भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मुख्य बुँदा

भक्तपुर–२ खौमास्थित इन्द्रायणी द्योछेँ पुनर्निर्माण सम्पन्न।

अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा उद्घाटन।

भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण।

पुनर्निर्माणमा हालसम्म ३ करोड २१ लाख ९७ हजार ५३९ रुपैयाँ खर्च।

विभिन्न व्यक्ति तथा संस्थाबाट ४५ लाख ९४ हजार १३३ रुपैयाँ चन्दा प्राप्त।

भक्तपुर नगरपालिकाले हालसम्म करिब १८५ सम्पदा पुनर्निर्माण तथा संरक्षण गरिसकेको जनाएको छ।

भविष्यमा संरक्षणका लागि सञ्चय कोष स्थापना गर्ने तयारी।

भक्तपुर, ४ भदौ । भक्तपुर नगरपालिका–२ खौमास्थित इन्द्रायणी द्योछेँ (इल्मा अजिमा) को पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको द्योछेँको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभयो।

उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको व्यापक सहभागिता र सहयोगमा सम्पदा पुनर्निर्माण सम्पन्न हुनु उत्साहजनक भएको बताउनुभयो। उहाँले सम्पदा संरक्षणमा योगदान पुर्‍याउने स्थानीय जनता धन्यवादका पात्र भएको उल्लेख गर्नुभयो।

पुरानो सम्पदा स्थानीय जनता आफैँले संरक्षण र पुनर्निर्माण गर्न सक्छन् भन्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको उहाँको भनाइ थियो। विदेशी सहयोगबिना पनि जनताको सहभागितामा सम्पदा संरक्षण गर्न सकिन्छ भन्ने सन्देश भक्तपुरबाट गएको उहाँले बताउनुभयो। बिजुक्छेँले सम्पदा संरक्षणका यस्ता कामको प्रचारप्रसारसँगै व्यवस्थित दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। जनप्रतिनिधि र जनता दुवै सम्पदा संरक्षणमा सचेत हुनुपर्ने तथा पुनर्निर्माणमा हेलचेक्र्याइँ गर्न नहुने उहाँले बताउनुभयो।

उहाँले युनेस्कोका नियमसमेत विभिन्न देशका अनुभव र जानकारीका आधारमा निर्माण हुने उल्लेख गर्दै सम्पदा पुनर्निर्माण गर्दा स्थानीय मौलिकता र प्राचीन प्रविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इन्द्रायणी द्योछेँ पुनर्निर्माणमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग रहेको बताउनुभयो। उहाँले उपभोक्ता समिति, अनुगमन समिति, आर्थिक तथा स्वर्णलगायत सामग्री सहयोग गर्ने र श्रमदानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

भक्तपुर नगरपालिकाले हालसम्म करिब १८५ वटा सम्पदा पुनर्निर्माण तथा संरक्षणका काम सम्पन्न गरेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो। मूर्त तथा अमूर्त दुवै सम्पदालाई प्राथमिकताका साथ संरक्षण गर्दै आएको उहाँले बताउनुभयो। भक्तपुर जीवित सांस्कृतिक संग्रहालय तथा नाचगानको राजधानीका रूपमा चिनिँदै आएको उल्लेख गर्दै उहाँले संस्कृति र सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सम्पदा पुनर्निर्माण सम्पन्न भएपछि त्यसको समीक्षा र सिंहावलोकन पनि आवश्यक रहेको बताउनुभयो। उहाँले भक्तपुर नगरपालिकाले विश्वले हेर्नलायक काम गरिरहेको दाबी गर्नुभयो।

विदेशी सहयोगबिना पनि सम्पदा पुनर्निर्माण गर्न सकिन्छ भन्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको उल्लेख गर्दै गोसाईले आफ्नै खुट्टामा उभिएर गरिएको विकास दिगो र स्वाभिमानी हुने बताउनुभयो। भक्तपुरको विकास मोडलबारे भविष्यमा इतिहास लेखिने र यसले नेपाली सभ्यता तथा पहिचानलाई उँचो बनाउने उहाँको भनाइ थियो।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा संस्कृति र संस्कार जीवित रहेको बताउनुभयो। उहाँले भक्तपुरका चाडपर्व कृषि प्रणालीसँग समेत जोडिएको उल्लेख गर्दै नगरको मौलिक स्वरूप नै यसको पहिचान र विशेषता भएको बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुख सौभाग्य प्रधानांगले इन्द्रायणी द्योछेँको पुनर्निर्माण सम्पन्न हुनु सुखद् भएको बताउनुभयो। पुनर्निर्माणले भौतिक सम्पदा पुनर्जीवित गर्नुका साथै मौलिकता, प्रामाणिकता र शिल्पकलाको संरक्षणमा योगदान पुर्‍याएको उहाँले बताउनुभयो।उहाँले भक्तपुरमा उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण गर्ने अभ्यास प्रभावकारी रहेको उल्लेख गर्दै पुरानो तथा परम्परागत प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उपभोक्ता समितिमार्फत गरिएका काम उदाहरणीय रहेको बताउनुभयो। स्थानीय सरकारसँग सहकार्य गर्दै नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न प्रशासन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। इन्द्रायणी द्योछेँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले पुनर्निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक सहयोग तथा विभिन्न व्यक्तिबाट प्राप्त स्वर्णलगायत सहयोगबारे जानकारी गराउनुभयो।

भक्तपुर नगरपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बसुकलाले स्थानीय जनताको सक्रिय सहभागितामा गुणस्तरीय सामग्री प्रयोग गरी द्योछेँ पुनर्निर्माण सम्पन्न गरिएको बताउनुभयो। स्थानीयवासीले निःस्वार्थ रूपमा मन्दिर तथा सम्पदा संरक्षणमा सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि मन्तव्य राख्नुभएको थियो। बालविकास इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए। उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिका–१ स्थित सिद्धपोखरीबाट नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा परम्परागत बाजागाजासहित र्‍याली निकालिएको थियो। र्‍यालीमा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न सांस्कृतिक समूहको सहभागिता थियो।

इन्द्रायणी द्योछेँ पुनर्निर्माणका लागि तीन करोड ७२ लाख २५ हजार ५८२ रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म तीन करोड २१ लाख ९७ हजार ५३९ रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ। पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट ४५ लाख ९४ हजार १३३ रुपैयाँ चन्दा प्राप्त भएको छ।

विभिन्न व्यक्ति तथा सहयोगदाताबाट सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको समितिले जनाएको छ। द्योछेँको आगामी मर्मत–सम्भार तथा संरक्षणका लागि आवश्यक खर्च व्यवस्थापन गर्न सञ्चय कोष स्थापना गर्ने तयारीसमेत भइरहेको समितिका पदाधिकारीले बताएका छन्।

भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण गर्नुभयो।

निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले व्यक्तित्व, समाज र राष्ट्रको पहिचान त्यस मुलुकको कला, संस्कृति र सम्पदा बाट हुने उल्लेख गर्दै स्थानीय तहहरूले सम्पदा संरक्षणमा अग्रसर हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “स्थानीय तहबाटै संस्कृति र सम्पदाको संरक्षण हुनुपर्छ। सम्पदाको जगेर्ना भनेको देशको अस्तित्वको रक्षा गर्नु हो।” अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले अन्य स्थानीय तहका लागि अनुकरणीय कामहरू गर्दै आएको उल्लेख गर्नुभयो।

अरनिको सभाभवन र थन्थु दरबारजस्ता योजनालाई भक्तपुरको गौरवका योजना भन्दै उहाँले यस्ता संरचनाले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने बताउनुभयाे । 

निरीक्षण कार्यक्रममा बागमती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाइँ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, प्राविधिक टोली, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।