सोलुदुधकुण्ड (सोलुखुम्बु), ९ असाेज । सोलुदुधकुण्ड नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलहरू समेटिएको तस्बिर पुस्तक ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ सार्वजनिक गरिएको छ।
नगरपालिकाको प्रकाशनमा तयार पारिएको यो पुस्तकलाई लेखक तथा पत्रकार भरतबन्धु थापाले तयार पारेका हुन्। पुस्तकको विमोचन सोलुदुधकुण्ड नगरप्रमुख नाम्गेल जाङबु शेर्पा र जनप्रतिनिधिहरूले एक विशेष समारोहबीच गरेका थिए।
लेखक थापाले नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक तथा जीवनशैली झल्काउने तस्बिरहरू संग्रह गरेर पुस्तक तयार पारेका छन्। पुस्तकको विमोचनपछि नगरप्रमुख शेर्पाले सोलुदुधकुण्ड प्राकृतिक स्रोतसाधन मात्र नभई कला र संस्कृतिको धनी नगर भएकाले यस पुस्तकले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार सोलुदुधकुण्ड नगरकै दक्षिणी भेगमा अवस्थित पिके पीक विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालहरूको श्रृंखला नियाल्न सकिने उत्कृष्ट दृश्यबिन्दु हो, जसलाई सर एडमण्ड हिलारीले पनि “सगरमाथा हेर्ने उत्कृष्ट स्थान” भनेका थिए।
लेखक थापाले आठ पटक विभिन्न मौसममा सोलुदुधकुण्ड यात्रा गरी तस्बिर सङ्कलन गरेर पुस्तक तयार पारेका हुन्। दुई दशकदेखि पर्यटन पत्रकारिता गर्दै आएका उनले यसअघि पनि ‘वाईल्ड वेष्ट नेपाल’, ‘गन्तव्य कर्णाली’, ‘एक्सप्लोर फारवेष्ट’, ‘गन्तव्य मध्यपुर’, ‘तस्बिरमा नेपाल’, ‘नेपाल इन इमेजेज’, ‘पञ्चकोशी दैलेख’ जस्ता पुस्तक सार्वजनिक गरिसकेका छन्।
थापाले यसअघि चीन, भारत, जापानमा भिडियो र अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनीसमेत गरिसकेका छन्।
जेनजी प्रदर्शनका कारण राज्यका अंग, पत्रकारिता र निजी सम्पत्तिमा क्षति
पर्यटन क्षेत्रमा ठूलो असर, बुकिङ रद्द र पूर्वाधार क्षतिग्रस्त
हाल नेपालमा करिब १५ हजार विदेशी पर्यटक
होटलमा मात्र करिब २५ अर्ब नोक्सानी, हिल्टन होटलमै ८ अर्बभन्दा बढी
पर्यटन पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड, होटल सङ्घ, पाटा, टान र सरोकारवाला सक्रिय
विज्ञहरूका अनुसार यो अवस्था अस्थायी, पर्यटन छिट्टै पुनः उठ्ने विश्वास
काठमाडौँ, २९ भाद्र । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो ।
राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठुलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।
भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन अन्तर्राष्ट्रिय पहिचान र साखको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।
आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन बिस्तारै पुरानै लयमा फर्किएको थियो ।
पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालो बादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रशस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपद्जस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनरुत्थान हुने आशा व्यक्त गरे । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भने, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ ।
मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”
खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठुलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठुलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए ।
उनले भने, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठुलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।”
अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनरुत्थान हुने विश्वास व्यक्त गरे । “विगतमा पनि विपद्पछि चाँडै पुनरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले नेपालको पर्यटन पुनरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए । सिइओ जोशीले भने, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ ।
विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आबद्ध अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनरुत्थान हुनेछ ।” उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन् भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् ।
नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस् भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
“पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रवाह गर्न जरुरी छ”, उनले भने, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनरुत्थान भएको थियो । नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो ।
होटललगायत पूर्वाधारमा ठुलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।”
प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनरुत्थान हुने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।”
नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको साखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् ।
होटलमा करिब २५ अर्बको नोक्सानी
जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठुलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ ।
काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।रासस
मुख्य बुँदा
भक्तपुर घरेलु तथा साना उद्योग संघ र पर्यटन विकास समितिको सहकार्यमा “गो लोकल” पुस्तक सार्वजनिक।
पुस्तकमा भक्तपुरका १५ मौलिक उत्पादनहरूको सूचीकरण, महत्त्व र सम्भावना समेटिएको।
५ वर्षको अध्ययन अनुसन्धानपछि तयार पारिएको पुस्तक, मन्त्री सुरेश श्रेष्ठ र मन्त्री बिन्दु श्रेष्ठद्वारा सार्वजनिक।
मौलिक उत्पादनको संरक्षण, प्रवर्द्धन, ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रवेश मुख्य उद्देश्य।
स्थानीय सरकार र उद्योग कार्यालयले पनि कार्यक्रमलाई समर्थन।
गो लोकल कार्यक्रमबाट जागरूकता, बजार विस्तार र आर्थिक समृद्धिमा योगदानको अपेक्षा।
भक्तपुर, २४ भदौ । भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा “गो लोकल” पुस्तक सार्वजनिक गरिएको छ।
यस पुस्तकमा भक्तपुरका १५ मौलिक उत्पादनहरूको सूचीकरण गर्दै तिनीहरूको महत्त्व र भविष्यको सम्भावनामा प्रकाश पारिएको छ। पाँच वर्षको अध्ययन र अनुसन्धानपछि तयार पारिएको पुस्तकलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन ।
पुस्तक सार्वजनिक गर्दै मन्त्री श्रेष्ठहरूले मौलिक उत्पादन संरक्षण र अन्तर्राष्ट्रिय बजार विस्तारमा यस पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
मन्त्री विन्दु श्रेष्ठले रैथाने उत्पादनलाई उत्पादन गरी ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा लैजान सकिए मात्र घरेलु तथा साना उद्योगहरू दिगो हुने बताइन । उनले प्रदेश सरकारले ती उद्योग तथा व्यवसायलाई विभिन्न सुविधा प्रदान गर्दै संरक्षण गर्ने प्रतिवद्धता जनाइन ।
उनले थपिन, “घरेलु उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव छ। त्यसैले हामी आफैंले रैथाने बिउ जोगाएर कच्चा पदार्थ उत्पादन गर्नुपर्ने आवश्यकता छ। यसमा प्रदेश मात्र नभई स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी छ।”
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माले पनि स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धनमा यस पुस्तक र गो लोकल अभियान महत्वपूर्ण हुने बताए।
कार्यक्रम संयोजक वीरेन्द्र जति र सह–संयोजक रामसुन्दर भेलेले आगामी योजनाबारे जानकारी दिँदै अहिले पाँच प्रमुख उत्पादनमा काम भइरहेको बताए।
“गो लोकल” पुस्तकका उद्देश्य मौलिक उत्पादनलाई सम्मान र प्रचार गर्ने, पर्यटकसँग जोड्ने, उद्योगको संरक्षण र समृद्धि पुर्याउने, तथा नयाँ बजारमा प्रवेशका लागि ब्राण्डिङ र मार्केटिङलाई सहयोग गर्ने बताइएकाे छ ।
समापनमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, पर्यटन विकास समितिका महासचिव रविन्द्र श्रेष्ठलगायतले पनि उद्योगको संरक्षण र समृद्धि पुर्याउने बताएका थिए ।
ललितपुर, २२ भदौ । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र अझ आकर्षक र सौन्दर्यपूर्ण बनेको छ। ललितपुर महानगरपालिकाले पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी क्षेत्र सुन्दर र सफा देखिएको हो।
करिब एक करोड ५२ लाख लागतमा सम्पन्न काम अन्तर्गत मल्लकालदेखि प्रयोग हुँदै आएको तेल्या इँटा प्रयोग गरिएको छ। यो इँटा बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “तेल्या इँटा रैथाने इँटा हो। यो चम्किलो र बलियो हुन्छ। पुराना इँटा जीर्ण भइसकेका कारण सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका हौँ।”
महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन अहिले जीर्ण बनेपछि हटाइएको हो। तेल्या इँटा राखिएसँगै सतह करिब चार इञ्च अग्लो भएको छ, पानी जम्ने समस्या हटेको र सफा गर्न पनि सजिलो भएको छ।
स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाको यो कामलाई सराहना गर्दै भने, “अहिले दरबार क्षेत्र निकै चम्किलो र सफा देखिन्छ। पर्यटकलाई पनि मन पर्ने काम भएको छ।”
महानगरपालिकाले यस किसिमका काममार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको छ। दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा भदौ २२ गते सम्पदा पदयात्रा
भक्तपुर दक्षिणी भेगका १६ ऐतिहासिक, धार्मिक र सांस्कृतिक पोखरीहरूको परिक्रमा
पोखरीहरूको संरक्षण, जीर्णोद्धार र आकर्षक व्यवस्थापन नगरपालिकाद्वारा
सम्पदा पदयात्राले धार्मिक–सांस्कृतिक चेतना र पर्यटन प्रवर्द्धनमा योगदान
भक्तपुर, २१ भदौ । भक्तपुर नगरपालिकाले २०८२ भदौ २२ गते आइतबार आयोजना गर्ने सम्पदा पदयात्रामा भक्तपुर नगरका दक्षिणी भेगमा रहेका १६ वटा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महमहत्वका पोखरीहरूको परिक्रमा गरिने भएको छ ।
नगरपालिकाले धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले यो पदयात्रा आयोजना गरेको जनाएको छ । पदयात्राका क्रममा सहभागीहरूले निम्न पोखरीहरूको परिक्रमा गर्नेछन् :
च्याम्हासिंह पुखू – आठ सिंहको संरचना बोकेको, हाल भक्तपुर नगरपालिका वडा नं. ९ वागीश्वरी मा.वि. परिसरमा रहेको धार्मिक महŒवको पोखरी । जेँला पुखू – क्षेत्रफलमा सानो भए पनि नगरपालिकाले जीर्णोद्धार गरी आकर्षक बनाएको पोखरी, रात्री समयमा फोहोरा र बत्तीले विशेष आकर्षण बढाउने ।खँचा पुखू – पाँचतले मन्दिरको प्रतिविम्ब देखिने ऐतिहासिक पोखरी, मध्यकालीन निर्माण शैलीको उत्कृष्ट नमुना ।
याता (न्हाद) पुखू – बस्तीको बीचमा रहेको, विगतमा घरायसी प्रयोजनमा प्रयोग भएको पोखरी, अहिले मत्स्यपालनसहित संरक्षण गरिएको ।गोल्मढी बारे पुखू – कमल पोखरी नामले चिनिने, किसानहरूले हडप्ने प्रयासपछि स्थानीय पहलमा सार्वजनिक कायम गरिएको पोखरी । कुमारी पुखू – अष्टमातृका पिठ परिसरमा अवस्थित, धार्मिक र सांस्कृतिक महमहत्व बोकेको पोखरी ।
खँला (ख्यो) पुखू – भेलुखेलस्थित, जीर्णोद्धारपछि महादेवको मूर्ति राखिएको, हाल नगरपालिकाले पानी अडाइ सदुपयोगमा ल्याएको पोखरी लैको पुखू – गोलाकारबाट षट्कोण आकारमा जीर्णोद्धार गरिएको सानो पोखरी, फोहोरा सहित आकर्षक बनाइएको ।सुनधारा पुखू – सम्भवतः भक्तपुरकै सबैभन्दा सानो पोखरी, बिचमा नागको धातुको प्रतिमा राखिएको ।
दुमाजु पुखू (रुन्चे पोखरी) – बालबालिकाको रुन्चे निको हुने जनविश्वास बोकेको ऐतिहासिक पोखरी, तलेजु परिसरभित्र अवस्थित । भण्ड पुखू (भण्डार पोखरी) – मल्लकालमा धन सम्पत्ति भण्डारण भएको विश्वास गरिने, अहिले दरबार क्षेत्रको कला सङ्ग्रहालय परिसरमा अवस्थित पोखरी । नासमना पुखू (मंगलकुण्ड पोखरी) – नासमना चोकमा रहेको, घरायसी प्रयोजन र पौडी खेल्न प्रयोग हुने पोखरी, अहिले सम्पदा क्षेत्रमा संरक्षणमा । मंगलाछेँ पुखू – मचो गणेश मन्दिर नजिक अवस्थित सानो पोखरी, धार्मिक र सांस्कृतिक महमहत्वसहित संरक्षित । देगमना पुखू – देगमना टोलमा रहेको, देवी–देवताका मूर्तिहरूसहितको पवित्र पोखरी ।
तेखा पुखू (तेखाचो पुखू) – पोखरीको बिचमा महादेवको मूर्ति स्थापना गरिएको, धार्मिक महमहत्व बोकेको पोखरी । भाज्या पुखू (भाजु पुखू) – मल्लकालीन भारदार भाजुकसले निर्माण गरेको विश्वास, हाल नगरपालिकाले आकर्षक स्वरूपमा जीर्णोद्धार गरी पर्यटकीय गन्तव्य बनाएको पोखरी ।
नगरपालिकाले पछिल्ला वर्षहरूमा यी पोखरीहरूको जीर्णोद्धार, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ । फोहोरा, रंगीन बत्ती, मत्स्यपालन, डिल निर्माण लगायतका व्यवस्थापनले पोखरीहरू अझ आकर्षक बनेका छन् । नगर प्रमुखका अनुसार, “यी पोखरीहरू भक्तपुरको धार्मिक–सांस्कृतिक पहिचानका धरोहर मात्र होइनन्, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त सम्भावनायुक्त सम्पदा हुन् । सम्पदा पदयात्राबाट सर्वसाधारणलाई आफ्नै संस्कृतिप्रति अभिमान बढाउने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”
नारायणगढ, १९ भाद्र । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, चितवनको सौराहा। यहाँ आउने जो कोहीले सौराहाको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन्। मानिससँगको सामीप्यमा रमाउने यी गैँडा वास्तवमा मानिसले नै पालेका हुन्।
निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ। यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहातिर देखिरहेका छन्। सौराहास्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नामका गैँडाका दुई भाले केटाहरू ९बच्चाहरू० हुर्किरहेका छन्।
गैँडाका बच्चा प्रायः वैशाख-असारको ‘सिजन’मा जन्मिन्छन्। प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ। हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ। यिनको पालनपोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आएका छन्।
प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो। देवलाई भरतपुरको देवनगरबाट २०८० जेठ ३० गते उद्धार गरिएको हो। रामलाई सौराहाकै बाघमाराबाट २०८० असार १ गते ल्याइएको थियो। उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए। प्रसाईंले भने, ‘त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ।’
रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उनले बताए। ‘आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन। घाइतेजस्तो पनि देखिएको थिएन। हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ। अनि उपचार र पालन–पोषण गरिएको हो।’
त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए। बाँच्छ कि बाँच्दैन भन्ने शंका थियो। बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ। केन्द्रका चिकित्सक डा। अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताए।
‘यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्,’ उनले भने, ‘यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ। घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ।’गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा। सडौलाको भनाइ छ।
यहाँ हुर्काइएका केही गैँडा अन्य देशमा उपहारस्वरूप पठाइएको र केही प्राकृतिक जंगलमा पुनस्स्थापन गरिएका छन्। पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बांगे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ। यस्तै, ब्युटी र जंगेलाई अस्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको सांघाई चिडियाखाना पठाइएको छो।
वरिष्ठ संरक्षण अधिकृत प्रसाईँका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ। हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित छन्। गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गर्ने उनले बताए।
हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ। ६ वटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सकेका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न छन्।
उनले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्नुहुन्छ। ‘बच्चा अवस्थामा दुई(दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन शुरू गरिन्छ,’ महतराले भने, ‘मैले हालसम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडा हुर्काइसकेको छु। यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि विस्तारै तंग्रिँदै छन्।’
यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई शुरूमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमशः बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा। सडौलाले बताए। उनका अनुसार, सामान्य गाईभैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन। त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने उनको भनाइ छ।
माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईँको भनाइ छ। रासस
पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि पुनः सञ्चालन
बर्खायाम र प्रतिकूल मौसमका कारण सेवा बन्द थियो
समिट एयरलाइन्सको ट्विनअटर जहाजले हिजोदेखि उडान भर्न शुरू
पर्यटकीय यामको सुरुवातसँगै उडान पुनः सञ्चालन
काठमाडौँ, १६ भाद्र । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द भएको थियो।
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले असार २ गतेदेखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार पर्यटकीय याम सुरु भएसँगै उडान पुनः सञ्चालन गरिएको हो।
पोखरेलका अनुसार, पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले हिजोदेखि उडान भर्न थालेको छ। पहिलो दिन हिजो दुई वटा उडान भरेको जानकारी कार्यालयले दिएको छ।
बागलुङ, ७ भाद्र । यतिबेला ढोरपाटन उपत्यका बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी र गुलाबी रंगका वनफूलले सजिएको छ । हरियाली र रंगीविरंगी फुलले उपत्यकाको सुन्दरतामा थप आकर्षण भरेको छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याइरहेको छ ।
एक दशकअघि सुनसानजस्तै देखिने ढोरपाटन पछिल्ला वर्षमा पर्यटकहरूको गन्तव्य बन्दै गएको छ । विशेषगरी वर्षायाममा पाटनभरि फुल्ने वनफूलहरूले यहाँको प्राकृतिक सुन्दरतामा सुगन्ध थप्ने गर्छ ।
सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार बढेसँगै हाल दैनिक २ सयभन्दा बढी आन्तरिक पर्यटक ढोरपाटन पुग्ने गरेका छन् । उपत्यकाका फाँटभरि रंगीविरंगी फूल हेर्न, तस्बिर खिच्न र बादलमा हराउन आउनेको चहलपहल बढ्दो छ ।
स्थानीयहरूले “राके फूल” भनेर चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल जस्ता नाम दिएको छ । फूलसँग रमाउन आउने पर्यटकको संख्याले उपत्यकामा सञ्चालित होटल तथा व्यवसायमा फड्को मारिएको छ ।
ढोरपाटन पुग्ने अधिकांश पर्यटक फूल र उपत्यकाकै रमणीयतामा सीमित हुने गरे पनि केही मात्र पर्यटक बुकीपाटन र टिकाधारा उक्लन्छन् । ढोरपाटन उपत्यकाबाट करिब पाँचदेखि छ घण्टाको पैदलयात्रापछि पुगिने यी स्थलमा पाटनैभरि भेडा चरिरहेको मनोरम दृश्य नियाल्न सकिन्छ ।