि काम सम्पन्न गर्ने उदाहरण प्रस्तुत गरेको छ, जुन नेपालमा दुर्लभ अनुभवको रूपमा लिइएको छ।

म्याग्दी,३ असार। सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए। विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् ।

उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ ।

यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७र७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो । रासस