भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा

कर्णाली प्रशिक्षण प्रतिष्ठानको भवन १० महिना अगावै सम्पन्न

१६ करोड ५ लाख लागतमा अत्याधुनिक चारतले भवन

लिफ्ट, अपाङ्गमैत्री र अग्नि नियन्त्रण प्रणाली जडान

मुख्यमन्त्री यामलाल कँडेलद्वारा उद्घाटन

प्रदेश कर्मचारीको तालिम यही भवनबाट सञ्चालन

सुर्खेत, १७ पुष । धेरैजसो पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने र अलपत्र पर्ने गरेको आलोचना भइरहेका बेला कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन भने तोकिएको समयभन्दा १० महिना अगावै सम्पन्न भएर उदाहरणीय बनेको छ।

वीरेन्द्रनगर नगरपालिकाको साबिक महिला प्रशिक्षण केन्द्रभित्र रहेको जग्गामा निर्माण गरिएको उक्त भवन जीपी बिल्डर्स, काठमाडौंले निर्माण गरेको हो।

कम्पनीले ०८३ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि ०८० असारमा जिम्मा लिएर १० महिना अगावै अर्थात् ०८२ भदौमै निर्माण सम्पन्न गरेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो।

१६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो भवन अत्याधुनिक प्रविधि र संरचनासहित बनाइएको छ। पूर्वाधार विकास निर्देशनालय, सुर्खेतद्वारा कार्यान्वयन गरिएको चारतले भवन ९४७ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ भने कुल निर्मित क्षेत्रफल ३ हजार ७९० वर्ग मिटर रहेको छ।

स्वीकृत गुरुयोजनाअनुसार भवन संहिता र प्रचलित प्राविधिक मापदण्ड पालना गर्दै निर्माण गरिएको यस भवनमा लिफ्ट सुविधा, अपाङ्गमैत्री संरचना, अग्नि नियन्त्रण प्रणालीलगायत आधुनिक सुविधा जडान गरिएको छ।

भवनमा दुईवटा ठूला सभा कक्षसहित प्रशस्त कार्यकक्ष र बैठक कक्षहरूको व्यवस्था गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवनको उद्घाटन गर्नुभयो। सो अवसरमा मुख्यमन्त्री कँडेलले समयमै र गुणस्तरीय रूपमा भवन निर्माण गरेर निर्माण कम्पनीले उदाहरणीय कार्य गरेको बताउनुभयो।

प्रदेश प्रशिक्षण प्रतिष्ठानमार्फत कर्णाली प्रदेश सरकार मातहतका सबै कर्मचारीहरूको तालिम अब यही भवनबाट सञ्चालन हुने जनाइएको छ।