काठमाण्डौ । राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । बुधबार भएको चुनावमा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भए । नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् ।
एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाउन सफल भएको छ, बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन ।
आउँदो फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती पदका लागि चुनाव भएको हो ।
राष्ट्रिय सभामा २४ सिटमध्ये ७ सिट गुमाएको एमालेको अब १७ सिट भएको छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको १५ सिट पुगेको छ तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८, जसपाको ३ सिट र राजमोको १ सिट भएको छ ।
