भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

ललितपुर, ८ भाद्र । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन ‘अर्ली वार्निङ’ प्रणाली जडान गरेको छ । उपत्यकामा यस्तो प्रणाली प्रयोग गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह बनेको छ ।

महानगरले हाल वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ नख्खु खोलामा यो प्रणाली जडान गरेको हो । बाढीको जोखिम बढेपछि प्रणालीमार्फत घण्टी बज्ने व्यवस्था गरिएको छ । करिब दुई किलोमिटर टाढासम्म यसको आवाज पुग्ने भएकाले वरपरका वडामा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन सजिलो हुने बताइएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार, “यी दुईवटा नदी वरपरका अन्य वडाहरूलाई सचेत गराउन यो प्रणाली उपयोगी हुनेछ । आवश्यक भए अन्य स्थानमा पनि जडान गर्ने योजना छ ।” महानगरले विपद् व्यवस्थापनका लागि आवश्यक सबै संयन्त्र एउटै छानामुनि व्यवस्थापन गरेको छ ।

पुलचोकस्थित नगर प्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, डुङ्गा, एम्बुलेन्सलगायतका साधन उपलब्ध छन् । महर्जनका अनुसार, अन्तर्राष्ट्रिय अभ्यासअनुसार विपद्को समयमा जनशक्ति र उद्धार सामग्रीसँगै एम्बुलेन्स पनि तुरुन्तै पुग्ने व्यवस्था गरिएको छ ।

गत वर्ष असोजमा आएको बाढीका बेला डुङ्गाको अभाव भएकाले महानगरले केही महिना अघि उद्धार प्रयोजनका लागि नयाँ डुङ्गा खरिद गरेको छ । हाल महानगरसँग साना–ठूला गरी ६ वटा दमकल पनि छन् ।

त्यसैगरी, महानगरले वडास्तरसम्म पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ भने प्रत्येक वडामा विपद् व्यवस्थापन र सचेतनाका लागि स्वयंसेवक समूह गठन गर्ने तयारी भइरहेको छ । महानगरको भनाइमा, अर्ली वार्निङ प्रणाली जडान गर्नुको मुख्य उद्देश्य बाढीजस्ता प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनतम बनाउनु हो ।

दुवाकोट, २८ चैत । चाँगुनारायण नगरपालिकाले आफ्ना वडाहरूमा आगलागी सुरक्षा सम्बन्धी अभिमुखीकरण र अग्नि नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रम शुरू गरेको छ। यो कार्यक्रम जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहकार्य र वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा सञ्चालित छ।

सुख्खा मौसम र गर्मीका कारण आगलागीका घटना बढिरहेको अवस्थामा समुदायमा सचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको नगरप्रमुख जीवन खत्रीले बताए। उनले सम्भावित विपद् रोकथाम र जोखिम कम गर्न नगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको उल्लेख गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईंले गत वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरी मनसुनजन्य विपद्बाट नगरवासीलाई जोगाउन प्रभावकारी योजना लागू गर्ने बताए।

त्यसैगरी कार्यक्रम वडा नं. ४ मा वडाध्यक्ष रोजबहादुर तामाङ, वडा नं. ५ मा जयन्द्र खड्का, वडा नं. ७ मा श्यामकृष्ण नयाँजु श्रेष्ठ, वडा नं. ८ मा कार्यवाहक वडाध्यक्ष अनिता परियार र वडा नं. १ मा सिजन कार्कीको अध्यक्षतामा सम्पन्न भयो। वडाध्यक्षहरूले यस्ता कार्यक्रमले आगलागी रोकथाम र नियन्त्रणमा जनचेतना फैलाउन सहयोग पुग्ने बताए। अभिमुखीकरणमा वडा सदस्य, ज्येष्ठ नागरिक, युवा, महिला, स्वयंसेवक र कर्मचारीहरू सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले ग्यास सिलिन्डर चुहावटबाट हुने आगलागीले ठूलो क्षति निम्त्याउने भन्दै यो कार्यक्रमले रोकथाम र नियन्त्रणमा सहजता ल्याउने बताए। उनीहरूले आगलागी, चट्याङ, सडक दुर्घटना, महामारी र भूकम्पजस्ता विपद्बाट बच्ने उपायबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सचेतना फैलाएकोमा नगरपालिकालाई धन्यवाद दिए।

वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सोम प्रधानले सरकारी र गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले नगरपालिकाले प्राथमिक उपचार र खोज उद्धारमा दक्ष स्वयंसेवक तयार गरेको जानकारी दिए।

त्यस्तै योजना शाखा प्रमुख अनुप लामिछानेका अनुसार चैत २४ बाट शुरू भएको यो कार्यक्रम सबै वडामा क्रमशः सञ्चालन हुने बताए । अभिमुखीकरणमा आगलागीका कारण, नियन्त्रणका उपाय र स्थानीय स्रोत प्रयोग गरी आगो निभाउने तरिकाबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएकाे थियाे । साथै, फायर एक्स्टिंग्विसरको प्रयोग पनि सिकाएकाे थियाे । 

वडा नं. ७ मा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कोषाध्यक्ष प्रदिपकुमार केसीले नगरपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेको बताए। विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले प्रत्येक समुदायमा प्रथम उद्धारकर्ता टोली तयार गर्नुका साथै विद्यालय र समुदायमा सचेतना कार्यक्रम चलाइरहेको जानकारी दिए।

कार्यक्रममा दिनेश थापा, राजकुमार लम्साल, दिवाकर पौडेल, सञ्जय अवाल, रेडक्रसबाट ऋषि खड्का, जुद्ध बारुणयन्त्रबाट सानुराम दाहाल, अनिल कपाली, मुनाल ढकाल र अमन सिंख्वालले सैद्धान्तिक र प्रयोगात्मक प्रदर्शन गरे।