काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई निर्वाचन आयोगले अनुमति प्रदान गरेको छ । निर्देशिकाको दफा १० को उपदफा १० बमोजिम निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा २० बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेकाले पर्यवेक्षण गर्न अनुमति दिएको निर्वाचन आयोगले जनाएको छ ।
संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने आयोगले उल्लेख गरेको छ । आगामी वैशाख १० गते आइतबार बारा–२, तनहुँ–१ र चितवन–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।
