भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व |

काठमाडौं, ३१ साउन । आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा – आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानिने भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस विशेष पर्वमा कृष्ण मन्दिरहरूमा पूजा, भजन–कीर्तन, प्रवचन, व्रत बस्ने तथा रातभर जाग्राम बस्ने परम्परा विशेष रुपमा मनाइन्छ । महिलादेखि पुरुषसम्म श्रद्धालुहरू उपवास राखेर भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गर्दछन् ।

भगवान् श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा लिइन्छ जसले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिको अन्त्य गरी मानव जातिलाई धर्म र सत्कर्मतर्फ उन्मुख गराएका थिए । पवित्र ग्रन्थ ‘श्रीमद्भगवद्गीता’ श्रीकृष्णका अमूल्य शिक्षाहरूको सङ्ग्रह हो, जुन उनले महाभारतको युद्धका क्रममा अर्जुनलाई दिएका थिए । यो ग्रन्थ विश्वभर सर्वाधिक भाषामा अनुवाद भएको धार्मिक ग्रन्थमध्ये एक हो ।

श्रीकृष्णले बाल्यकालमै कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेका थिए भन्ने धार्मिक विश्वास पाइन्छ । यसै अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने परम्परा रहेको छ । साथै, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

त्यस्तै, बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कृष्ण मन्दिरमा समेत भक्तजनको भीड देखिएको छ । राजधानीका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरहरूमा पनि आज विशेष पूजा – आराधना भइरहेको छ ।

यस पावन दिनको अवसरमा काठमाडौँका विभिन्न धार्मिक संस्थाहरूले श्रीकृष्णको झाँकी सहित शोभायात्रा तथा रथयात्रा समेत आयोजना गर्दै आएका छन् ।