भक्तपुर, साउन ३० । चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित जयराम मार्गको मर्मत र सरसफाइ कार्य स्थानीय वडावासीले जनश्रमदानमार्फत सम्पन्न गरेका छन् । समाजसेवी एवम् अग्रज राजनीतिक व्यक्तित्व स्व. जयराम बासुकला को स्मृतिमा नामाकरण गरिएको यो सडक मर्मत कार्यमा सयौं स्थानीयको सहभागिता रह्यो ।
वडा कार्यालयको आह्वानपछि स्थानीयबासीहरूले कुटो, कोदालो, साबेल जस्ता उपकरणसहित सक्रिय सहभागिता जनाएका थिए । चाँगुनारायण–९ का वडा अध्यक्ष गणेश त्यातका अनुसार ताथलीका मुख्य र सहायक सडकहरूमा झार र खाल्डाखुल्डीका कारण यात्रामा समस्या भएपछि यो अभियान थालिएको हो ।
डेंगु न्यूनीकरणमा पनि सहयोग
वडा अध्यक्ष त्यातका अनुसार अभियानले डेंगु रोगको जोखिम न्यूनीकरण, सरसफाइप्रतिको जनचेतना अभिवृद्धि, र नागरिक भावना अभिव्यक्तिमा समेत योगदान दिएको छ । उनले वडाको विकास कार्यमा नागरिक सहभागिता बढ्दो रहेको र यस्तो अभियानलाई निरन्तरता दिइने बताए ।
कार्यपालिका सदस्य कमला गिरीले विकास कार्यमा वडावासीको तदारुकता प्रशंसनीय रहेको बताउँदै यसले वडा कार्यालयलाई उत्साहित बनाएको बताइन् । “वडावासीका लागि वडा कार्यालय, वडा कार्यालयका लागि वडावासी भन्ने भावनामा आधारित कार्यक्रम हो,” उनले भनिन् ।
सप्ताहव्यापी सरसफाइ कार्यक्रम अघि बढ्दै
वडा सदस्य रविन बासुकलाले टोल टोलका युवा, महिला, किसान, प्रहरी, समाजसेवी र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई सफल बनाएको बताए । आगामी भदौ ६ गते जयराम मार्गको बाँकी खण्ड र भदौ १४ गते ताथली नाला सडक खण्डमा सरसफाइ गरिने कार्यक्रम वडा कार्यालयले सार्वजनिक गरेको छ ।
समाजसेवी नारायणभक्त न्हेमाफुकीका अनुसार यस्ता अभियानले विकास र समृद्धिको यात्रामा नागरिक सहभागिता जोड्ने कार्य गर्छ । स्थानीय नेतृत्वद्वारा सञ्चालित श्रमदानको अभियानले ताथलीवासीबीच सामाजिक एकता र जिम्मेवारीको भावना पनि बढाएको छ ।
शैक्षिक गुणस्तर वृद्धि उद्देश्य
विविध विषयमा कलेज स्थापना
आत्मनिर्भर र उत्तरदायी विद्यार्थी उत्पादन लक्ष्य
शैक्षिक क्षेत्रमा स्थानीय सरकारको सक्रियता
अन्य स्थानीय तहमा सकारात्मक प्रभाव
भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिले कमजोर विद्यार्थीलाई उत्कृष्ट अंकसहित परीक्षामा उत्तीर्ण गराउनमा शिक्षकको सफलता रहने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले गरिब, जेहेनदार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
ख्वप इ कलेजमा स्नातक तहको इन्जिनियरिङ र आर्किटेक्चर शैक्षिक कार्यक्रम २०७७, २०७८, २०७९ र २०८० मा भर्ना भई अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई रु ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो ।
विद्यार्थीहरुलाई न्यून शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने, सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न र २१ औं शताब्दीको लागि योग्य विद्यार्थी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न विषयका कलेजहरु स्थापना गरेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरु जनताको श्रम र करबाट सञ्चालित सामुदायिक कलेज भएको बताउनुभयो ।
उहाँले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले जहिल्यै देश र समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्दै हाम्रो शिक्षा विदेशको सेवाको लागि हुनु नहुने तर्क गर्नुभयो । नयाँ पुस्तामा सरकारप्रति अविश्वासले गर्दा नेपाली विद्यार्थी विदेश पलायन हुने प्रवृत्ति विकास भइरहेको बताउँदै उहाँले विद्यार्थीहरुलाई परीक्षामा उत्तीर्ण मात्र होइन, आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्ने ढंगले उच्च शिक्षा अध्ययनमा जोड दिन मार्गनिर्देश गर्नुभयो ।
इन्जिनियरिङ विषयमा भ्रष्टाचार तथा आर्थिक अनियमितताका विषयहरु धेरै हुने गरेको हुँदा आफ्नो कार्यक्षेत्रमा सतर्कता अपनाएर काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘देशमा इन्जिनियरहरुको कमी छैन, इमानदार इन्जिनियरहरुको अभाव भएको हो ।’ त्यस्तै छात्रवृत्ति छनोट समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरुले आर्थिक कारणबाट उच्च शिक्षा अध्ययनबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले गरिब, जेहेनदार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो ।
उहाँले कलेजमा नगर बाहिरका धेरै विद्यार्थीहरु अध्ययनरत छन् भन्दै नपाले देशभरिका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरेको बताउनुभयो । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले कलेज स्थापनाको उद्देश्य प्राप्तिका लागि थप मेहेनत गर्नुपर्ने बताउँदै नपाबाट सञ्चालिक कलेजहरुलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कोसिस गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजले प्रदान गर्दै आएको छात्रवृत्तिको उद्देश्य र प्रक्रियाबारे प्रष्ट पार्दै कलेजको नतिजालाई थप सुदृढ बनाउन कलेजले जोड दिँदै आएको बताउनुभयो ।
विद्यार्थीहरुको छात्रवृत्ति सुविधा नभई अवसरको रुपमा प्रदान गरिएको बताउँदै उहाँले कलेजको आचारसंहितालाई कडाइका साथ पालना गर्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले आर्थिक वर्ष २०८१÷८२ मा कलेजमा अध्ययनरत स्नातक तहका आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेशन इन्जिनियरिङका विद्यार्थीहरुलाई रु १ करोड ६० लाख ६९ हजार ३२६ रुपिया“ वितरण गरिएको कलेजले बताएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१÷८२ मा ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरुलाई रु १ करोड १० लाख ५९ हजार ५३३ रुपिया“ वितरण गरिएको जनाएको छ । दुवै इन्जिनियरिङ कलेजको गरी जम्मा २ करोड ७१ लाख २८ हजार ८५९ रुपिया“ छात्रवृति रकम वितरण गरिएको छ ।
काभ्रेपलाञ्चोक, २२ असार । शुक्रबार रातिदेखि पूर्णरूपमा अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड आइतबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । पुण्यमाता खोलाको पुल भाँचिएपछि अवरुद्ध भएको यो सडक ह्युमपाइप जडान गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानदेखि सवारी आवागमन सुरू गरिएको काभ्रे ट्राफिक प्रहरी प्रमुख सुनील ध्वाजुले जानकारी दिए । बनेपा नगरपालिका वडा नं. १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा ४५ वर्षअघि फलामको सहारामा बनाइएको पूल शुक्रबार राति भाँचिएको थियो । त्यसपछि सडक पूर्ण रूपमा बन्द भएको थियो ।
यो सडक अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने भएकाले यात्रुहरूलाई ठूलो असुविधा भएको थियो । हाल धुलिखेल–सूर्यविनायक खण्डको निर्माण कार्य चलिरहेको हुँदा यातायात केही समयका लागि यही बाटो प्रयोग गर्ने गरिन्थ्यो ।
हाललाई ह्युमपाइपमार्फत सवारी साधन चल्ने अवस्था बनाइए पनि यो अस्थायी समाधान मात्र हो । स्थायी रुपमा नयाँ पुल निर्माणका लागि सम्बन्धित निकायहरूबाट पहल आवश्यक रहेको स्थानीय बासिन्दाहरूले माग गरेका छन् ।
भक्तपुर, ११ असार । भक्तपुर घरेलु तथा साना उद्योग संघ, सुर्यविनायक नगर समितिका संयोजक तथा ग्रीनलाइन एग्रो प्रालिका सञ्चालक दयाराम मचामसीलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ ।
उनलाई असार १० गते मंगलबारका दिन आयोजित विशेष समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री तथा राष्ट्रपतिको हातबाट यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।
देशको कृषिक्षेत्रमा उनले पुर्याएकाे योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको आयोजककाे भनाइ छ । यस गौरवपूर्ण उपलब्धिमा भक्तपुर घरेलु तथा साना उद्योग संघ, सुर्यविनायक नगर समितिकाे तर्फबाट अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बधाई ज्ञापन गर्दैर् संयोजक मचामसीको सफल कार्यकाल र आगामी दिनहरूमा अझ उन्नत सफलता र सेवाको शुभकामना व्यक्त गर्नुभएको छ।
संघ तथा समुदायको तर्फबाट यस्तो सम्मानले स्थानीय स्तरमा कृषकहरूको मनोबल बढाउने विश्वास व्यक्त गरिएको छ।