मोरङ । उर्लाबारीस्थित एक सुन पसलमा लागेको आगो निभाउने क्रममा २८ जना घाइते भएका छन् । लक्ष्मीपूजाको दिन घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ भने निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएको प्रहरीले बताएको छ ।
मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा ६० लाख बढीको क्षति भएको छ ।बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ सर्वसाधारण घाइते भएका हुन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान रहेका छन् ।
घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ । बाटोमा हिँडिरहेकाहरु समेत घाइते भएको मोरङका डिएसपी रञ्जन दाहालले बताए । आगो लागेपछि ग्यास सिलिण्डर विष्फोट भएको थियो ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगो निभाइएको थियो ।
यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ ।
आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले नियन्त्रण लिएका थिए ।
