भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सिरहा, १५ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित भालटार डाँडा पछिल्लो समय आन्तरिक पर्यटनको नयाँ आकर्षणको रूपमा तीव्र रूपमा विकसित भइरहेको छ । पूर्व–पश्चिम राजमार्गको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा पर्ने भालटार डाँडा प्राकृतिक सुन्दरता , हरियाली , शान्त वातावरण र मनमोहक फोटो स्पटका कारण दैनिक पर्यटकले भरिन थालेको छ ।

करिब छ महिनाअघि सडक पिच भएपछि यहाँको पहुँच सहज बनेको र त्यसयता पर्यटक आगमन ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । सडक विस्तारले न केवल पर्यटन बढाएको छ , यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म पुर्‍याउन पनि महत्वपूर्ण योगदान गरेको छ ।

भालटारडाँडामा पुग्ने जो–कसैलाई चुरे क्षेत्रको मनमोहक पहाडी दृश्य , चिसो हावा र शान्त वातावरणले आकर्षित गर्छ । पिकनिक , हाइकिङ , परिवारसँग समय बिताउन र फ्रेश हुन यहाँ आउने संख्या दिनानुदिन बढिरहेको छ । पर्यटक बढेसँगै भालटारमा होटल र रेस्टुराँको संख्या पनि तीव्र रूपमा बढ्दै गएको छ ।

भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राईका अनुसार , “पहिला मान्छे कम आउने गर्थे तर सडक राम्रो भएपछि आगमन दोब्बर भएको छ । भारतबाट समेत पर्यटक आउने गरेका छन् ।” धेरै पर्यटक लोकल कुखुराको स्वादका लागि पनि भालटार आउने गरेको राई बताउँछन् ।

धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने अभियान सक्रिय रूपमा अघि बढाएका छन् । वडाध्यक्ष सूर्यमान तामाङका अनुसार भ्यू–प्वाइन्ट पहिचान , प्रचारप्रसार , सफाइ र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

स्थानीय युवाहरूका अनुसार भालटारडाँडामा सुन्दर भू–आकृति , बढ्दो पर्यटन , होटल व्यवसाय र सहज यातायातका कारण ‘मिनी हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल छ । मधेसमै रहेका थोरै रमणीय पहाडी दृश्य मध्ये एक भएकाले यस क्षेत्रलाई योग्य रूपमा प्रवर्द्धन गर्न सके रोजगारी र आयस्रोत बढ्ने विश्वास छ ।