खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । किसानलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।
किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिइएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो । संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैँसी किन्न किसानलाई नै एकरएक लाख रुपैयाँका दरले नगद उपलब्ध गराइएको हो ।
नगरपालिकाको ससर्त अनुदानअन्तर्गत ७५ लाख रुपैयाँको बजेट ४४ जना किसानलाई भैँसी किन्न एकरएक लाख रुपैयाँ र भैँसीलाई गोठ बनाउन प्रतिकिसान २०र२० हजार रुपैयाँ प्रदान गरिएको छ । ससर्त बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरका ४४ वटा मिल्क क्यान ९दूध लगाउने भाडा० खरिद गरिएको छ ।
किसानलाई वितरण गर्नकै लागि १३ वटा च्याप कटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न चार लाख रुपैयाँ बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ । किसानले उत्पादन गरेको दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घर भाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाएको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातका पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
त्यही ७५ लाख रुपैयाँ बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा ट्याङ्की ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकताअनुसार किसानलाई ट्याङ्की वितरण गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएका परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएको कृषकलाई बोयर जातका बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मीटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँच बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ।
रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरका मेयर विमला राईले बताउनुभयो । ुरोजगारीको खोजीमा युवा पुस्ता दिनानुदिन विदेशिनेक्रम बढ्दो छ, युवा जमातलाई राख्न नगरपालिकाका तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छु उहाँले भन्नुभयो, ूहाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ, हलेसी आउने पर्यटकका लागिसमेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।
नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिकरुपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् । यो नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निक्कै महत्त्वका साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भिड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ।
दूध र मासुमा आत्मनिर्भर बनाउन नगरपालिकाले आव २०८०र८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरुको आम्दानीको स्रोत बढाउन नगरपालिकाले आउँदो आवका लागि करिब तीन करोड रुपैयाँ बराबरको बजेटसमेत विनियोजन गरेको छ ।
