भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मुख्य बुँदा 

नेपाल भारत सीमा क्षेत्रमा ठूलो परिमाणको ओनेरेक्स कफ सिरप बरामद

१०० एमएलका ८४० फाइल बरामद

भारतीय र नेपाली नागरिक गरी दुई जना पक्राउ

बरामदगी सीमा स्तम्भ बीपी ३७६ नजिक, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि छौदादानो थानामा बुझाइएको

रौतहट, १५ चैत्र । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपाल सशस्त्र प्रहरीले संयुक्त अपरेसनमा ठुलो परिमाणको लागूऔषध बरामद गरेका छन्।

शनिवार साँझ करिब ७:४५ बजे प्राप्त सूचनाका आधारमा सशस्त्र सीमा बल ७१ बटालियन मोतिहारीको ‘बी’ कम्पनी महुआवाले छौदादानो थानासँग संयुक्त अपरेसन सञ्चालन गरेको थियो। अपरेसनको क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट १०० एमएलका ८४० फाइल ओनेरेक्स कफ सिरप बरामद भएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिए।

बरामद सामग्री भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरिएको अवस्थामा फेला परेको छ। बरामदगी स्थल सीमा स्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिक, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा पर्दछ।

घटनामा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ–३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेका छन्। बरामद गरिएको लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि छौदादानो थानामा बुझाइएको छ।

कञ्चनपुर, १३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने छन् ।

त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन तथा अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइने जनाइएको छ ।

मतदान कार्य सम्पन्न नभएसम्म अन्य सबै सवारीसाधन सञ्चालनमा प्रतिबन्ध रहने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।

बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया स्थित टागा स्टेशनबाट तीन बालिकालाई भारत लैजान लागिएको अवस्थामा ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले शंकास्पद गतिविधि देखेपछि उक्त समूहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाहरूलाई भारत लैजान खोजिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मानवतस्करीको आशंकामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । उद्धार गरिएका तीनै बालिकालाई सुरक्षित स्थानमा राखिएको छ भने आवश्यक परामर्श तथा संरक्षणको व्यवस्था गरिएको प्रहरीले जानकारी दिएको छ ।

सीमा क्षेत्रमा भारतबाट सक्रिय मानव तस्कर समूहको संलग्नता हुन सक्ने संकेत देखिएकाले प्रहरीले उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । खुला सीमा नाकाको दुरुपयोग गरी बालबालिका तथा महिलालाई प्रलोभनमा पारेर भारत लैजाने जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासन , प्रहरी र सीमा सुरक्षाकर्मीलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रहरीले मानव तस्करीविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गर्न समेत आह्वान गरेको छ ।

मुख्य बुँदा

कञ्चनपुर क्षेत्र मानव बेचबिखन उच्च जोखिमयुक्त क्षेत्र

वैदेशिक रोजगारी, नक्कली विवाह, साइबर ट्राफिकिङ बढ्दै

खुला सीमा, प्रविधि दुरुपयोग, प्रमाण सङ्कलनमा कठिनाइ प्रमुख चुनौती

पछिल्लो एक वर्षमा २०९ महिला–बालबालिका उद्धार

उद्धार गरिएकामध्ये ९० बालबालिका, ११९ महिला

उद्धार स्थान: गड्डाचौकी, महेन्द्रनगर, महाकाली चारलेन पुल, झोलुङ्गे पुल

भारतका विभिन्न सहरबाट ४९ महिला–बालबालिका उद्धार

सीमाक्षेत्रमा १२,८५८ सवारीसाधन जाँच, ४४,५८१ जनालाई परामर्श

२२७ जनालाई मनोसामाजिक परामर्श, २१७ जनाको पारिवारिक पुनर्मिलन

कञ्चनपुर, १३ पुष । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ ।

मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताइन् । गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ ।

संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

“पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढेको छ”, उनले भने, “पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन् ।”

उनका अनुसार बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको छ । पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार ९रोकथाम० गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला छन् । उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन् ।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुरका एक सय, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना छन् । पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ । सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावादलगायत सहरबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको हो । यसै अवधिमा माइती नेपालमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन् । तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ । खोजतलासका लागि निवेदन परेकामध्ये सुदूरपश्चिम प्रदेशकै नागरिकको सङ्ख्या १६३ रहेको छ ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरेको छ । यस क्रममा ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ । साथै २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छभने २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको माइती नेपालका संयोजक भट्टले बताउनुभयो । प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चारवटा र मानव बेचबिखनसम्बन्धी एकवटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन् ।

खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको संयोजक भट्टको भनाइ छ । रासस