कास्की, ४ मंसिर । पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।
एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो । जिल्लामै पहिलोपटक स्थापना गरिएको यस केन्द्रले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले संयुक्त रूपमा एक करोड ५० लाख रुपैयाँ लगानी गरेर स्कुल स्थापना गरेका हुन् । प्रशिक्षण केन्द्रका लागि थप काम बाँकी रहेकाले लगानी अझै बढ्न सक्ने सञ्चालकले बताएका छन् ।
स्कुलका सञ्चालक विजय गौतमका अनुसार मैँचेडाँडाबाट उडान भरेर मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिएको छ ।यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका साथै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्ताम र पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
गौतमले हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्रशिक्षण केन्द्रका रूपमा छनोट गरिएको बताउनुभयो । यसले दक्ष प्यारापाइलट उत्पादन गर्नुका साथै आगामी दिनमा व्यावसायिक उडान विस्तारको सम्भावना पनि खोल्ने उहाँको भनाइ छ । प्रशिक्षण केन्द्रमा प्रारम्भिक १५ दिने तालिमदेखि मध्यम तह, लामो दूरीको उडान तथा दुई जनाले एकसाथ उडान गर्ने टी–वान र टी–टु तहसम्मका तालिम सञ्चालन गरिनेछ । एक पटकमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको सञ्चालक गौतमले जानकारी दिनुभयो ।
नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । चार सय जनाले प्यारापाइलटको अनुमतिपत्र लिएकामा दुई सय ५० जना विभिन्न कम्पनीमा कार्यरत छन् । पोखराको प्याराग्लाइडिङ हाल सराङकोटबाट सञ्चालन हुँदै आएको छ ।
भण्डारीले पोखरामा दक्ष प्यारापाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण केन्द्र स्थापना हुनु साहसिक पर्यटनको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । दक्ष जनशक्ति उत्पादनले प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन सहयोग पुग्ने र विदेशी पर्यटकसमेत प्रशिक्षणका लागि आउन सक्ने उहाँको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको आकर्षक गन्तव्यका रूपमा विकास हुन सक्ने बताउनुभयो । यसबाट पोखराको पर्यटन र समृद्धिमा प्याराग्लाइडिङले पुर्याउँदै आएको योगदान माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उहाँको विश्वास छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउने बताउनुभयो । विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उहाँले क्षेत्रको विकासमा गाउँपालिकाले ध्यान दिने बताउनुभयो ।
गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण गरिएको उल्लेख गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले गाउँपालिकामा पदयात्रा र साहसिक पर्यटनको सम्भावना भए पनि विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताउनुभयो । स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटक आगमन, रोजगारी र उद्यमशीलताका अवसर बढाउने विश्वास व्यक्त गर्नुभयो ।
यसले गाउँ छाडेर बाहिरिएका स्थानीयलाई आफ्नै ठाउँमा फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सक्ने उहाँको भनाइ छ ।रिभानस्थित मैँचेडाँडा पुग्न पोखराबाट जीपमा करिब एक घण्टा यात्रा गर्नुपर्छ । लाहाचोकको पातीखोलाबाट डाँडातर्फ उकालो चढेपछि प्याराग्लाइडिङस्थल पुग्न सकिन्छ ।
