धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै धनुषाका निजी विद्यालय आइतबार बन्द गरिने भएका छन् । धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको संस्थागत विद्यालय संरक्षण समितिले जनाएको छ।
बम विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने समितिका संयोजक चन्द्रनारायण मण्डलले बताए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा शनिबार बिहान अज्ञात समूहले बम विस्फोट गराएको थियो ।
विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो । घटना कसले घटाएको हो भन्ने नखुल्द्र प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ।