भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एजेन्सी, २१ भदौ । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।

स्थानीय अधिकारीहरूका अनुसार शनिबार बिहान करिब ४ बजे एक गाउँमा पहिरो गएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि भइरहेको मुसलधारे वर्षाले पहिरो गएको हो ।

पहिरोमा परेका दुई जनालाई जीवितै उद्धार गरिएको छ । उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन् । घटनापछि उद्धार तथा खोजीका लागि शनिबार रातिसम्म ६४० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको थियो । गाउँ जोड्ने सडक क्षतिग्रस्त भएकाले अग्नि नियन्त्रक तथा उद्धार टोली पहाडको वैकल्पिक बाटो हुँदै शनिबार बिहान करिब ११ बजे घटनास्थल पुगेका थिए ।

उद्धार कार्यमा जीवन पहिचान गर्ने उपकरण, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग भइरहेको छ । हालसम्म ३९ जना गाउँलेलाई सुरक्षित स्थानमा सारिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रमा रहेका ५ हजार ३ सयभन्दा बढी बासिन्दालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अवरुद्ध सडक तथा विद्युत् सेवा पुनःसञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ । दूरसञ्चार सेवा भने पुनः सञ्चालनमा आइसकेको अधिकारीहरूले जनाएका छन् । यस विपद्का कारण जियाङ्सी प्रान्तमा करिब १ लाख ६१ हजार ५ सय मानिस प्रभावित भएको बताइएको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जियाङ्सी प्रान्तीय समितिले शनिबार दिउँसो तेस्रो तहको आपतकालीन प्रतिक्रिया जारी गरेको छ ।

चीनको प्राकृतिक स्रोत मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले पनि राष्ट्रियस्तरका आपत्कालीन कार्य टोली घटनास्थलमा परिचालन गरेका छन् । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जियाङ्सीको उद्धार तथा राहत कार्यका लागि केन्द्रीय कोषबाट २० मिलियन युआन विनियोजन गरेको छ ।

उक्त रकम क्षतिग्रस्त सडक, खानेपानी, विद्यालय र अस्पताललगायतका पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ ।चीनमा चार तहको आपत्कालीन प्रतिक्रिया प्रणाली रहेको छ । त्यसमा पहिलो तहलाई सबैभन्दा गम्भीर तह मानिन्छ ।

काठमाडौं, २० भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १ हजार ३४४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार ४ हजार ८९८ जना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । त्यस्तै, ५०१ वटा आंशिक मानव अङ्गसमेत फेला परेका छन् । तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बेपत्ता ४ हजार ८९८ जनामध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन् ।

बेपत्ता नेपालीमध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला रहेको प्रहरीले जनाएको छ । थप १ हजार ३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको छ । यसैबीच, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन् ।

बाढीका कारण विस्थापित भएका ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । खोज तथा उद्धार कार्यका लागि ७ हजार २१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । उद्धारमा खटिएका प्रहरीमध्ये ६५ जना बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका शव तथा मानव अङ्गको पहिचानका लागि डीएनए नमुना संकलन कार्यसमेत तीव्र पारिएको छ । प्रहरीका अनुसार हालसम्म १ हजार २६० मृतक र मृतकका ९७२ आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको छ ।

यस्तै, पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ । उद्धार, खोजी तथा पहिचानको कामसँगै बेपत्ता व्यक्तिको विवरण संकलन र मृतकको सनाखत गर्ने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ, १९ भदाै । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २९० जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीपछि ठूलो सङ्ख्यामा मानिस बेपत्ता रहेका छन् भने खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । प्रहरीका अनुसार फेला परेका १ हजार २९० शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन् । यस्तै ५३२ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेका छन् ।

बाढीमा परी अस्पतालमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ । प्रहरीको तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ४ हजार ७९८ जना बेपत्ता छन् । बेपत्तामध्ये २ हजार ८४७ जना नेपाली नागरिक र ६०१ जना विदेशी नागरिक रहेका छन् । थप १ हजार ३५० जनाको अवस्थाबारे फोनमार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

यसैबीच सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८ हजार १२७ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ हजार ९० पुरुष र २ हजार ४७२ महिला रहेका छन् । फेला परेका शवमध्ये अझै १ हजार १४१ जनाको पहिचान हुन सकेको छैन । पहिचानका लागि प्रहरीले मृतक तथा उनीहरूका आफन्तको डीएनए नमुना सङ्कलन गरिरहेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म मृतकका १ हजार १४३ र आफन्तका ७१९ गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । यी नमुनाको परीक्षणमार्फत पहिचान नखुलेका शवको सनाखत गर्ने प्रक्रिया अघि बढाइएको छ ।

पहिचान नभएका शवको विवरणसमेत प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । यसबाट आफन्त बेपत्ता भएका परिवारले विवरण हेरेर सम्भावित पहिचान गर्न सक्नेछन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव सङ्कलन तथा उद्धारको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ, १८ भदाै  । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तहरूको डीएनए परीक्षण प्रक्रिया जारी छ ।

बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवसँग वंशाणुगत सम्बन्ध भिडाएर सनाखत गर्न आफन्तहरूको रगतको नमूना सङ्कलन थालिएको हो ।बाढीमा परी १ हजार २ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन छन् । लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा परिवारजनमा चिन्ता र बेचैनी बढेको छ ।

विभिन्न अस्पतालमा रहेका पहिचान नखुलेका शव आफ्ना आफन्त हुन सक्ने आशङ्कामा परिवारका सदस्यहरू काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि नमूना दिइरहेका छन् । प्रहरी अस्पतालका अनुसार मृतकको पहिचान सुनिश्चित गर्न आफन्तहरूको रगतको नमूना सङ्कलन गरी वैज्ञानिक परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको हो ।

बाढीपछि फेला परेका केही शव तत्काल पहिचान गर्न नसकिएकाले डीएनए परीक्षणबाट मृतक र आफन्तबीचको वंशाणुगत सम्बन्ध यकिन गर्ने प्रयास भइरहेको छ । यसरी पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव बुझाउने प्रक्रिया अघि बढाइनेछ । बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको छ ।

वैज्ञानिक परीक्षणमार्फत पहिचान खुलाउने प्रक्रियाले लामो समयदेखि आफन्तको अवस्थाबारे अन्योलमा रहेका परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुख्य बुँदा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी अहिलेसम्म १ हजार २५२ जनाको शव फेला परेको छ ।

८ जिल्लामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै चितवनमा ३५५ र त्यसपछि नवलपरासी पश्चिममा २०८ शव भेटिएका छन् ।

बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढीमा परी घाइते भएका ५ हजार १३५ जनामध्ये ३०१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् ।

काठमाडौँ, १८ भदाै । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार २५२ पुगेको छ । बाढीमा परेकामध्ये अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

भदौ १० गते बुधवार भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये बिहीबार दिउँसो १२ बजेसम्म ८ जिल्लाबाट १ हजार २५२ जनाको शव फेला परेको हो ।प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । तर ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कमा नआएकाले खोजी तथा उद्धारको कामलाई निरन्तरता दिइएको छ ।बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् । तीमध्ये ३०१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बाढी प्रभावित विभिन्न क्षेत्रमा बेपत्ता तथा हराइरहेका व्यक्तिको खोजी, उद्धार र राहत वितरणको काम जारी रहेको प्राधिकरणले जनाएको छ ।खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनाका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा एक साताअघि आएको विनाशकारी बाढीमा फसेका तथा अलपत्र परेका ११ हजारभन्दा बढीको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । बाढीपछि ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जलविद्युत आयोजनामा कार्यरत व्यक्ति रहेका छन् । जलविद्युत आयोजनाबाट मात्रै ६३९ जना सम्पर्कविहीन भएको जनाइएको छ ।

बाढी तथा पहिरोमा परी अहिलेसम्म ९३९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार बेपत्ताको खोजी, उद्धार तथा प्रभावितलाई राहत वितरणको काम निरन्तर भइरहेको छ ।

एजेन्सी । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) क्षेत्रमा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना अझै बेपत्ता रहेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार बेपत्ता भएकाहरूको खोजीका लागि प्रभावित क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।शनिबार बिहानदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरका उद्धारकर्मीहरूले पहिरोबाट सबैभन्दा बढी प्रभावित मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएका छन् ।

उद्धार टोलीले आधुनिक मेसिनरी उपकरणसँगै मानवीय माध्यमबाट समेत घाइते तथा बेपत्ता व्यक्तिको खोजी गरिरहेको जनाइएको छ । अगस्ट २९, २०२६ को बिहानसम्म उद्धार टोलीले प्रभावित क्षेत्रको केन्द्रभागमा केन्द्रित भएर खोजी तथा उद्धार कार्य जारी राखेको छ । ठूलो मात्रामा पहिरो खसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।

नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्ये एक केरुङ क्षेत्रमा भएको यो विपद्ले ठूलो मानवीय क्षति पुर्‍याएको छ । बेपत्ताहरूको संख्या अझै ठूलो रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ । उद्धार टोलीले पहिरो प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ भने घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ ।

काठमाडौं, १२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाका नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक हुन थालेको छ ।

प्रदेश तथा जिल्ला प्रहरी कार्यालयहरूले बाढीपछि सम्पर्कविहीन भएका नागरिकको विवरण संकलन गरी खोजी तथा उद्धार कार्य अघि बढाएका छन् ।

मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेस प्रदेशबाट ५८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

प्रहरी कार्यालयमा प्राप्त विवरणअनुसार सप्तरीका ३२, बाराका ८, पर्साका ५, सर्लाहीका ७ तथा रौतहटका २ जना सम्पर्कविहीन छन् । प्रहरीका अनुसार प्राप्त विवरण थप संकलन तथा प्रमाणीकरणको क्रममा रहेको छ ।

बाँकेका २७ जना सम्पर्कविहीन

यसैगरी, कामको सिलसिलामा रसुवा तथा नुवाकोट आसपासका क्षेत्रमा रहेका बाँकेका २७ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सम्पर्कविहीन व्यक्तिका आफन्तले खोजी तथा उद्धारका लागि स्थानीय प्रशासनमा जानकारी गराएका छन् ।

सम्पर्कविहीन हुनेमा १४ पुरुष र १३ महिला रहेका छन् । सम्पर्कविहीन २७ जनामध्ये २० जना बाँकेका स्थायी बासिन्दा, ५ जना अन्य जिल्लाबाट आएका र २ जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ ।

उनीहरू रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय, जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड क्षेत्रमा व्यवसाय र रोजगारीका सिलसिलामा रहेका थिए । कैलाश मानसरोवर तीर्थयात्रामा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन भएको जनाइएको छ ।

सुनसरीका नागरिक पनि सम्पर्कविहीन

यता, रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रहेका सुनसरीका नागरिकसमेत भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार केही व्यक्ति परिवारको सम्पर्कमा आएका छन् भने अन्य व्यक्तिसँग अझै सम्पर्क हुन सकेको छैन । परिवारको सम्पर्कमा आएका व्यक्तिहरूमा रामधुनी नगरपालिकाका नवराज ढकाल, देवनन्दन यादव, जीवन सिंह र सञ्जित नारायण रहेका छन् ।

यस्तै, सचिन गौतम, मुकेश नेपाल, धिरज साह, श्यामनारायण साह, मीना बजगाईँ, छवि केशर काफ्ले, मणि करण राई, प्रभाकर दङ्गाल, पुष्पराज भट्टराई, दिनेशकुमार चौधरी, भुवनबहादुर श्रेष्ठ, रविनाकुमारी धामी, अमरबहादुर खड्का, मनमाया खड्का र मोहन माझीसँग अझै सम्पर्क कायम हुन नसकेको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न जिल्लाका नागरिक सम्पर्कविहीन भएको विवरण प्राप्त भइरहेकाले प्रहरीले सम्बन्धित परिवार तथा स्थानीय प्रशासनसँग समन्वय गरी खोजी कार्य अघि बढाइरहेको जनाएको छ ।