काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म संसदमा छलफल हुने भएको छ । शुक्रबार शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको हो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सम्मिलित हुने संयुक्त समिति गठनका लागि राष्ट्रिय सभाबाट अनिता देवकोटा, गंगाकुमारी बेल्बासे र भैरवबहादुर श्रेष्ठको नाम अनुमोदन भएर प्रतिनिधि सभामा आएको सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलका लागि धन्यवादको प्रस्ताव समेत पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसदहरूले अग्रिम सूचना दिनुपर्नेछ । साथै त्यसमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले सूचना आइतबार बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा सूचना दिन सक्ने सभामुख घिमिरेले जानकारी दिए ।
