काठमाण्डौ, ४ भाद्र । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा पालिकालाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सि भदौ ६ गते आर्थिक वर्ष २०८०र८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अर्थात् ९लिसा० मा उत्कृष्ट नतिजा ल्याएका पालिका तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।
मन्त्रालयले तीन नगरपालिका चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र धादिङको नीलकण्ठ तथा तीन वटा गाउँपालिका स्याङ्जाको अर्जुनचौपारी, धादिङको बेनीघाट रोराङ र गुल्मीको रुरु क्षेत्र गाउँपालिकालाई सम्मान गर्ने भएको हो ।
राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ । रासस
मुख्य बुँदा
गौतमबुद्ध रङ्गशालाको काममा ढिलाइ, १० करोडभन्दा बढी रकम सरकारले फिर्ता लियो।
निर्माण कम्पनीको न्यून प्रगति, भरतपुर क्रिकेट रङ्गशालाको बजेट फ्रिज र फिर्ता।
संघ र प्रदेश सरकारबाट निकासा भएको करोडौं खर्च नहुँदा रकम पुनः सरकारी खातामा फिर्ता।
४० प्रतिशत प्रगति लक्ष्यमध्ये मात्र २.४९ प्रतिशत काम, निर्माण कम्पनीको लापरबाही उजागर।
चितवन, १२ साउन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ ।
भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गएको आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।
महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकामा १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी सात करोड ३४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।
यस्तै बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये छ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा तीन करोड २० लाख फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ ।
सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि पाँच करोड रुपौयँ विनियोजन गरेको थियो । यो रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिनुभयो ।
हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले २०८१ सालको असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ सालको पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । रासस
काठमाडौं, २७ जेठ। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापाका विरुद्ध सुरु भएको विरोध प्रदर्शन तीव्र रुपमा उग्र बन्दै गएको छ। अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूको खोजी र पक्राउको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा आप्रवासी र प्रहरीबीच कतिपय स्थानमा झडप हुँदा आगजनी र तोडफोड जस्ता घटनाहरू भएका छन्।
प्रहरीले विरोधकारी नियन्त्रणका लागि गैरघातक गोली चलाउँदा एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएका छन्। त्यस्तै, करिब ६० जना आन्दोलनकारीहरू पनि प्रहरीको नियन्त्रण प्रयासमा चोटपटक लागेका छन्। यस्ता झडपले तनावपूर्ण स्थिति सिर्जना गरेको छ।
यसैबीच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले प्रदर्शन नियन्त्रण र सुरक्षा कायम राख्नका लागि ७ सय जल सैनिक परिचालन गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा झण्डै २ हजार सुरक्षा गार्डका सैनिकलाई तैनाथ गरेर सुरक्षा व्यवस्था कडा बनाएको छ।
तर, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले संघीय प्रशासनद्वारा बिना अनुमति नेशनल गार्ड तैनाथ गरिएर असंवैधानिक कदम चालिएको आरोप लगाउँदै यसको विरोधमा अदालतमा मुद्दा दायर गरेका छन्। गभर्नर न्युसमले राष्ट्रपति ट्रम्पलाई स्थिति बिगार्ने काम गरेको आरोप समेत लगाएका छन्।
डेमोक्र्याटिक पार्टीका अन्य गभर्नरहरू पनि गभर्नर न्युसमसँग एकमत भएका छन् र सैन्य हस्तक्षेपका कदमविरुद्ध खुला रूपमा विरोध जनाएका छन्। उनीहरूका अनुसार संघीय सरकारले क्यालिफोर्नियाको अधिकार उल्लंघन गरेको छ र यसले संघीय र राज्य सरकारबीच तनाव बढाएको छ।
अमेरिकाको यो विवादले आप्रवासी नीति र संघीय-राज्य सरकारबीचको सम्बन्धमा नयाँ बहस र द्वन्द्वको संकेत गरेको छ। यद्यपि, आगामी दिनहरूमा स्थिति कस्तो बन्दै जानेछ भन्ने विषयमा सबैको नजर छ।
अहिले लस एन्जलस र वरपरका क्षेत्रमा सुरक्षा कडा गरिएको छ भने प्रदर्शनकारीहरू पनि अझै सक्रिय छन्। आगामी दिनमा आन्दोलन कति लामो समयसम्म र कस्तो रूप लिन्छ, त्यो हेर्न बाँकी छ।