भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन्।

फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना सैन्य टुकडीहरू डेनमार्कको नेतृत्वमा भइरहेको ‘अपरेशन आर्कटिक एन्ड्युरेन्स’ अन्तर्गत ग्रीनल्याण्डको राजधानी नुक पुगेका बीबीसीले जनाएको छ। फ्रान्सले प्रारम्भिक रूपमा १५ सैनिक पठाएको छ भने जर्मनीले १३ सैनिकसहितको ए–४०० एम विमान पठाएको जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले चाँडै स्थल, आकाश र समुद्री साधनसहित थप सैन्य बल पठाइने बताउनुभएको छ। फ्रान्सका वरिष्ठ कूटनीतिज्ञ ओलिभिए प्वाभ्र द आर्भोरले यस कदमलाई ‘राजनीतिक सन्देश दिने पहिलो अभ्यास’ भन्दै नाटो ग्रीनल्याण्डमा उपस्थित रहेको देखाउन गरिएको बताउनुभएको छ।

यसैबीच, डेनमार्क र ग्रीनल्याण्डका विदेश मन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरे पनि दुवै पक्षबीच ‘मौलिक असहमति’ कायमै रहेको डेनमार्कले जनाएको छ। ट्रम्पले भने ग्रीनल्याण्ड अमेरिकाका लागि अपरिहार्य रहेको दोहोर्याउँदै आवश्यक परे बल प्रयोगको विकल्प अस्वीकार नगरेको संकेत दिनुभएको छ।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले ग्रीनल्याण्डमा अमेरिकी सैन्य हस्तक्षेप भए नाटोका लागि ‘राजनीतिक विपत्ति’ हुने चेतावनी दिनुभएको छ। उता, रुसले नाटोले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति बढाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले आफ्नो भूमि अमेरिकाको स्वामित्व वा शासन स्वीकार्य नहुने स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ। सैनिक तैनाथी संख्या सानो भए पनि यसलाई नाटोको आर्कटिक क्षेत्रमा बढ्दो रणनीतिक चासो र ट्रम्प प्रशासनलाई युरोपेली देशहरूको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।