भक्तपुर, १९ साउन। चाँगुनारायण नगरपालिका–९ ताथलीमा सम्पन्न “जनप्रतिनिधिसँग युवा” अन्तरक्रिया कार्यक्रम केवल औपचारिक भेटघाट थिएन, यो युवाहरूको सामूहिक चेतनाको विस्फोट थियो। कार्यक्रममा ताथलीका युवाहरूले भ्रष्टाचार, अकर्मण्यता, र प्रशासनिक अन्याय विरुद्ध तीव्र स्वरमा प्रतिवाद गरे र परिवर्तनको उद्घोष गरे: “अब चुप बस्दैनौं।”
वडा अध्यक्ष गणेश त्यातले स्पष्ट शब्दमा नगर कार्यपालिका र कर्मचारीतन्त्रको अकर्मण्यता औँल्याउँदै भने, “भ्रष्टाचार संस्थागत रूप लिइसकेको छ। कार्यपालिका बैठकमै विरोध गर्छु, तर सुन्ने कोही छैन।”
उनले युवाहरुलाई खबरदारीको मोर्चा सम्हाल्न आह्वान गरे। राजाराम छुकांले आत्मालोचनासहित युवा नेतृत्व र सामाजिक उत्तरदायित्वबारे धारणा राखे: “हामीभित्रै कमजोरी छन्, सुधारको सुरुवात हामीबाटै हुनुपर्छ।”
कार्यक्रममा सहभागी युवाहरू—रमेश मचामसी, सुरेशराज गिरी, प्रवीण छुकां, सोनम मचामसी, सत्यराम थुयाजु लगायतले ढल निकास, सडक, बत्ती, सांस्कृतिक सम्पदा संरक्षण, युवा उद्यमशीलता र पर्यटन प्रवर्द्धनबारे तीखा प्रश्नहरू उठाए। वडा सदस्य रविन बासुकलाले भने, “नीति होइन, सत्ताको मर्जीले निर्णय हुने अवस्था चिन्ताजनक छ। मैले पेश गरेको संशोधन प्रस्तावसमेत बेवास्ता गरिन्छ।”
कार्यक्रमको सञ्चालन हरिसुन्दर छुकां, स्वागत रामचन्द्र छुकां, र सभापतित्व उत्तम साखकर्मीले गरेका थिए। नेतृत्वमा युवाहरूको सक्रिय उपस्थितिले यो संकेत गर्यो अब युवा केवल प्रश्नकर्ता मात्र होइनन्, समाधान खोज्ने शक्ति पनि हुन्। ताथलीमा भएको यो संवाद स्थानीय सीमाभित्र सीमित छैन, यसले राष्ट्रव्यापी सन्देश दिएको छ ।
नेपाल क्रान्तिकारी युवा संघ, ताथलीद्वारा आयोजित कार्यक्रममा वक्ताहरू नेमकिपा ताथली अध्यक्ष राजाराम छुकां, वडा अध्यक्ष गणेश त्यात, वडा सदस्य रविन बासुकला र युवा संघ चाँगुनारायण अध्यक्ष एलएन लिगल लगायतले स्थानीय तहमा मौलाउँदै गएको भ्रष्टाचार विरुद्ध सशक्त बहस गरे।
