चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी तीन दिनका लागि खुल्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
नाका खुलेको अवधिमा मालवाहक गाडीलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।
यात्रुवाहक गाडी र सर्वसाधारणको आवतजावतबारे मन्त्रालयको सूचनामा उल्लेख छैन ।
नाका सञ्चालनमा आउँदा चीनसँगको व्यापार र सामान ढुवानीमा संलग्न व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौं, ३१ असोज । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी तीन दिनका लागि खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका भोलिदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
मन्त्रालयले आज जारी गरेको प्रेस नोटमा नाका सञ्चालन हुने जानकारी दिँदै उक्त अवधिमा मालवाहक गाडीलाई मात्रै आवतजावतको अनुमति दिइएको जनाएको छ । यसअनुसार व्यापारिक प्रयोजनका सामान ढुवानी गर्ने गाडीले मात्रै नाका प्रयोग गर्न पाउनेछन् ।
यात्रुवाहक गाडी तथा सर्वसाधारणको आवतजावतका विषयमा भने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित नेपाल–चीन सीमामा रहेको तातोपानी नाका दुई देशबीचको व्यापारका लागि महत्वपूर्ण मानिन्छ ।
यही नाका हुँदै चीनबाट नेपालमा औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, लत्ताकपडा, विद्युतीय उपकरण तथा विभिन्न उपभोग्य वस्तु आयात हुने गरेका छन् ।
नाका तीन दिनका लागि सञ्चालनमा आउने भएपछि सीमापार व्यापार तथा सामान ढुवानीमा संलग्न व्यवसायीलाई केही सहज हुने अपेक्षा गरिएको छ । लामो समयदेखि नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा चीनसँगको व्यापार प्रभावित हुँदै आएको छ ।
