काठमाडाैं, ३ असार । देशभर मनसुन सक्रिय रहेकाले आज पनि विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मुसलधारे वर्षा हुने चेतावनी दिएको छ ।
हाल कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । गएराति काठमाडौं उपत्यकामा ठूलो वर्षा भए पनि बिहानदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका २३ जिल्ला उच्च जोखिम (रेड अलर्ट) मा रहेका छन् ।
उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशका झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर र खोटाङ, बागमती प्रदेशका चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक, तथा गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी रहेका छन् ।
महाशाखाले नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन तथा अत्यावश्यक बाहेकका यात्रा नगर्न अनुरोध गरेको छ ।
काठमाडौँ, १ साउन । देशभर मनसुनको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको हो।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर बदली कायम रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र बागमतीका हिमाली क्षेत्र, साथै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसका साथै सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य सेवा, पर्यटन र पर्वतारोहण गतिविधिमा समेत असर पर्न सक्ने भएकाले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।
काठमाडौं, २७ असार । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज बागमतीसहित ६ प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोसी प्रदेशका पहाडी क्षेत्र र गण्डकी तथा लुम्बिनीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज देशभर अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
विभागले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौं, २६ असार । लगातारको वर्षासँगै पूर्वी नेपाल तथा काठमाडौं उपत्यकाका साना नदी र खोलामा आकस्मिक बाढी आउने जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाका अनुसार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुपाल्चोकलगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बर्दिया तथा आसपासका जिल्लाका साना नदी, खोला र करिडोर क्षेत्रमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले विशेषगरी नदी किनार, खोला आसपास तथा शहरी करिडोर क्षेत्रमा बसोबास गर्ने नागरिकलाई डुबान र आकस्मिक बाढीको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। आवश्यक नभएसम्म नदी तर्ने, खोल्सामा प्रवेश गर्ने वा जोखिमयुक्त क्षेत्रमा बस्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ।
आजदेखि लगातार तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्सिसम्म बाढीको जोखिम कायम रहने महाशाखाले जनाएको छ। नागरिकलाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं, २४ असार । देशका अधिकांश क्षेत्रमा मनसुनी प्रणाली सक्रिय रहेकाले बुधबार भारी वर्षा, हावाहुरी तथा आकस्मिक बाढीको जोखिम बढेको छ। जल तथा मौसमसम्बन्धी निकायहरूले विशेषगरी जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसमविद्का अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। दिउँसोपछि मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा आज राति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लगातार वर्षा हुन सक्ने भएकाले पहिरो, डुबान र सडक अवरुद्ध हुने जोखिमसमेत बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना छ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्ले अत्यावश्यकबाहेक जोखिमयुक्त नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रको यात्रा नगर्न, मौसमको अद्यावधिक जानकारी लिन तथा स्थानीय प्रशासनको सूचनाको पालना गर्न पनि अनुरोध गरेका छन्।
काठमाडौं, २२ असार । देशका विभिन्न क्षेत्रमा आज मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि केही स्थानमा हल्का वर्षा भइरहेको छ भने दिउँसो र राति केही क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। अन्य प्रदेशका विभिन्न स्थानमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ। लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहने भएकाले यात्रा गर्दा मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं, २१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेको छ ।
यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ ।
देशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी, कोशी र बागमती प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
मौसमविद्का अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं, १९ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।
विभागका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ।
यस्तै, शुक्रबार राति पनि देशभर सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसका साथै देशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास, पहिरो जोखिम भएका क्षेत्र तथा सडकमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।