भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौं, ५ मंसिर । नागरिक समूहले देशभर बढ्दो राजनीतिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार, जेनजी समूह र राजनीतिक दलहरूलाई तत्काल संयमित रहन अपिल गरेको छ । बाराको सिमरामा हालै उत्पन्न तनावपूर्ण घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल असर पारिरहेको उल्लेख गर्दै नागरिक समूहले मुलुक अनावश्यक संकटतर्फ धकेलिन सक्ने चेतावनी दिएको हाेे ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालद्वारा जारी विज्ञप्तिमा राजनीतिक स्थायित्व, संवैधानिक मार्गप्रतिको प्रतिबद्धता र आगामी फागुन २१ गते तोकिएको निर्वाचनको तयारी अत्यन्त संवेदनशील चरणमा पुगेको बताइएको छ । सिमरा विमानस्थलजस्तै महत्वपूर्ण सुरक्षा क्षेत्रमा भएको भिडन्त, कर्फ्यु आदेश, भौतिक संरचनामा भएको क्षति र दुवै पक्षबाट देखिएका उग्र व्यवहारले निर्वाचन वातावरण नै प्रभावित हुन सक्ने नागरिक समूहको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समूह, दल वा आन्दोलनबाट संवैधानिक हकमा हस्तक्षेप वा हिंसात्मक व्यवहार स्वीकार्य हुँदैन । जेनजीको नाममा कुनै दलमाथि निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार हो ।’ साथै, दलहरूले पनि प्रतिवादका नाममा तनाव थप्ने गतिविधि गरेमा देशको सुरक्षा अवस्था जटिल बन्ने मात्र होइन, फागुन २१ को शान्तिपूर्ण निर्वाचनसमेत जोखिममा पर्ने चेतावनी नागरिक समूहले दिएको छ ।

शान्तिपूर्ण निर्वाचन गर्न नसकिए देश राजनीतिक शून्यतामा धकेलिन सक्ने र त्यसको असर सबैले भोग्नुपर्ने भन्दै तीनै पक्षलाई संवैधानिक दायरा नछोड्न आग्रह गरिएको छ । समूहले सरकार, राजनीतिक दल र जेनजी युवाहरूमाथि कुनै पनि गतिविधिले शान्ति–सुरक्षा, आगामी चुनावी वातावरण बिथोलिने अवस्था पैदा नगर्नु पर्नेमा जोड दिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा दलहरूको गतिविधि प्राकृतिक भएको स्वीकार्दै पनि भिडन्त, उक्साहट र तनाव निम्त्याउने कामबाट टाढा रहन सुझाव दिइएको छ । जेनजी युवाहरूलाई पनि लोकतान्त्रिक मूल्य, शान्तिपूर्ण अभिव्यक्ति र संविधानको सम्मान गर्दै अघि बढ्न आग्रह गरिएको छ ।

भदौ २३–२४ को आन्दोलनले निर्माण गरेको सकारात्मक छवि हिंसात्मक गतिविधिले नष्ट गर्न सक्ने चेतावनी दिँदै, सरकारलाई फागुन २१ मै निष्पक्ष र सुरक्षित निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक दायित्व पूरा गर्न गम्भीर बन्ने सुझाव नागरिक समूहले दिएको छ ।