भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

किमाथाङ्का, ०२ असार । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या भएको घटनामा ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत सङ्खुवासभाले कारागारभित्र भएको सामूहिक कुटपिटका कारण दुई कैदीको मृत्यु भएको ठहर गर्दै दोषी ठहरिएका प्रहरी र कैदीबन्दीलाई जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिम अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको छ ।

घटना २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा भएको थियो । मादी नगरपालिका–५ सङ्खुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको र त्यसपछि सुरक्षाकर्मी तथा केही कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेको खुलेको थियो । कुटपिटकै कारण दुवै जनाको मृत्यु भएको निष्कर्ष अनुसन्धानले निकालेको थियो ।

अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम दोषी ठहर भएका प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतक विनोद तोलाङ्गी र आकाश बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

अदालतको फैसलाअनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान पवनकुमार महतो तथा सुरक्षा गार्ड नुसन राईसहित सात जना सुरक्षाकर्मीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीबन्दी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैदको फैसला गरिएको छ ।

घटनापछि हत्या अभियोगमा कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अनुसन्धानका क्रममा पक्राउ परेका सात प्रहरीलाई धनकुटा कारागार र आठ कैदीबन्दीलाई तेह्रथुम कारागार पठाउन आदेश दिएको थियो ।

लामो न्यायिक प्रक्रियापछि अदालतले घटनामा संलग्न ठहरिएका १५ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

काठमाडौँ, १० फागुन । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे हालसम्म यकिन विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीयवासीले सामान्य धक्का महसुस गरेका छन् ।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले समय–समयमा साना तथा मध्यम प्रकृतिका भूकम्प जाने गरेका छन् ।

काठमाडौँ, ३ माघ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उपयुक्त गन्तव्य बनेको छ। भीडभाड र कोलाहलबाट टाढा, हिमाल, जंगल, खोल्सा र सांस्कृतिक बस्तीको संयोजनले यो पदमार्गलाई विशेष बनाएको छ।

मकालु हिमाल मकालु–बरूण राष्ट्रिय निकुञ्जभित्र पर्दछ। सरकारले २०४९ सालमा स्थापना गरेको यो निकुञ्जको क्षेत्रफल करिब १,५०० वर्ग किलोमिटर छ। निकुञ्जको उचाइ ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म फैलिएको छ। यसको पश्चिमतर्फ सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरतर्फ तिब्बतको चोमोलोङ्मा संरक्षण क्षेत्र पर्दछ।

यस पदमार्गमा जाने पर्यटकहरू प्रायः तुम्लिङटार वा खाँदबारीबाट यात्रा सुरु गर्छन्। करिब ८ दिनको पदयात्रापछि मकालु बेसक्याम्प पुगिन्छ भने फर्किन करिब ३ दिन लाग्दछ। यात्राका क्रममा सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्ला खर्क र लाङ्माले हुँदै मकालु बेसक्याम्प पुगिन्छ।

भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास रहेको यस क्षेत्रमा २,१०० मिटर उचाइमा रहेको टासीगाउँ शेर्पा समुदायको मुख्य बस्ती हो। यस गाउँभन्दा माथि स्थायी बस्ती छैन, तर पदयात्रीहरूका लागि ठाउँ–ठाउँमा होटल तथा बास बस्ने सुविधा उपलब्ध छन्।

टासीगाउँमा प्रायः घरघरमै हिमाल आरोहण तथा पदयात्राका लागि व्यावसायिक गाइड भेटिन्छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्यचौकीको सुविधा छ भने भरिया पनि सजिलै पाइन्छन्। गाउँका अधिकांश युवक पर्यटन व्यवसायमै संलग्न छन्।

टासीगाउँबाट करिब ७ घन्टा उकालो चढेपछि ३,६६० मिटर उचाइमा रहेको खोङ्मा डाँडा पुगिन्छ, जहाँ दुईवटा घर मात्र छन्। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण हिमशृंखला र मकालु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। त्यहाँ बास बसेपछि भोलिपल्ट सानो पोखरी, ठूलो पोखरी हुँदै ४,२५० मिटर उचाइमा रहेको सिप्तन्ला भन्ज्याङ पार गरेर ३,८६० मिटर उचाइको दोबाटे पुगिन्छ।

दोबाटेबाट बरुण नदीको बगर हुँदै छैटौँ क्याम्प याङ्ला खर्क पुगिन्छ। याङ्ला खर्कबाट करिब ४ घन्टाको यात्रापछि ४,५०० मिटर उचाइको लाङ्माले क्याम्प पुगिन्छ। त्यहाँ एक दिन बास बसेपछि ४ घण्टाको यात्रामा ५,९०० मिटर उचाइमा रहेको मकालु बेसक्याम्प पुगिन्छ। यहाँ स्थायी बस्तीका नाममा तीनवटा घर मात्र भएकाले अधिकांश पर्यटक टेन्टमै बस्छन्।

यस पदमार्गमा शिवधारा, ताडोसा (४,००० मिटर), हामाफोजुङ (आमाछोरा पहाड) जस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थान पनि पर्दछन्। यहाँ डाँफे, हिमाली काग, भ्याकुरा, मुनाल, कालिज, रेडपान्डा, विभिन्न प्रजातिका पुतली तथा जंगलमा रंगीचंगी फूल अवलोकन गर्न सकिन्छ।

विदेशी पर्यटकका लागि यो पदमार्ग करिब आधा दशकदेखि मात्र खुलेको हो। निकुञ्ज कार्यालयका अनुसार प्रत्येक वर्ष यहाँ आउने विदेशी पर्यटकको संख्या बढ्दो छ। गत वर्ष मात्रै १ हजार ४१४ जनाले मकालु पदमार्गको सफल पदयात्रा गरेका थिए।

प्राकृतिक शान्ति, हिमाली दृश्य, सांस्कृतिक बस्ती र साहसिक यात्राको संयोजन खोज्नेका लागि मकालु पदमार्ग नेपालकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

भोजपुर, कार्तिक १८ । उत्तरी भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमाथि निर्माण भइरहेको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन। विसं २०६७ मा सुरु गरिएको पुल निर्माण करिब चार करोड खर्चिएर अलपत्र बनेको छ।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार संघीय सरकारले करिब चार करोड रुपैयाँ खर्च गरेपछि पनि पुल निर्माणको काम रोकिएको हो। छवटा पिलरको आधार (बेस) तयार गरेपछि काम अगाडि बढ्न सकेको छैन।

“लम्सुवाघाट पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ,” वडाध्यक्ष विसुन्केले भने, “राज्यको करोडौँ रकम खर्चिएर पनि पुल अधुरो रहनु दु:खद छ। हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा छौँ।”

एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि २०६७ सालमा काम सुरु भएको थियो। तर सम्झौताअनुसार २०७० सालमा सम्पन्न हुनुपर्ने पुल आजसम्म अधुरो छ। स्थानीयवासी भक्तराज विश्वकर्माका अनुसार, राज्यले निर्माण सम्पन्न गर्न गम्भीर ध्यान नदिँदा परियोजना अलपत्र बनेको हो।

काठमाडौँ, १० असोज । हाल बाढी–पहिरोका कारण तीन सडक अझै अवरुद्ध रहेका छन्। प्रहरीका अनुसार कोशी प्रदेशका दुई र बागमती प्रदेशको एक सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुणस्थित सडकमा पहिरो खसेर अवरुद्ध भएको छ। सोही राजमार्गकै मकालु गाउँपालिका–३, एकुवास्थित सडक पनि पहिरोले रोकेको छ।

यसैगरी रसुवामा नेपाल–चीन नाका जोड्ने सडकखण्ड गत असारदेखि नै अवरुद्ध छ। सम्बन्धित निकायले सडक खोल्ने प्रयास गरे पनि निरन्तर पहिरो खसिरहेकाले आवागमन सहज हुन सकेको छैन।

काठमाडौँ, २५ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर सामान्यतया बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार पाँचथर, झापा, इलाम, लमजुङ र आसपासका जिल्लाहरूमा बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको पूर्वानुमान छ।

साथै, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, रोल्पा, अछाम, बझाङ, डडेलधुरा, डोटी र आसपासका जिल्लाहरूमा बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको छ।

काठमाडौँ, १७ साउन । लगातारको वर्षाले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार ५ स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने ७ ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

सबैभन्दा बढी असर सङ्खुवासभा, रसुवा र रुकुम पश्चिमका सडकखण्डमा परेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ मा रहेको कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । रसुवामा त झन् हालत झन् गम्भीर छ ।

गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन सीमा पुल बन्द छ । पासाङल्हामु सडकको गोसाईंकुण्ड–२ र ३ मा पहिरोले सडक पुरिएको छ । उत्तरगया गाउँपालिका–५ मा पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु खण्ड पनि ठप्प छ ।

प्रहरीका अनुसार, प्रभावित क्षेत्रमा डोजर र सुरक्षाकर्मी परिचालन गरिएको छ तर लगातारको पानीले काम गर्न मुस्किल परेको जनाइएको छ । यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।

देशभर बाढी र पहिरोले राजमार्ग ठप्प, पाँच ठाउँमा पूर्ण अवरोध