भर्खरै : Sorry, your browser does not support inline SVG.

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, १९ भदौ । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ । राति पनि देशभर साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको विभागले जनाएको छ । वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.