भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिका पठाउने भन्दै ठगी गर्ने भारतीय मानव तस्करलाई प्रहरीले गर्‍यो सार्वजनिक

अमेरिका पठाउने भन्दै ठगी गर्ने भारतीय मानव तस्करलाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले ९ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा चरण जित सिंह, अशोक कुमार, मनिष कुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया, अब्दुल रहिम, इन्दुसिंह यादव र नेपाली नागरिक रामचन्द्र शर्मा छन्। उनीहरुले काठमाडौंको रातोपुलमा ११ जना भारतीय नागरिकलाई बन्धक बनाएर राखेका थिए।

प्रहरीले बन्धक बनाएर राखेकाहरुको उद्धार गर्दै ८ जनालाई पक्राउ गरेको थियो। यसमा पीडित र पीडक दुवै भारतीय नागरिक हुन् । काठमाडौंको रातो पुलस्थित एक घरमा उनीहरुलाई अमेरिका पठाउने भन्दै ल्याएर बन्धक बनाएर राखिएको थियो। कोही आएर सोधिहालेमा सिरक डस्ना बनाउने मान्छे हो हामी भनेर जवाफ दिन भन्दै भारतीय मानव तस्करहरुले उनीहरुलाई सिकाएका थिए।

पीडितहरुले बताए अनुसार भारतीय मानव तस्करको गिरोहले भनेको नमाने पाइपले पिट्दै यातना दिन्थे । यो विषय बाहिर लगे जे पनि हुनसक्ने भन्दै धम्की समेत दिने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

प्रहरीका अनुसार उक्त गिरोहले अमेरिका पठाउने भन्दै उनीहरुसँग ४० देखि ४५ लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरेका थिए । उनीहरुलाई करिब एक महिनादेखि बन्धक बनाएर राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.