काठमाण्डौ । बर्सेनि नेपालमा शंकास्पद कारोबार बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको एक प्रतिवेदनले देखाएको हो । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ र ८० मा गएको आर्थिक वर्षमा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको छ ।
संस्थाहरूलाई कुनै पनि कारोबार शंकास्पद लागेमा त्यसको जानकारी तीन दिनभित्र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई गराउनुपर्ने व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण ऐनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८ र ७९ मा शंकास्पद कारोबारको सङ्ख्या २ हजार ७ सय ८० मात्र थियो । अघिल्लो आर्थिक वर्ष २०७८ र ७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरैले बढेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार वाणिज्य बैंकहरुले ५ हजार १ सय ८७ कारोबार शंकास्पद रहेको जानकारी गराएका छन् । विकास बैंकहरुले २ सय ५७ वटा, फाइनान्स कम्पनीले ४४ वटा, लघुवित्तले २८ वटा, रेमिट्यान्स कम्पनीले १ सय ४६ वटा, सहकारीले एउटा र सेक्युरिटिज कम्पनीले ४६ वटा शंकास्पद कारोबारको जानकारी दिएका हुन् ।
