काठमाण्डौ । गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् । काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेपछि व्यवसायीहरुले सटर बन्द गर्ने चेतावनी दिएका हुन ।
व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको व्यवसायीले आरोप लगाएका छन् । विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ,२३ र २४ का व्यवसायीहरूले हिजैदेखि शटर बन्द गरेर आन्दोलन थालेका हुन् । उनीहरुले सबै शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने तयारी गरेका छन् ।
काठमाण्डौ टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय वडा दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ । व्यवसायीहरूले भने यो पार्किङ क्षेत्र उपयुक्त नभएको बताएका छन् ।
महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।
