वासिङ्टन डिसी, ८ असार । इरानका आणविक स्थलहरूमा अमेरिकी हवाई आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्।
ट्रम्पले सम्बोधनमा भने, “धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी छन्। अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठूला र सजिला हुनेछन्।”
उनले इरानका आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमा गरिएको आक्रमणलाई पूर्ण रूपमा सफल रहेको बताए र सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “सबै विमानहरू सुरक्षित रूपमा इरानी हवाई क्षेत्रबाट बाहिरिएका छन् र अमेरिका फर्किरहेका छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा अरू कुनै सेना यस्तो काम गर्न सक्दैनथ्यो।”
इरानमाथि आक्रमणपछि नेतान्याहूले पनि ट्रम्पको समर्थन गर्दै भने, “शक्ति मार्फत शान्ति आउँछ। पहिले शक्ति हुन्छ र त्यसपछि शान्ति।” ट्रम्पले चेतावनी दिएका छन् कि इरानले यदि शान्ति रोजेन भने, विगत आठ दिनमा देखेकोभन्दा धेरै ठूलो त्रासदी सामना गर्नेछ। उनले अब शान्तिको समय आएको भन्दै विश्वलाई शान्तिका लागि आह्वान गरेका छन्।
यता इरानी अधिकारीहरूले अमेरिकी वायुसेनाले इस्फहान, नटान्ज र फोर्डोमा रहेका तीन प्रमुख आणविक केन्द्रमाथि आक्रमण गरेको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि यी केन्द्रहरूमा सफल आक्रमण गरेको बताएका थिए।
इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्जका आणविक स्थल नजिकै आक्रमण भएको बताएका छन् भने, इरानको सरकारी मिडियाका उपराजनीतिक निर्देशक हसन अबेदिनीले टेलिभिजन प्रत्यक्ष प्रसारणमा यी स्थलहरू केही समयअघि खाली गरिएको जानकारी दिएका छन्।
अबेदिनीले भने, “ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु भनेको छैन, किनभने त्यहाँका संवेदनशील सामग्री पहिल्यै निकालिएको थियो।”
यसैगरी, कुम क्षेत्रको संकट व्यवस्थापन केन्द्रका प्रवक्ताले फोर्डो आणविक स्थलको एक हिस्सामाथि केही घण्टाअघि हवाई रक्षा प्रणाली सक्रिय भएपछि आक्रमण भएको जानकारी दिएका छन्।
यस घटनापछि इरान र अमेरिका बीचको तनाव अझ बढ्ने अनुमान गरिएको छ।