भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

भक्तपुर, २७ चैत्र । प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरको तमारीमा शुभकामना सभा सम्पन्न भएको छ।कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा साझा जात्रा भएको उल्लेख गर्दै यो ८ रात ९ दिनसम्म चल्ने जानकारी दिनुभयो।

उहाँले भक्तपुर सम्पदाको सहर भएकाले विश्वको ध्यान आकर्षित भएको र पर्यटकहरूको उल्लेखनीय उपस्थितिले जात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै लगेको बताउनुभयो। साथै, सभ्य र भव्य रूपमा जात्रा मनाउन सबै पक्षबीच समन्वय भइरहेको र दुर्घटनाप्रति सचेत हुन आग्रह गर्नुभयो।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले बिस्का जात्रा सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै पुर्खाले सिर्जेको सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले जात्राको सांस्कृतिक महत्व उल्लेख गर्दै रथ निर्माणमा संलग्न व्यक्तिहरूको दक्षता इन्जिनियरिङ सरह रहेको धारणा व्यक्त गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बिस्का जात्रालाई हर्षोल्लासपूर्ण र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो। उहाँले गलत गतिविधि निरुत्साहित गर्नुपर्ने र युवाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। साथै, रथमा जुत्ता–चप्पल लगाएर नचढ्न र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभयो।

गुठी संस्थान कार्यालय भक्तपुरका आनन्द कर्मचार्यले जात्रालाई अझ उल्लासमय बनाउनुपर्नेमा जोड दिँदै रथ तान्ने कार्य दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै योगेन्द्रमान बिजुक्छेले बिस्का जात्रा केवल पर्व मात्र नभई सामाजिक एकता र भाइचाराको प्रतीक भएको बताउनुभयो। साथै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले पनि धारणा राख्नुभएको थियो।

मुख्य बुँदा 

पत्रकारहरूले देश र जनताको पक्षमा निर्भीक रूपमा बोल्नुपर्ने

साँचो र सत्य नलेख्दा देश र जनताको अहित हुने चेतावनी

अध्यक्ष बिजुक्छेंको आफ्नै पत्रकारिता अनुभव साझा

इमानदार पत्रकारिताले समाज सुदृढ हुने भनाइ

विभिन्न सञ्चारकर्मीलाई सम्मान

भक्तपुर, २३ माघ । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताउनुभएको छ । भक्तपुरमा शुक्रबार आयोजित रफत सञ्चार क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले देशहितमा साँचो र सत्य कुरा निर्भीक रूपमा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले पत्रकारिता क्षेत्र आफ्नो कर्तव्यबाट च्युत भए देश र जनताको अहित हुने चेतावनी दिनुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले कुनै समय आफू पनि पत्रकारितामा संलग्न रहेको स्मरण गर्दै रिपोर्टिङका क्रममा तत्कालीन समयमा प्रहरीको लाठीप्रहारसमेत सहनु परेको अनुभव सुनाउनुभयो ।

“पत्रकारहरूले साँचो कुरा बोल्न र लेख्न कहिल्यै पछि पर्न हुँदैन,” उहाँले भन्नुभयो, “यदि यो कर्तव्यप्रति च्युत भएमा देश र जनताको ठूलो अहित हुन जान्छ ।”

उहाँले पत्रकारहरूले इमानदारीपूर्वक कर्तव्य पूरा गरे समाज उत्साहित हुने र समाजलाई सुदृढ बनाउने भूमिका खेल्न सक्ने बताउनुभयो । साथै, पत्रकारहरू अध्ययनशील भएर अघि बढेमा समाजप्रतिको आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा पूरा गर्न सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले रुसी क्रान्ति तथा दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरसम्बन्धी यथार्थ अवस्था विश्वसमक्ष उजागर गरेर इतिहासमा महत्वपूर्ण भूमिका खेलेको उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा कैलाश खबर डटकमका पत्रकार विनोद विश्वकर्मा, राससकर्मी रत्न प्रजापतिलगायत विभिन्न सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा व्यवसायीहरूलाइ पनि सम्मान गरिएकाे थियाे ।

मुख्य बुँदा 

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि सेवाग्राहीको चाप तीव्र रूपमा वृद्धि
पाँच महिनामा १ हजार ७० जना बिरामीले सिटी स्क्यान सेवा लिए
निजी अस्पतालको महँगो शुल्क र काठमाडौंका सरकारी अस्पतालको लामो पालोको विकल्प बनेको भक्तपुर अस्पताल
सिटी स्क्यान सेवा तीन हजार रुपैयाँमै उपलब्ध
वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरद्वारा जेठ ४ गते सिटी स्क्यान मेसिन उद्घाटन
तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको पहलमा १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान
आठ करोड लागतमा खरिद गरिएको मेसिन १० वर्षसम्म ग्यारेन्टीसहित सञ्चालन
कोरोना महामारीपछि अस्पतालमा आईसीयू, एनआईसीयू तथा सेवा विस्तार
भक्तपुर अस्पताल हाल दैनिक ९ सयदेखि ११ सय बिरामीको उपचार केन्द्र
खरिद प्रक्रियामा ई–बिडिङ प्रणाली लागू गरी पारदर्शिता कायम

भक्तपुर, कात्तिक २३ । सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूलाई महँगो शुल्क तिरेर काठमाडौंसम्म जानुपर्ने बाध्यता भक्तपुर अस्पतालले अन्त्य गरेसँगै सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। अस्पतालमै सर्वसुलभ, छिटो र गुणस्तरीय सिटी स्क्यान सेवा उपलब्ध भएपछि भक्तपुर मात्र नभई आसपासका जिल्लाबाट समेत बिरामीहरू सेवा लिन आउन थालेका छन्।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गत जेठ ४ गते भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो। उद्घाटनपछि पाँच महिनाको अवधिमा एक हजार ७० जना बिरामीले सिटी स्क्यान सेवा लिइसकेको अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालमा टाउकोको सिटी स्क्यान गराउन आउनुभएका सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी अमृत केसीले निजी अस्पतालमा महँगो शुल्क र काठमाडौंका सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने बाध्यताबाट मुक्त भएर भक्तपुर अस्पतालबाट सहज रूपमा सेवा पाएको बताउनुभयो।

उहाँले निजी अस्पताल र काठमाडौंका सरकारी अस्पतालमा धाउँदा खर्चिलो र झन्झटिलो हुने गरेको उल्लेख गर्दै भक्तपुर अस्पतालमा भने अन्य सरकारी अस्पतालभन्दा सस्तो दरमा मात्र तीन हजार रुपैयाँमै सिटी स्क्यान सेवा पाएको भन्दै सन्तुष्टि व्यक्त गर्नुभयो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सिटी स्क्यान मेसिन जडान भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको विशेष पहल र मागअनुसार वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता गरी गत बैशाखमा मेसिन अस्पतालमा ल्याइएको थियो। सो मेसिन जेठ ४ गतेदेखि नियमित रूपमा सञ्चालनमा आएको हो।

डा. भट्टका अनुसार रिफरल सेन्टरको रूपमा परिचित भइसकेको भक्तपुर अस्पतालमा डा. सुमित्रा गौतम मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि कोरोना महामारीको जटिल समयमा आईसीयू, एनआईसीयू सञ्चालन तथा विभिन्न स्वास्थ्य सेवाको विस्तार गरिएको थियो।

ती सुधारात्मक कार्यका कारण अस्पताल तीन पटकसम्म देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भएको उहाँले बताउनुभयो। हाल भक्तपुर अस्पतालमा दैनिक ९ सयदेखि ११ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

डा. भट्टले तत्कालीन वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलको नेतृत्वमा राजनीतिक सल्लाहकार डिपी ढकालको सिफारिसमा बजेट विनियोजन भई स्वास्थ्य मन्त्रालयले आठ करोड रुपैयाँ लागतमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको स्मरण गर्नुभयो। त्यसपछि डा. गौतमको पहलमा मन्त्रालयले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरी भक्तपुर अस्पतालमा जडान गरेको उहाँले बताउनुभयो।

भक्तपुर अस्पतालमा पहिलो पटक मेसिन, औषधि तथा उपकरण खरिदमा हुँदै आएको मनोमानी अन्त्य गर्दै डा. सुमित्रा गौतमले ई–बिडिङ अर्थात् अनलाइन बोलपत्र प्रणाली लागू गरेपछि खरिद प्रक्रिया पारदर्शी बन्दै आएको अस्पताल प्रशासनको भनाइ छ।

सिटी स्क्यान मेसिन आपूर्ति गर्ने कम्पनीले आगामी १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने ग्यारेन्टीसहित सम्झौता गरेको जानकारी दिँदै डा. भट्टले आवश्यक पेपर तथा सामग्रीसमेत १० वर्षका लागि पर्याप्त व्यवस्था गरिएको बताउनुभयो।

उहाँका अनुसार डा. गौतमको पहल र नेतृत्वकै कारण भक्तपुर अस्पतालमा अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा आएको हो, जसले बिरामीहरूलाई ठूलो राहत मिलेको छ।

काठमाडौं, ५कार्तिक । नेपाल संवत् ११४६ को अवसरमा चाँगुनारायण नगरपालिका – ९, ताथलीमा मंगलबार भिंतुना र्याली भव्य रूपमा सम्पन्न भएको छ । र्यालीको आयोजना प्रगति युवा समाज, ताथलीले गरेको हो, जसमा विभिन्न संघ–संस्थाको सहभागिता रहेको थियो ।

र्यालीको उद्घाटन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का केन्द्रीय सदस्य उकेश कवां, चाँगुनारायण नगरपालिका वडा नं. ९ का अध्यक्ष गणेश त्यात र स्थानीय ज्येष्ठ नागरिक कृष्णबहादुर थुयाजुले संयुक्त रूपमा गरेका थिए । उद्घाटनकाे अवसरमा बोल्दै कवांले समाजवादी व्यवस्था मात्रै सबैको हितमा रहेको बताए । समाजवादी व्यवस्था स्थापनाका लागि जनताकाे निरन्तर संघर्ष आवश्यक रहेको बताए । उनले देशमा अझै पनि वास्तविक परिवर्तन र क्रान्ति नभएको भन्दै युवाहरू, महिलाहरू, विद्यार्थी र संस्कृतिकर्मी सबैलाई समाजवादी क्रान्तिका लागि एक हुन आह्वान गरे ।

उनले नेमकिपा निष्पक्ष निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै, “सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनु पर्छ ।” भनेका थिए । साथै, नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेपले अस्थिरता बढाएको आरोप पनि उनले लगाए । कार्यक्रममा कवांले ज्येष्ठ नागरिक थुयाजुलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।

कार्यक्रमकै क्रममा ‘भिंतुना गीत’ सार्वजनिक गरिएको थियो । सञ्चारकर्मी हरिसुन्दर छुकांको शब्दमा रचित गीतमा जनताका गायक विनोद विश्वकर्माको स्वर, प्रभाष दैलेखीको संगीत संयोजन र ताथली धिमे खलःको धिमे संगीत रहेको छ ।त्यसैगरी वडा अध्यक्ष गणेश त्यातले पनि कार्यक्रममा बोल्दै समाजवादी व्यवस्थाले मात्र जनतालाई समृद्धि दिलाउन सक्ने धारणा राखे । उनले दलहरूको स्वार्थले भ्रष्टाचार मौलाइरहेको भन्दै जनतामुखी नीति आवश्यक रहेको बताए ।

प्रगति युवा समाजका अध्यक्ष हरिसुन्दर छुकांले नेपाल संवत् ११३८ देखि निरन्तर भिंतुना र्याली आयोजना गर्दै आएको जानकारी दिँदै यसपटकको र्याली अझ समावेशी र सशक्त बनाउन विभिन्न स्थानीय संस्थाको सहकार्य रहेको बताए । र्याली संयोजक अनिल थुयाजुका अनुसार, यस वर्षको र्यालीमा चाँगुनारायण नगरपालिका वडा नं. ९, विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरू, विद्यालयहरू, सांस्कृतिक बाजा समूहहरू, टोल विकास संस्थाहरू, रेष्टुरेन्ट तथा व्यवसाय समूहको सक्रिय सहभागिता रहेको थियो ।

र्याली सौडोल चोकबाट सुरु भई फैढोका टोलमा समापन गरिएको थियो । यसले ताथली क्षेत्रका सौडोल, खड्का टोल, देवीटार, वनमाला, राउत टोल, बाला टोल, तल्लो राउत, तैकाबु टोललगायतका बस्तीहरू परिक्रमा गरेको थियो । कार्यक्रमको सञ्चालन हरिसुन्दर गोसाईंले गरेका थिए । उनले भिंतुना र्यालीलाई संस्कृति र पहिचानको प्रतीकको रूपमा अगाडि बढाउन नेपाल संवत् प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहेको बताए ।

भक्तपुर, १७ असाेज । बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ ।

एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहि(याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिए ।

बडादसैँको मध्यराति तलेजु आगम घर मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको तलेजुका मूल नाइके जोशीले जानकारी दिए ।

उनका अनुसार तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार ९गोल्डेन गेट० ल्याएपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ ।

चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने परम्परा रहेअनुसार यसवर्ष माथिल्लो क्षेत्र दरबार स्क्वायरस्थित गोल्डेन गेटबाट बालाखु गणेश, भोलाछेँ, दत्तात्रय, सुकुलढोका, क्वाछें, तौमढी हुँदै दरबारस्क्वायरस्थित जगन्नाथ ९पशुपति० मन्दिरको परिक्रमा र ढोग गरी दरबारस्क्वायर लगेर तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको जोशीले जानकारी दिए ।

बडादसैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको उनले जानकारी दिए । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा हुने सुरु हुने परम्परा छ ।

जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाए पछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याई भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ । जात्राको क्रममा ब्रह्मायणी र तलेजुलाई नगरको विभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि परिक्रमा गराएर जात्रा मनाएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ । रासस

भक्तपुर, २४ भाद्र । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । साउन २४ गते बिहान ५:३० बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशअनुसार उक्त क्षेत्रहरूमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नमराज धिमिरेद्वारा जारी गरिएको आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षाको दृष्टिले चाँगुनारायण नगरपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न स्थानहरूमा निषेधाज्ञा लागू गरिएको हो ।”

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू यस्ता छन्:

प्रशासनले उल्लेखित क्षेत्रमा कुनै पनि समूह वा व्यक्तिले जुलुस, सभा वा अन्य सार्वजनिक कार्यक्रम गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ । स्थानीय सुरक्षा अवस्था र संभावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा कहिलेसम्म लागू हुने भन्ने विषयमा स्पष्ट जानकारी नदिइएको भए पनि  ‘अर्को आदेश नआएसम्म’ लागू हुने भनिएको छ ।

भक्तपुर, १८ भदौ । निजामती सेवा दिवस २०८२ को अवसरमा भक्तपुर अस्पतालले विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको सहकार्यमा (बुधबार) बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सम्पन्न उक्त कार्यक्रममा ५० भन्दा बढी भक्तपुर अस्पतालका कर्मचारीहरूले स्वेच्छिक रक्तदान गरेका हुन्।

निजामती सेवा दिवसको अवसरमा भक्तपुर अस्पतालद्वारा रक्तदान कार्यक्रम, ५० भन्दा बढी कर्मचारीको सहभागिता

“रक्तदान जीवन दान” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहयाेकाे थियाे ।

कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा रक्त आपूर्तिमा सहजता ल्याउनुका साथै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको आयोजक भक्तपुर अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालका कर्मचारीले भने, “यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्व पुरा गर्न सहयोग पुर्‍याउँछ। हामी नियमित रूपमा रक्तदान गर्न चाहन्छौँ।”

निजामती सेवा दिवसको अवसरमा भक्तपुर अस्पतालद्वारा रक्तदान कार्यक्रम, ५० भन्दा बढी कर्मचारीको सहभागिता

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्रविधिक सहयोग प्रदान गरेको कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। यस्ता कार्यक्रमलाई आगामी दिनमा थप व्यापक बनाएर सञ्चालन गरिने भक्तपुर अस्पताल प्रशासनले जनाएकाे छ ।

भक्तपुर, भदौ १३ । भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका–८, सुडाल क्षेत्रबाट ४६ बोरा रासायनिक मल बरामद गरेको छ । बरामद मलसँग सम्बन्धित एक सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार, सुडालस्थित एक निजी घरमा लुकाइराखिएको अवस्थामा मल फेला परेको हो । उनले भने, “ भाद्र १२ गते सुडालको एक घरमा लुकाएर राखिएको ४६ बोरा मल बरामद गरिएको छ । बरामद मल नगरपालिकालाई जिम्मा दिइएको छ ।”

पक्राउ परेका व्यक्तिहरूमा, मल घरमा लुकाएर राख्ने, पुर्‍याउन सहयोग गर्ने र सहकारीका अध्यक्ष रहेको प्रारम्भिक जानकारी आएको छ । तर अनुसन्धान जारी रहेकाले नाम सार्वजनिक गरिएको छैन । प्रहरीले आशंका गरेको छ कि उक्त मल अवैध बिक्रीको लागि भण्डारण गरिएको हुनसक्छ । घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानले मलको स्रोत, आपूर्ति शृङ्खला र संलग्न व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रहरीका अनुसार, बरामद मल कृषि सहुलियतको नाममा प्राप्त भए पनि आपूर्तिको नियमनबिना लुकाएर राखिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले हालसम्म मलको आपूर्ति र वितरण प्रक्रियाको विवरण संकलन गरिरहेको छ । घटनाबारे थप विवरणहरू अनुसन्धानपछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।