बाँके, ३१असोज । वर्षायामपछि बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी पुनः सञ्चालनमा आएसँगै निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । वन्यजन्तु अवलोकन, जंगल भ्रमण र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।
पाटेबाघ र दुर्लभ चौसिंगाका लागि परिचित बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण थारूले जानकारी दिए । उनका अनुसार प्रकृति र वन्यजन्तुमा रुचि राख्ने पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ ।
निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली पनि पर्यापर्यटनको सम्भावना बोकेको महत्वपूर्ण गन्तव्य हो । हरियाली वनजंगल, चुरे पहाडको फेदी, थारू तथा मुगाली संस्कृति र सामुदायिक होमस्टेका कारण यस क्षेत्रले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
यहाँ आउने पर्यटकले जंगल सफारीसँगै पैदल यात्रा, चराचुरुङ्गी अवलोकन, रात्रिकालीन अग्नि शिविर तथा स्थानीय संस्कृति र जीवनशैलीको अनुभव लिन सक्छन् । प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको यस क्षेत्रको पर्यटन गतिविधिले स्थानीय समुदायका लागि रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्दै आएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय पाटेबाघ अवलोकनका लागि समेत महत्वपूर्ण गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । उपलब्ध तथ्याङ्कअनुसार निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । बाघलगायत अन्य वन्यजन्तुको संरक्षण र जैविक विविधताले निकुञ्जको पर्यटकीय आकर्षण बढाउन सहयोग पुर्याएको छ ।
जंगल सफारी पुनः सञ्चालनमा आएसँगै बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्यालीमा पर्यटन प्रवर्द्धनको सम्भावना थप बढेको छ । यद्यपि, यस क्षेत्रलाई पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न व्यवस्थित सफारी सञ्चालन, पर्यटकमैत्री सेवा, प्रभावकारी प्रचारप्रसार र स्थानीय समुदायको सक्रिय सहभागितामा जोड दिनुपर्ने देखिन्छ ।
प्राकृतिक सम्पदाको संरक्षण, वन्यजन्तुको सुरक्षित अवलोकन र स्थानीय संस्कृतिको प्रवर्द्धनलाई सँगसँगै अघि बढाउन सके बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्यालीले क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ ।
