काठमाडौं, १९ भदौ । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।
त्यस्तै वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ । राति पनि देशभर साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको विभागले जनाएको छ । वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।
