काठमाडौं, १७ असार । देशभर मनसुन सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। पश्चिमका केही जिल्लामा बाढीको जोखिम बढेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया र कैलाली भएर बहने साना नदी तथा खोलामा जलसतह बढिरहेको जनाएको छ। नदी आसपास तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दिनभर सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यस्तै मधेश प्रदेश तथा बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानबाट बच्न आवश्यक पूर्वतयारी गर्न तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो। औसत मितिभन्दा ६ दिन ढिलो नेपाल भित्रिएको मनसुन देशभर फैलिन १२ दिन लागेको विभागले जनाएको छ।
सामान्यतया नेपाल प्रवेश गरेको करिब एक साताभित्र मनसुन देशभर फैलिने भए पनि यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा केही दिन स्थिर रहेकाले विस्तारमा ढिलाइ भएको विभागको भनाइ छ।
हाल पश्चिमी वायुको प्रभाव हट्दै गएको र देशभर मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएकाले आगामी केही दिनसम्म अधिकांश क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी, बाँकेमा रोपाइँ तीव्र
वर्षा नहुँदा पनि किसानले नहरको पानी प्रयोग गरी खेती सुरु
राप्तीसोनारी लगायत विभिन्न पालिकामा रोपाइँ सुरु
करिब २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध
डुडुवा शाखा पूरा भएपछि सिँचाइ क्षेत्र विस्तार हुने अपेक्षा
आयोजनाको दीर्घकालीन लक्ष्य ४३ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने
बाँके, ९ असार । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् ।
राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी छिन् । उनले चार कट्ठा खेतमा धान रोपेकी छिन् भने बाँकी नौ कट्ठा खेतमा आज रोपाइँ सक्ने तयारी रहेको बताछिन् ।
जलजला महिला समूहका १३ रुपार्नेको सहयोगमा खेत रोपेकी चौधरीले प्रतिव्यक्ति प्रतिघण्टा रु १२० का दरले ज्याला दिएर रोपाइँ गराउएकी हुन् । उनले भनिन्, “सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ । नहरको पानीले खेत रोप्न धेरै सजिलो भएको छ ।”
मेलिनाको खेतमा रोपाइँ गर्न आएकी सोही गाउँकी मनसरा डाँगीले पनि सिक्टाको पानीका कारण खेतीपाती गर्न सहज बनेको बताइन् । उनले आज आफ्नो १४ कट्ठा खेतमा धान रोप्ने तयारी रहेको जानकारी दिँदै भनिन्, “पहिले पानीको चिन्ताले रोपाइँ कहिले गर्ने भन्ने अन्योल हुन्थ्यो ।
अहिले नहरमा पानी आएपछि समयमा खेती गर्न सकिने भएको छ । आज आफ्नै खेतमा पनि रोपाइँ सुरु गर्छु ।”
सिक्टा सिँचाइ आयोजनाले आइतबारदेखि राप्तीसोनारी गाउँपालिका–३ नवलपुर क्षेत्रमा पानी प्रवाह गरेपछि स्थानीय किसान रोपाइँमा जुटेका छन् । नवलपुरमा यस वर्षको पहिलो रोपाइँ स्थानीय किसान चन्द्रबहादुर थापाले गरेका छन् ।
उनले असारको पहिलो सातामै पाँच कट्ठा १४ धुर खेतमा धान रोपाइँ सम्पन्न गरिसकेको बताए ।थापाले भने, “सिक्टाको पानी उपलब्ध भएपछि खेत बाँझै रहने चिन्ता हटेको छ । अघिल्ला वर्षभन्दा अगाडि नै रोपाइँ गर्न पाएका छौँ । समयमै खेती गर्न सकिने भएकाले यस वर्ष उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।”
किसानका अनुसार सिक्टा सिँचाइ आयोजनाको पानीले वर्षामाथिको निर्भरता घटाउँदै खेतीपातीलाई सहज बनाएको छ । नहर प्रणालीबाट नियमित पानी उपलब्ध हुन थालेपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँले गति लिएको छ ।
सिक्टा सिँचाइ आयोजनाले हालसम्म बाँके जिल्लाका करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराएको जनाएको छ । आयोजनाअन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिँचाइ क्षेत्र विस्तार भई ३० हजारदेखि ३२ हजार हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ ।
सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँध ९हेडबक्र्स० बाट पूर्वी तथा पश्चिम मूल नहरमार्फत पानी सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार ३१७ मिटर लम्बाइको बाँधबाट पूर्वी र पश्चिम मूल नहरमा पानी वितरण गरिँदै आएको छ ।
पूर्वीतर्फ फत्तेपुरका विभिन्न शाखा तथा राजकुलोमा पानी प्रवाह भइरहेको छ भने पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँलगायत शाखामा सिँचाइका लागि पानी उपलब्ध गराइएको छ ।
इन्जिनियर विष्टले भने, “सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउनुपर्ने करिब ४३ हजार हेक्टर क्षेत्रमध्ये हाल २२ हजार हेक्टरमा किसानलाई सिँचाइका लागि पानी दिइरहेका छौँ । डुडुवा शाखाले सिँचाइ गर्नुपर्ने १६ हजार हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ ।”
उनका अनुसार डुडुवा नहर प्रणालीको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्यको पहिलो वर्ष पूरा भइसकेको र बाँकी दुई वर्षभित्र डुडुवा शाखा, खजुरा शाखा तथा मानपुर शाखासहितका संरचना निर्माण सम्पन्न गरिनेछ ।
इन्जिनियर विष्टले भने, “डुडुवा शाखा नहरको निर्माण सम्पन्न भएपछि १६ हजार हेक्टर क्षेत्रले सिँचाइ सुविधा पाउनेछ । यही गतिमा काम अघि बढे तीन वर्षभित्र बाँके जिल्लामा आयोजनाअन्तर्गत सिँचाइ गर्नुपर्ने ४३ हजार हेक्टर क्षेत्रफलमा पानी पुर्याउन सफल हुनेछौँ ।”
हाल आयोजनाले ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिँदै उहाँले डुडुवा शाखा सम्पन्न भएपछि कूल सिञ्चित क्षेत्र ३० देखि ३२ हजार हेक्टर पुग्ने बताए । इन्जिनियर विष्टका अनुसार प्रत्येक वर्ष असारको पहिलो वा दोस्रो सातादेखि किसानलाई ब्याड राख्न तथा रोपाइँका लागि आवश्यक पानी उपलब्ध गराइँदै आएको छ ।
उनले भने, “असारको अन्तिमसम्म सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउन सक्ने अधिकांश क्षेत्रमा किसानको रोपाइँ कार्य सम्पन्न हुने विश्वास लिएका छौँ ।”
यस वर्ष बाँकेमा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले शिक्षादहरबाट पानी सञ्चालन गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । आयोजनाका अनुसार कोहलपुर नगरपालिका वडा नं ६, १० र १५, जानकी गाउँपालिका वडा नं ३, ४ र ५, वैजनाथ गाउँपालिका वडा नं ५ र ७, डुडुवा गाउँपालिका वडा नं २ र ५ तथा खजुरा गाउँपालिका वडा नं ४, ५, ६, ७ र ८ मा रोपाइँ सुरु भइसकेको छ ।
त्यसैगरी, राप्तीसोनारी गाउँपालिका वडा नं २, ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा किसानले सिक्टा नहरको पानी प्रयोग गरी धान रोप्न थालेका छन् । सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँ शाखा नहरमार्फत पानी पुगेपछि ती क्षेत्रका किसान रोपाइँमा व्यस्त भएका छन् । रासस
मुख्य बुँदा
बाँकेमा चैते धानखेती गर्ने क्षेत्रफल ३० हेक्टरबाट घटेर १८ हेक्टरमा सीमित
सिँचाइका लागि पर्याप्त पानी भए पनि किसानको रुचि घट्दै
उत्पादन क्षमता बर्खे धानभन्दा बढी भए पनि मौसम जोखिमले समस्या
किसानलाई बीउ, उपकरण र सुक्खा प्रविधिमा अनुदान आवश्यक
बाँके, १४ बैशाख । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन ।
गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
उनका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् ।
सङ्घीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवर्द्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको सूचना अधिकारी पाठकले जानकारी दिए ।
बर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व क्षमता बढी रहेको छ । बर्खेधान प्रतिहेक्टर ४।४ टन उत्पादन हुँदा चैते धानको उत्पादकत्व क्षमता ४।६५ रहेको छ । चैते धान भित्र्याउने बेलामा पानी परेर स्याहार्न समस्या हुने भएकाले किसानको आकर्षण घट्दो रहेको खजुरा गाउँपालिका–१ राधापुरका किसान मगनसिंह थापाले बताए ।
उनले सिँचाइ, बीउ, प्राविधिक सहयोग र धान स्याहार्ने बेला पानीबाट बचाउन धान सुक्खा बनाउने ड्राइ मेसिन, त्रिपालजस्ता वस्तुमा अनुदान दिनसके चैते धानतर्फ किसान प्रोत्साहित हुन सक्ने उल्लेख गरे । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि तीनवर्षे खेती गर्न किसानलाई सहज हुँदै आएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई ‘बोरिङ’ वितरण गरेको पाठकले बताए । रासस
काठमाडौं, २९ पुस । निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।
जिल्ला सुरक्षा समिति बाँकेको सोमबारको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र क्रियाकलापबारे उहाँले जानकारी लिनुभएको हो ।
सोही अवसरमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, जारी निर्देशन र व्यवस्थापनबारे जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो ।
बैठकमा अहिलेसम्म निर्वाचनको सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा विस्तृत छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । उहाँका अनुसार बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरेको छ ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण र विश्वासिलो बनाउन आयोग, जिल्ला प्रशासन र सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा बैठकमा जोड दिइएको छ । सुरक्षा व्यवस्था प्रभावकारी भए मात्र मतदाता बिना डरढुक्क मतदान प्रक्रियामा सहभागी हुन सक्ने भएकाले सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
बाँकेका किसान वीरेन्द्र मुराउले चार बिघामा व्यावसायिक टमाटरखेती
सात लाख लगानी, दुई महिनामै ऋण तिरे
यस वर्ष ६०–७० लाखसम्म कारोबार हुने अनुमान
तीन पुस्तादेखि टमाटरखेती गर्दै आएको परिवार
आधुनिक प्रविधिले लागत घट्यो, उत्पादन बढ्यो
खेतीबाट १०–२० जनासम्मलाई रोजगारी
विदेशभन्दा स्वदेशमै कृषि बढी फाइदाजनक भएको उदाहरण
आगामी वर्ष १० बिघामा विस्तार गर्ने लक्ष्य
बाँके, पुस २९ । ‘मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,’ बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्नुहुन्छ, ‘तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।’
वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ ।
वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गर्नुभएको छ । उहाँका अनुसार यसका लागि प्रारम्भिक लगानी झन्डै सात लाख रुपैयाँ पुगेको छ । ‘बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ ।’
मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न शुरु गर्नुभएका वीरेन्द्रले अहिलेसम्म झन्डै एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । ‘अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,’ उहाँले भन्नुभयो, ‘सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।’
यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेकाले किसानलाई ठूलो राहत पुगेको छ । ‘भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,’ वीरेन्द्रले भन्नुभयो । उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ ।
वीरेन्द्रका अनुसार टमाटरखेती कुनै नयाँ पेसा होइन । ‘०३६ सालदेखि बुबाले टमाटरखेती गर्दै आउनुभएको थियो । बुबाले परम्परागत तरिकाले टमाटरखेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,’ उहाँले भन्नुभयो, ‘अब समय परम्परा खेती गर्ने समय रहेन । त्यसैले मेले यो खेती गर्न शुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु ।’
बुबाको उमेर ढल्किएपछि विगत तीन वर्षदेखि वीरेन्द्रले खेतीलाई पूर्ण रूपमा सम्हाल्दै आउनुभएको छ । ‘मैले आधुनिक प्रणाली अपनाएँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि उत्पादन पनि बढ्यो, लागत घट्यो र आम्दानी उल्लेख्य भयो ।’
गएको वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर टमाटरखेती गर्नुभएको थियो । ‘भदौमा लिएको ऋण दुई महिनामै तिरेँ,’ उहाँले भन्नुभयो । टमाटरखेतीबाट भएको नाफाले उहाँले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गर्नुभएको छ । ‘पहिले भाडाको साधन खोज्नुपर्थ्यो, अहिले आफ्नै साधन छ । मैले टमाटर ओसारपसार गरेर बिक्रीका लागि एउटा अटो किनेको छु,’ उहाँको भनाइ छ ।
टमाटरखेतीले केवल परिवारको आम्दानी बढाएको छैन, स्थानीय रोजगारी पनि सिर्जना गरेको छ । ‘यो खेतीमा १० देखि २० जनासम्म मजदुर चाहिन्छ,’ वीरेन्द्रले भन्नुभयो, ‘दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई फाइदा पुगेको छ ।’ सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको उहाँको भनाइ छ ।
‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले मेरो खेतीको निरीक्षण गरेको थियो,’ उहाँले भन्नुभयो । मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उहाँको बुझाइ छ । वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ । ‘अनुदान दुरुपयोग होइन, उत्पादन बढाउनेतर्फ प्रयोग गर्नुपर्छ,’ उहाँको सुझाव छ ।
आफ्ना छोराहरु विदेश गएको सन्दर्भमा उहाँ भावुक हुँदै भन्नुहुन्छ, ‘नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरु गए । तर किन सकिँदैन शुरु गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ ।’
आगामी वर्ष वीरेन्द्रले टमाटरखेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पुर्याउने लक्ष्य लिनुभएको छ । ‘दश बिघा खेती गर्दा दैनिक झन्डै २० जनालाई रोजगारी दिन सकिन्छ,’ उहाँले भन्नुभयो ।
शुरुमा ऋण माग्दा नपत्याउनेहरुले हिजोआज आफूलाई ऋण दिन नहिच्किचाउने बताउनुभयो । विदेशी रोजगारसँग तुलना गर्दै उहाँ भन्नुहुन्छ, ‘विदेशमा चार लाख कमाउन एक वर्ष लाग्छ, तर टमाटरखेतीबाट मैले १० दिनमै पाँचदेखि छ लाख रुपैयाँ कमाएको छु ।’
उहाँका अनुसार सरकारले आधुनिक खेती कार्यक्रम ल्याएपछि भारतबाट आयात हुने तरकारी घट्दै गएको छ । ‘टमाटरखेतीबाटै हाम्रो १०–१५ जनाको संयुक्त परिवार चलेको छ,’ वीरेन्द्रले भन्नुभयो ।
तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको मात्र होइन, देशभरका किसान र युवाका लागि आर्थिक आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ । मेहनत, योजना र सही लगानी भए खेतबारीमै भविष्य सुरक्षित गर्न सकिने सन्देश वीरेन्द्रको सफलताले दिएको छ । रासस
बाँकेमा असन्तुलित रासायनिक मल प्रयोगले माटोको उर्वराशक्ति घट्दै।
माटोमा क्षारीयपन बढी, नाइट्रोजन, फस्फोरस, पोटास कम।
अत्यधिक रासायनिक मल प्रयोगले उत्पादन घट्ने र माटो सन्तुलन बिग्रिने।
प्राङ्गारिक पदार्थ र मलको सन्तुलित मात्रा प्रयोग गर्न परीक्षण रिपोर्टको आधारमा निर्देशन।
पराल जलाउने र रोटाभेटर प्रयोगले माटो बिग्रने जोखिम।
माटो सुधार नगरे आगामी पुस्ताले जैविक उत्पादन अनुभव गर्न नपाउने।
किसानमा सचेतना र माटो परीक्षणमा सहभागीता कम।
बाँके, २० मंसिर । रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए।
निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले माटोमा क्षारीयपन बढी रहेको पाइएकाले माटोको उर्भरशक्ति कमजोर बन्दै गएको उनको भनाइ छ। माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत कम देखिएको जनाउँदै उनले यसले उत्पादनमा ह्रास आउने उल्लेख गरे।
“युरिया, डिएपीलगायत रासायनिक मलको अत्यधिक प्रयोग गरिएको पाएका छौँ। रासायनिक मल मनपरी ढङ्गले प्रयोग गरिँदा माटोमा रहने विभिन्न तत्वमा गम्भीर असर परेको छ”, उनले भने, “प्राङ्गारिक पदार्थ तथा मलको मात्रा नबढाउँदासम्म माटो सुध्रिँदैन, माटोको परीक्षण गरेर रिपोर्टका आधारमा सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्नुपर्छ।”
प्राङ्गारिक मलको विकल्पमा किसानले रासायनिक मलको प्रयोग गर्दा उत्पादन घट्नुका साथै माटोको सन्तुलनमा नकारात्मक असर पर्दै गएको प्रयोगशालाका प्रमुख आशीष पाठकले बताए।
खेतबारीमा पराल जलाउने, रोटाभेटरको प्रयोग गर्ने, प्राङ्गारिक मलको प्रयोग नगरी रासायनिक मल असन्तुलित रूपमा प्रयोग गर्नाले माटोको अवस्था बिग्रिँदै गएर उत्पादकत्व कम हुँदै गएको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा विनोद घिमिरेले माटोको अवस्था सुधार नगरे आगामी पुस्ताले प्राङ्गारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढ्दै गएको बताए। जिल्लामा माटो परीक्षण निःशुल्क शिविर सञ्चालन गरी गरिएको भए पनि किसानमा उत्साह नदेखिएकाले सचेतना जगाउन आवश्यक रहेकामा उनले जोड दिए।
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञवालीले बिग्रेको माटोमा रासायनिक मल हालेर मात्रै उत्पादन शक्ति नबढ्ने भएकाले प्राङ्गारिक पदार्थको मात्रा बढाउन जरुरी रहेको बताए।
उनका अनुसार यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाइएको छ। यस्तो अवस्थामा अनावश्यक रूपमा रासायनिक मल खेतमा प्रयोग गरिँदा माटोमा रहेका ती तत्वको सन्तुलन बिग्रिएर उत्पादकत्व क्षमता कमजोर हुँदै जाने उनले उल्लेख गरे। रासस
बाँके, १५ मंसिर । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीको लापर्बाहीले सडक निर्माणको काम हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न नभएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र गाउँपालिकाको मागका आधारमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता रद्ध गरी उक्त सडक निर्माणका लागि नयाँ ठेक्का आह्वन गरेको छ ।
पुरानो निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्ने देखिएपछि ठेक्का सम्झौता रद्ध गरेर नयाँ प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इञ्जीनीयर लीलाबहादुर भण्डारीले बताए ।
सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाउने चासो लिएको उनको भनाइ छ । उनका अनुसार, खजुरा खण्डमा बाँकी रहेको सडक निर्माणका लागि करिब १० करोडको लागत लाग्ने अनुमानसहित ठेक्का आह्वान गरिएको छ । नेपालगञ्ज–गुलरिया सडक विस्तार र खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण प्रक्रिया अघि बढेसँगै अलपत्र सडक निर्माणमा हुलाकी सडक आयोजनाले विशेष चासो देखाएको हो ।
बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा अधुरो रहेको दुई हजार २०० मिटर सडक गरी दुवै सडक नयाँ प्रक्रियाबाट छ महिनाभित्र काम सम्पन्न गर्नेगरी लागिपरेको उनको भनाइ छ ।
हुलाकी राजमार्गले नेपालगञ्ज–गुलरिया चार लेन सडकको काम गरिरहेकाले त्यसको बीचमा अलपत्र परेको खजुरा सडक पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । नयाँ ठेक्का सम्झौताअनुसार सडकको बाँकी काम आगामी असार १५ गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ । यससँगै अब खजुरा बजारका स्थानीय बासिन्दाको लामो समयदेखिको अधुरो सडक निर्माण हुने अपेक्षा बढेको खजुरा गाउँपालिकाका अध्यक्ष विकले बताए । रासस
बाँके, २३ कार्तिक । नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना अगाडि नै निर्माण सम्पन्न भएको छ।
२०७९ पुसमा काम सुरु गरेको निर्माण कम्पनीले २०८२ पुससम्म सम्पन्न गर्ने सम्झौता पाएको भए पनि दुई महिना अघि नै काम पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए।
उनका अनुसार अब केही दिनभित्र निर्माण पक्षबाट औपचारिक हस्तान्तरण हुनेछ र त्यसपछि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीले स्थलगत अनुगमन गर्नेछ। अनुगमनपछि पुरानो भवनका एक्सरे मेसिनलगायत उपकरणहरू नयाँमा सारेर १५ दिनभित्र सेवा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
थापाका अनुसार, उक्त भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ, जसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका लागि सुविधा प्रदान गर्नेछ। नवनिर्मित भवनको कुल लागत रु. २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ (भ्याट बाहेक) रहेको छ। भवन सेमी बेसमेन्टसहित तीन तल्ले छ, जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको हो। यहाँ २४ वटा पसल सञ्चालनमा आउनेछन्।
५,०७५ वर्ग मिटर क्षेत्रफल ओगटेको भवनभित्र १४ वटा यात्रु जाँच कक्ष, ३ भिआइपी कोठा, १ बालखेल क्षेत्र, साथै भन्सार र क्वारेन्टाइनका लागि छुट्टाछुट्टै कोठा छन्। भविष्यमा अन्तर्राष्ट्रिय उडानको सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तर्राष्ट्रिय यात्रुका लागि अलग-अलग प्रस्थान र आगमन ढोका तयार गरिएको छ। भवनले प्रति घण्टा ६२८ यात्रु सम्हाल्न सक्ने क्षमता राख्दछ।
भवन परिसरमा बगैँचा, ५ देखि १४ मिटर फराकिलो सडक, तथा ढल र पानी निकास प्रणाली समेत विकास गरिएको छ। साथै, एटिआर–७२ का ३ र ट्विनअटरका ५ जहाज एकैपटक पार्किङ गर्न मिल्ने एप्रोन पनि तयार गरिएको छ।