काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र मोटो रकम हसुर्ने काण्डमा उच्चपदस्थ अधिकारी र पूर्वमन्त्री र उनका परिवासका सदस्य समेत सक्रिय रहेको तथ्य फेला परेको छ । सत्ता र शक्तिको उपयोग गरेर पैसा कमाउन पल्केकाहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
अख्तियार देखि गृहसम्म कसरी सेटिङ्ग हुदोरहेछ भन्ने तथ्य पनि फेला पार्न प्रहरी लागिपरेको छ । ठगीधन्दा, भ्रष्टाचार, अकुत कमाउधन्दामा लागेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य लहरो तान्दा पहरो थर्किने अवस्थामा पुगेको छ । पूर्वगृहमन्त्रीहरू र गृहसचिवहरूको प्रत्यक्ष संलग्नता रहेको यो घटना गुपचुप पार्ने प्रयास पनि भएको पाइएको छ ।
के भन्छ प्रहरी उच्च स्रोत ?
पक्राउ परेका मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले यो घटना गुपचुप पार्न अनेका अनेक प्रयास र प्रयत्न गरेको पाइएको छ । अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउनसमेत दबाब दिइएको प्रहरी उच्च स्रोतको दाबी छ ।
प्रहरीले नजिकबाट घटना अनुसन्धान गर्ने क्रममा गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लियो । अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन । सन्देश शर्माको बयानपछि प्रहरीले पक्राउ सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पा¥यो ।
उक्त डायरीले संलग्नहरुको विवरण पक्ता लगाउन प्रहरीलाई सहज बनायो । त्यो डायरीमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरण र ठगिएको रकम फेला प¥यो । मोरङका केशव दुलाल र पूर्वगृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाणहरु फेला परे ।
उक्त डायरीमा दाङका सन्देश शर्मा, टोपबहादुर र राईबीचको लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राख्यो । उक्त गिरोहमा पूर्वगृहमन्त्रीहरू, अन्य पूर्वगृहसचिवहरूको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । घटनाको रहस्यलाई हेरेर प्रहरीले अझै ठोस प्रमाण सङ्कलन गरिरहेको जनाएको छ ।
लहरो तान्दा पहरो, किटानी जाहेरीमा ८१ जना
अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार पक्राउ परे । उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै मोटो रकम असुल्नेमा द्वन्द्वको विज्ञ भनेर चिनिने राईलाई पनि छन् भन्ने बुझिएको छ ।
एक ताका उनी संविधानसभा सदस्य थिए । मंगलबार बिहान राईलाई ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा गृहमन्त्रीका सल्लाहकार डा. राईसँगको मिलेमत्तोमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रुपमा थप गरेको भेटिएको छ ।
स्रोतका अनुसार हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताए ।
यो घटनामा बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनको पालामा पनि चलखेल गरेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको प्रहरी उच्च स्रोतको दावी छ ।
इन्द्रजित राई
२०७४ साल फागुन १४ देखि २०७८ साल असार २८ सम्म इन्द्रजित राई रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको अनुसन्धानको प्रतिवेदनका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
गिरोहसँग संलग्न भएको पाइएपछि इन्द्रजित राईलाई पक्राउ गरिएको र उनका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।
प्रहरीलाई एकपछि अर्को सफल्ता
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न भनेर बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । यो पक्राउले प्रहरीलाई एकपछि अर्को सफल्ता हात पर्न थालेको छ ।
पक्राउ पूर्जी जारी गरिएपछि सचिव पाण्डे बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएको प्रहरी प्रमुख एसएसपि दानबहादुर कार्कीले बताए । पूर्व गृहसचिवसमेत रहेका पाण्डे नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा संलग्न रहेको पाइएको छ ।
उनको मिलेमतोमा १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो । ३ दिन थुनामा राखेर गहिरो अनुसन्धान थाल्न प्रहरीलाई काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीको थप अनुसन्धानमा पूर्वमन्त्री र उनका छोरा पनि
प्रकरणमा तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी मुछिएका छन् । उनीहरु दुवै जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ५० लाख देखि करोड रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेपछि रहस्य सतहमा आएको छ ।
गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ।गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको छ । घट्नामा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोराविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।
प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई पनि मुछिएका छन् । यो घट्नामा एकपछि अर्को व्यक्तिको नाम जोडिएपछि लहरो तान्दा पहरो तानिने चर्चा चल्न थालेको छ । उच्च पदस्थ व्यक्तिहरुको संलग्नता देखिएपछि गृह प्रसाशनमाथि नै प्रश्न उठेको छ ।
पक्राउ परेकाको बयान अनुसार उनीहरुले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी गरेको पाइएको छ । सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ साल असार २९ गते पूर्वसहसचिव पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्ने गरेका खुलेको छ ।
झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा अझै ६ हजार ३ सय ६५ भुटानी शरणार्थी बाँकी रहेका छन् भने अरु शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतको मुलुकमा पुनर्वासका भइसकेका छन् ।
