भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौँ, २८ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले अपराह्न ४ : ०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने प्रावधान छ । सोही अनुसार आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागेको हो ।

संयुक्त बैठक अपराह्न ३ : ४५ बजे सुरु हुने भएकाले त्यसअघि नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ । संयुक्त बैठकअघि अपराह्न २ : ०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रबारे जानकारी गराइनेछ । त्यसपछि मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ । साथै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० अनुसार जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गरिनेछ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

यस बजेट अधिवेशनमा सरकारले जारी गरेका आठवटा विभिन्न अध्यादेशहरू पनि पेस गर्ने कार्यसूची छ । तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ प्रमुख रहेका छन् ।

संसद् सचिवालयका अनुसार यी अध्यादेशहरू सङ्घीय संसद का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिनेछन् ।