भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुन्तला बोटबाटै झर्न थालेपछि किसान चिन्तित

सुन्तला बोटबाटै झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्। सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पँहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ।

बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका(४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए। कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ। ‘बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन्’, बेनी(४ वडासदस्य समेत रहेका खत्रीले भने, ‘बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ।’

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमुना संकलन गरेर परीक्षणका लागि लगेका छन्।

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए। ‘दानाभित्र किरा परेर सुन्तला झरेको छ’, उनले भने, ‘सूर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हौँ। प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ।’

बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन्। प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन्। सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप ९पासो० थाप्न र धुवाँ बनाउन प्राविधिकले सुझाएका छन्।

२०० बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताए। बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन्। गत वर्ष यहाँबाट ७५ लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो।

धादिङबाट आएका व्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन्। व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताउनुभयो। जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनले बताए।

केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा २१ करोड मूल्य बराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लामा ८१० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा ४२० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिन्छ। यो वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामिछानेले बताए। रासस

 


Thali Mobile Pvt.Ltd.