काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
खोज तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट एक जनालाई जीवितै बाहिर निकालिएको हो । उद्धारमा संलग्न इन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान सुरुङभित्रबाट मानिसको आवाज आएको संकेत पाएपछि खोजी तथा उद्धारको काम तीव्र पारिएको थियो ।
नेपाली सेनालाई उद्धृत गर्दै न्यौपानेले सुरुङभित्र मानिस रहेको संकेत प्राप्त भएपछि उद्धार टोलीले खोजी अघि बढाएको बताएका छन् । बाढीका कारण आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेको आशङ्कामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको छ ।
१० दिनसम्म सुरुङभित्र फसेका व्यक्तिको जीवितै उद्धार भएपछि अन्य व्यक्तिको समेत उद्धार हुने आशा बढेको छ । उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्थाबारे खोजी जारी राखेको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सुरुङ, जलविद्युत् आयोजना तथा अन्य प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।
