भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर, २ माघ । बाग्मती प्रदेशभित्र उत्कृष्ट अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालमा अत्याधुनिक नयाँ भवन निर्माण गरिने भएको छ। बाग्मती प्रदेश सरकारको प्राथमिकतामा परेको यस परियोजनाअन्तर्गत करिब ६२ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिने भएकाे हाे । 

शुक्रबार बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतको उपस्थितिमा प्रस्तावित नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (DPR) माथि विस्तृत छलफल भएको हो।

बैठकमा भवनको डिजाइन, सेवा विस्तार, लागत व्यवस्थापन र निर्माण समयसीमाबारे समीक्षा गरिएको थियो।

नयाँ भवनमा अत्याधुनिक आकस्मिक कक्ष, आइसियु, एनआइसियु, प्रसूति तथा स्त्रीरोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई जस्ता प्रविधियुक्त सेवा विस्तार गर्ने योजना रहेकाे छ। साथै, बिरामी र सेवाग्राहीलाई सहज हुने गरी प्रतीक्षालय, अपाङ्गमैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिने भएकाे छ।

स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पताललाई बाग्मती प्रदेशकै नमुना अस्पताल बनाउने लक्ष्यसहित योजना अघि बढाइएको बताउनुभयाे भने, “नयाँ भवन निर्माणपछि यहाँको सेवा क्षमतामा गुणात्मक र मात्रात्मक दुवै रूपमा वृद्धि हुनेछ। स्थानीय मात्र होइन, काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरका बिरामीहरूलाई पनि ठूलो राहत मिल्नेछ।” उहाँले भन्नु भयाे ।

६२ करोडको लगानीमा भक्तपुर अस्पतालको नयाँ भवन, सेवा क्षमतामा ठूलो विस्तार

संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन सामाजिक र आर्थिक फाइदा दिने उल्लेख गर्दै निर्माण प्रक्रियामा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभयाे । 

स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले DPR अनुसार निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइने, तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयाे । गाैतमका अनुसार वातावरणमैत्री प्रविधि, भूकम्प प्रतिरोधी डिजाइन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार र भक्तपुरकाे पुरानाे शैलीमा भवन निर्माण गरिने र मुटु  तथा न्यूराे सम्बन्धी सेवा समेत विस्तार गरिने बताउनुभयाे ।

स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूले यस योजनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नयाँ भवन निर्माणपछि भक्तपुर अस्पताल प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

मुख्य बुँदा 

बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीद्वारा भक्तपुर अस्पतालको अवलोकन
 स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतमले पनि अस्पताल अवलोकन
अस्पतालका सेवा सुविधा सन्तोषजनक रहेको निष्कर्ष
सीटी स्क्यान सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाइएको
मेसु डा. सुरेन्द्र भट्टद्वारा अस्पतालको सेवा, जनशक्ति र पूर्वाधारबारे जानकारी
स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेश सरकारको प्रतिबद्धता

भक्तपुर, ७ पुष । बागमती प्रदेश प्रमुख सचिव बाबुराम अधिकारी तथा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले भक्तपुर अस्पतालको संयुक्त रूपमा अवलोकन गर्नु भएको छ।

अवलोकनका क्रममा उहाँहरूले अस्पतालबाट प्रदान भइरहेका स्वास्थ्य सेवाहरू, सेवा प्रवाहको अवस्था तथा व्यवस्थापन पक्षबारे जानकारी लिनु भयो।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुरेन्द्र भट्टले प्रमुख सचिव अधिकारी तथा सचिव गौतमलाई अस्पतालको समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे विस्तृत जानकारी गराउनु भएको थियो।

डा. भट्टका अनुसार भक्तपुर अस्पतालमा उपलब्ध सेवा सुविधाहरू सन्तोषजनक रहेको र सीटी स्क्यान सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयाे । 

अवलोकनपछि प्रमुख सचिव बाबुराम अधिकारीले भक्तपुर अस्पतालमा राम्रो सेवा सुविधा उपलब्ध रहेको उल्लेख गर्दै विशेष गरी सीटी स्क्यान सेवा प्रभावकारी र गुणस्तरीय रहेको बताउनु भयो। उहाँले अस्पतालले नागरिकलाई सहज, छिटो र भरपर्दो स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गर्नु भयो।

स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले पनि अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख सचिव अधिकारी तथा सचिव गौतमले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गर्नुभयो। अन्तरक्रियाका क्रममा कर्मचारीहरूले सेवा प्रवाहमा देखिएका चुनौती, आवश्यक स्रोतसाधन तथा सुधारका उपायबारे आफ्ना सुझाव राखेका थिए।

प्रमुख सचिव अधिकारीले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकार स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा अस्पताल प्रशासनका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवाला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मुख्य बुँदा 

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि सेवाग्राहीको चाप तीव्र रूपमा वृद्धि
पाँच महिनामा १ हजार ७० जना बिरामीले सिटी स्क्यान सेवा लिए
निजी अस्पतालको महँगो शुल्क र काठमाडौंका सरकारी अस्पतालको लामो पालोको विकल्प बनेको भक्तपुर अस्पताल
सिटी स्क्यान सेवा तीन हजार रुपैयाँमै उपलब्ध
वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरद्वारा जेठ ४ गते सिटी स्क्यान मेसिन उद्घाटन
तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको पहलमा १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान
आठ करोड लागतमा खरिद गरिएको मेसिन १० वर्षसम्म ग्यारेन्टीसहित सञ्चालन
कोरोना महामारीपछि अस्पतालमा आईसीयू, एनआईसीयू तथा सेवा विस्तार
भक्तपुर अस्पताल हाल दैनिक ९ सयदेखि ११ सय बिरामीको उपचार केन्द्र
खरिद प्रक्रियामा ई–बिडिङ प्रणाली लागू गरी पारदर्शिता कायम

भक्तपुर, कात्तिक २३ । सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूलाई महँगो शुल्क तिरेर काठमाडौंसम्म जानुपर्ने बाध्यता भक्तपुर अस्पतालले अन्त्य गरेसँगै सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। अस्पतालमै सर्वसुलभ, छिटो र गुणस्तरीय सिटी स्क्यान सेवा उपलब्ध भएपछि भक्तपुर मात्र नभई आसपासका जिल्लाबाट समेत बिरामीहरू सेवा लिन आउन थालेका छन्।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गत जेठ ४ गते भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो। उद्घाटनपछि पाँच महिनाको अवधिमा एक हजार ७० जना बिरामीले सिटी स्क्यान सेवा लिइसकेको अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालमा टाउकोको सिटी स्क्यान गराउन आउनुभएका सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी अमृत केसीले निजी अस्पतालमा महँगो शुल्क र काठमाडौंका सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने बाध्यताबाट मुक्त भएर भक्तपुर अस्पतालबाट सहज रूपमा सेवा पाएको बताउनुभयो।

उहाँले निजी अस्पताल र काठमाडौंका सरकारी अस्पतालमा धाउँदा खर्चिलो र झन्झटिलो हुने गरेको उल्लेख गर्दै भक्तपुर अस्पतालमा भने अन्य सरकारी अस्पतालभन्दा सस्तो दरमा मात्र तीन हजार रुपैयाँमै सिटी स्क्यान सेवा पाएको भन्दै सन्तुष्टि व्यक्त गर्नुभयो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सिटी स्क्यान मेसिन जडान भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको विशेष पहल र मागअनुसार वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता गरी गत बैशाखमा मेसिन अस्पतालमा ल्याइएको थियो। सो मेसिन जेठ ४ गतेदेखि नियमित रूपमा सञ्चालनमा आएको हो।

डा. भट्टका अनुसार रिफरल सेन्टरको रूपमा परिचित भइसकेको भक्तपुर अस्पतालमा डा. सुमित्रा गौतम मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि कोरोना महामारीको जटिल समयमा आईसीयू, एनआईसीयू सञ्चालन तथा विभिन्न स्वास्थ्य सेवाको विस्तार गरिएको थियो।

ती सुधारात्मक कार्यका कारण अस्पताल तीन पटकसम्म देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भएको उहाँले बताउनुभयो। हाल भक्तपुर अस्पतालमा दैनिक ९ सयदेखि ११ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

डा. भट्टले तत्कालीन वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलको नेतृत्वमा राजनीतिक सल्लाहकार डिपी ढकालको सिफारिसमा बजेट विनियोजन भई स्वास्थ्य मन्त्रालयले आठ करोड रुपैयाँ लागतमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको स्मरण गर्नुभयो। त्यसपछि डा. गौतमको पहलमा मन्त्रालयले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरी भक्तपुर अस्पतालमा जडान गरेको उहाँले बताउनुभयो।

भक्तपुर अस्पतालमा पहिलो पटक मेसिन, औषधि तथा उपकरण खरिदमा हुँदै आएको मनोमानी अन्त्य गर्दै डा. सुमित्रा गौतमले ई–बिडिङ अर्थात् अनलाइन बोलपत्र प्रणाली लागू गरेपछि खरिद प्रक्रिया पारदर्शी बन्दै आएको अस्पताल प्रशासनको भनाइ छ।

सिटी स्क्यान मेसिन आपूर्ति गर्ने कम्पनीले आगामी १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने ग्यारेन्टीसहित सम्झौता गरेको जानकारी दिँदै डा. भट्टले आवश्यक पेपर तथा सामग्रीसमेत १० वर्षका लागि पर्याप्त व्यवस्था गरिएको बताउनुभयो।

उहाँका अनुसार डा. गौतमको पहल र नेतृत्वकै कारण भक्तपुर अस्पतालमा अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा आएको हो, जसले बिरामीहरूलाई ठूलो राहत मिलेको छ।

भक्तपुर, २३ कार्तिक । भक्तपुर अस्पतालले कर्मचारी प्रेस डटकम अनलाइनमा प्रकाशित ‘स्पेक टकको सिन्डिकेट : स्वास्थ्य सचिव डा. सुमित्राद्वारा करोडौँको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी’ शीर्षकको समाचारप्रति आपत्ति जनाएको छ । अस्पतालले उक्त समाचारलाई पूर्णतः भ्रामक, कपोलकल्पित र तथ्यहीन भन्दै खण्डन गरेको हो।

खण्डनपत्रमा अस्पतालका कर्मचारी समेत रहेका दिपेश खड्काले उक्त समाचारमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयका सचिव (पूर्व मेसु) डा. सुमित्रा गौतम सम्बन्धी आरोपहरू झुठा रहेको स्पष्ट पारेका छन्। अस्पतालका अनुसार अख्तियारमा परेको उजुरीको हवाला दिँदै प्रकाशित समाचारमा उल्लेख गरिएझैं स्पेक लक र सप्लायर्ससँगको मिलेमतो, मेशीन खरिदमा भ्रष्टाचार र आन्तरिक हेराफेरी भएको भन्ने दाबीहरू निराधार छन्।

खड्काले खण्डनपत्रमा स्पष्ट पारेका छन् “भक्तपुर अस्पतालले कुनै पनि उपकरण खरिदमा अनियमितता गरेको छैन, अस्पताल वा सचिव डा. गौतममाथि लगाइएका आरोपहरू केवल चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएका हुन्।”

उनले थपे  “अख्तियार अनुसन्धान आयोग वा कुनै अन्य सरकारी निकायबाट छानबिन भएमा हामी पूर्ण सहयोग गर्नेछौं, तर कुनै पनि किसिमको गैरकानुनी कार्य भएको छैन।”

खण्डनपत्रमा जनाइएअनुसार, डा. सुमित्रा गौतमले विभिन्न ठाउँमा उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कार प्राप्त गरेको र उनीविरुद्ध गरिएको समाचारले व्यक्तिको इमान र प्रतिष्ठामाथि प्रहार गरेको आरोप लगाइएको छ।

भक्तपुर अस्पतालले सार्वजनिक रूपमा जनाएको छ  “देश र बिरामीलाई हानि पुग्ने कुनै पनि कार्य गरिएको छैन, गलत समाचारमार्फत प्रतिष्ठा धूमिल गर्ने प्रयास गरिएको छ, जसप्रति अस्पताल गम्भीर आपत्ति जनाउँछ।”

भक्तपुर, १८ भदौ । निजामती सेवा दिवस २०८२ को अवसरमा भक्तपुर अस्पतालले विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको सहकार्यमा (बुधबार) बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सम्पन्न उक्त कार्यक्रममा ५० भन्दा बढी भक्तपुर अस्पतालका कर्मचारीहरूले स्वेच्छिक रक्तदान गरेका हुन्।

निजामती सेवा दिवसको अवसरमा भक्तपुर अस्पतालद्वारा रक्तदान कार्यक्रम, ५० भन्दा बढी कर्मचारीको सहभागिता

“रक्तदान जीवन दान” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहयाेकाे थियाे ।

कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा रक्त आपूर्तिमा सहजता ल्याउनुका साथै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको आयोजक भक्तपुर अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालका कर्मचारीले भने, “यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्व पुरा गर्न सहयोग पुर्‍याउँछ। हामी नियमित रूपमा रक्तदान गर्न चाहन्छौँ।”

निजामती सेवा दिवसको अवसरमा भक्तपुर अस्पतालद्वारा रक्तदान कार्यक्रम, ५० भन्दा बढी कर्मचारीको सहभागिता

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्रविधिक सहयोग प्रदान गरेको कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। यस्ता कार्यक्रमलाई आगामी दिनमा थप व्यापक बनाएर सञ्चालन गरिने भक्तपुर अस्पताल प्रशासनले जनाएकाे छ ।

भक्तपुर,  १७ असार । धेरै वर्षसम्म ‘रिफर सेन्टर’को छवि बनाएको भक्तपुर अस्पताल पछिल्ला वर्षमा आमूल परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ। गत जेठदेखि सिटी स्क्यान सेवा सुरु गरेको यस प्रादेशिक अस्पतालले अब मिर्गौला पीडितका लागि डायलासिस सेवा सुरु गर्न लागेको छ।

बागमती प्रदेश सरकारको सहकार्यमा पाँच थान डायलासिस मेसिन भक्तपुर अस्पतालमा भित्रिसकेका छन्। अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार संघीय सरकारको स्वीकृति प्रक्रिया पूरा भएलगत्तै सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

“हामीले दैनिक तीन सिफ्ट सञ्चालनको तयारी गरेका छौं। यसले एकैदिनमा ४५ जना मिर्गौला फेल भएका बिरामीलाई सेवा दिन सक्नेछ,” डा. भट्टले जानकारी दिए।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अस्पतालकै परिसरमा रहे पनि डायलासिस सेवा लिन समय नपाउने बिरामीहरूले निजी क्लिनिकमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो। निजीमा एकपटकको डायलासिस शुल्क औसत रु २,५०० देखि ५,५०० पर्छ भने महिनाको १०–१२ पटक सेवा लिनुपर्ने हुँदा मासिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने गर्छ।

अस्पतालले प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गर्दै ल्याब रिपोर्टहरू QR कोड स्क्यान गरेर मोबाइलमै हेर्ने सुविधा पनि मंगलबारदेखि सुरु गरेको छ। स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा प्रविधिमा आधारित स्वास्थ्य सेवा विकास भएकोमा सन्तोष व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार न्यूनतम सेवा मापदण्डमा आधारित मूल्याङ्कन गर्दा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको छ। “भक्तपुर अस्पतालको यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको छ,” गौतमको भनाइ थियो।