भर्खरै : Sorry, your browser does not support inline SVG.

गर्मीमा जाने होइन् त जलविरे झरना ?

गर्मीमा जाने होइन् त जलविरे झरना ?

काठमाडौं । गर्मी मौसम सुरु भए संगै आन्तरिक पर्यटकहरु नजिकैका नयाँ तथा पुराना जल पर्यटनसंग सम्बन्धित गन्तब्यहरु तिर रमाइरहेका छन् । जल पर्यटन जलवायुको अधिकतम उपयोग गर्ने पर्यटकीय गतिविधिहरू मध्ये एक हो । यसमा जलस्रोतसंग सम्बन्धित ताल, नदी र झरना पर्दछन् ।

गर्मीको आगमनसंगै जल पर्यटन आन्तरिक तथा विदेशी पर्यटकबीच धेरै लोकप्रिय हुन्छ । नेपालका अधिकांस ठाउँहरुमा जलआधारित विभिन्न पर्यटकीय गतिविधि सञ्चालनमा रहेका छन् । यसले स्थानीय जनताको लागि आर्थिक र सामाजिक लाभहरू पनि प्रदान गरिरहेको छ ।

यस्तै बागमती प्रदेशको चितवन जिल्लामा पनि अहिले जल पर्यटनमा रमाउनेहरुको घुुइचो लाग्ने गरेको छ । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको हो ।

जलविरे झरना पर्यटन विकास समितिका अनुसार दैनिक दुुई तीन सय आन्तरिक पर्यटकहरु आउने गरेका छन् । मुुख्यतया गर्मीयाम बढेसंग यहाँ पर्यटकको संख्यामा बृद्धि भएको समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । जलविरे झरनामा पर्यटकीय पूर्वाधार निर्माणको सुरूवातसँगै पर्यटक आउनेक्रम बढ्दो छ । शनिबार र बिदाको दिनमा समूह–समूहमा सयौँ पर्यटक झरनामा पुग्ने गरेका छन् । उनले नयाँ वर्ष २०८० बैशाख १ गते मात्रै एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क रहेको बताए । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने यहाँ नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यहाँ केन्द्र, प्रदेश र स्थानीय सरकारले पर्यटन विकासका लागि विभिन्न योजनाहरु बनाएर भौतिक पूर्वाधारहरु निर्माण गरिएका छन् । पर्यटकलाई झरनासम्म पुग्न सडक ढलान तथा कालोपत्रे गरिएको छ भने पार्किङस्थलबाट झरना जान सिँढी, रेलिङ बनाइएको छ । यहाँ गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचनाहरु पनि निर्माण भइसकेका छन् ।

स्थानीय सरकारले पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाइरहेको छ । यो झरना पालिकाको आन्तरिक आयतर्फ सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा रहेको छ ।
यहाँ चितवन, धादिङ, नवलपरासी, काठमाडौँ, नुवाकोट, गोरखा, तनहुँ, कास्कीलगायतका अन्य जिल्लाबाट पनि आन्तरिक पर्यटकहरु आउँन गर्दछन् । त्यसैगरी छिमेकी देश भारतबाटसमेत झरनाको मनमोहक दृश्यले हेर्न आउने पर्यटन विकास समितिको अभिलेखमा रहेको छ ।

झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकले रु ५० रुपैयाँ र विदेशी पर्यटकले रु १०० गाउँपालिकालाई शुल्क तिर्नु पर्दछ । अग्लो ठाउँबाट खसेको पानीको स–साना कणहरुको शीतल स्पर्स सहरबजारको चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्ने सारथीको रुपमा विकास भएको छ ।

कसरी पुग्न सकिन्छ जलविरे झरना ?
लामो झरना(१०२ मि.) अर्थात जलविरे झरना स्थल नारायणगढ–मुग्लिन सडकखण्डको जलविरे नारायणगढदेखि २७ किलोमिटर मुग्लिनतर्फ र मुग्लिनदेखि ८ किलोमिटर नारायणगढतर्फ रहेको छ ।
सडकबाट एक किलोमिटर माथि मोटरबाटो भएर पुग्न सकिन्छ । नारायणगढ–मुग्लिन सडकको जलविरे मन्दिरबाट एक किलोमिटर पैदल हिँडेर झरनासम्म पुग्न सकिन्छ ।


 


Thali Mobile Pvt.Ltd.