जनकपुरधाम, १ असोज । धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारततर्फबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा बयाग्रेको साथबाट स्रोत नखुलेको नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद रकम कपडाको पेटीभित्र लुकाई कम्मरमा बाँधेर राखिएको अवस्थामा फेला परेको थियो । सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नगद बोकेर आवतजावत गरिरहेको र गतिविधि शंकास्पद देखिएपछि प्रहरीले मोटरसाइकल रोकेर खानतलासी गरेको जनाएको छ ।
बरामद रकमको स्रोत, रकम कहाँबाट प्राप्त भएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । साथै रकमसँग अन्य व्यक्ति वा कुनै कारोबारको सम्बन्ध भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका बयाग्रेमाथि वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ ।
वीरगन्जको रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारका ५५ वर्षीय अशोक कुमार रहेका छन् ।
भारतबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा रकम फेला परेको हो ।
मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारतीय नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
५०० दरका ८९१ थान, २०० दरका १ थान र १०० दरका ४ थान नोट बरामद भएका छन् ।
पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलसहित हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
वीरगन्ज, २७ भदौ । स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकलबाट स्रोत नखुलेको भारतीय रुपैयाँ बरामद भएको हो ।
इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट आउँदै गरेको बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा रकम फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी, पलनवा थाना–१० का ५५ वर्षीय अशोक कुमार रहेका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा ५०० दरका ८९१ थान, २०० दरका १ थान र १०० दरका ४ थान गरी जम्मा ४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको हो ।
पक्राउ परेका अशोक कुमारलाई मोटरसाइकलसहित हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्लाको उजहरुपरजिलवा भागा श्रीनगर–३ ठेगाना भएका करिब ५० वर्षीय सउरु चौधरी रहेका छन् ।
प्रहरी टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरेको जनाएको छ ।