काठमाडौं । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । कुनै समय निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिक जसो आन्तरिक पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । स्थानीयका अनुसार यस दहले पर्यटकलाई आकर्षण गर्न सफल भएको छ ।
वरिपरि घनाजङ्गलले घेरिएको यो दहले पर्यटकहरूको मन जित्दै गएको छ । दहमा विशेषगरी शनिवार र बिदाका दिन पिकनिक खान तथा घुमफिर गर्न जानेहरूको चहलपहल हुन्छ ।
केही वर्षअघि यस दहको बारेमा त्यति सुनिँदैन थियो, न त दह हेर्न लायक नै थियो । स्थानीयवासी कमला पोख्रेलले सानो पोखरीमा मात्रै सीमित ‘चरिङ्गे’ अहिले ठुलो दह बनेको बताएका छन् । उनले भने, “चरिङ्गे दहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयवासीको सोच र प्रयासकै कारण यो पोखरी अहिले दहमा परिणत भएको हो ।”
दह संरक्षण र पर्यटकीय क्षेत्र बनाउन भन्दै स्थानीयवासीले सुरुमा संरक्षण समिति गठन गरे । सोही समितिले दह संरक्षणका लागि विभिन्न निकायसँग आर्थिक सहयोग जुटाउनुका साथै जनश्रमदानका लागि स्थानीयवासीमा उत्प्रेरणा जगाउने काम गरे पनि पछिल्ला वर्षमा स्थानीय सरकारले त्यति चासो नदिँदा पूर्वाधार निर्माणले गति लिन नसकेको स्थानीयवासी थानेश्वर पुनले बताए ।
उनले भने “पर्यटकीय क्षेत्रका रूपमा परिचित यो दह स्थानीयवासीको अथक परिश्रम र मेहनतले यहाँसम्म आएको हो तर स्थानीय सरकारले भने यसलाई त्यति चासो दिएको छैन ।” दह अहिले आन्तरिक पर्यटकका लागि आकर्षण गन्तव्य बन्न पुगेको छ । दह अवलोकन गर्न पुगेका तुलसीपुर निवासी लिला सापकोटाले चारैतिर वनजङ्गल तथा शान्त ठाउँमा रहेको दहको मनोरम दृश्यले सबैलाई लोभ्याउने उल्लेख गरे।
उनले भने, “अष्ट्रेलियामा अध्ययनरत आफ्नी छोरी पाँच वर्षपछि घरमा आएको मौका छोपी सपरिवार यहाँ घुम्न आएका हौँ । दह रमणीय ठाउँमा रहेछ तर पूर्वाधार विकास भने भएको रहेनछ ।”
दहसम्म पुग्ने बाटो पक्की र त्यहाँ नजिकमा चमेना गृह, खानेपानीको उचित प्रबन्ध, दहको वरिपरि पर्खाल र त्यहाँ केही उत्खनन गरेमा पर्यटकलाई सहज हुने र बाह्य पर्यटक पनि तान्न सकिने सापकोटाको भनाइ छ । दह संरक्षण र विकासकै लागि शुल्क लिने गरिएको स्थानीयवासीले बताए । उनीहरूका अनुसार बिच जङ्गलमा गुप्प परेको चरिङ्गे दह अहिले फराकिलो भएको छ । दह वरिपरिको झाडी फालिएको छ ।
त्यसैगरी, पिकनिक स्पट निर्माण गर्नाका साथै दहको उत्तरतर्फ एउटा मन्दिरसमेत निर्माण गरिएको छ । दहको उत्तरीतर्फ रहेको डाँडाबाट दहमा झरेको माटो फालेर चौडा पारिएको छ । उक्त डाँडाबाट खसेको माटोले दहको क्षेत्रफल साँघुरो बनाएकामा स्थानीयवासीले नै श्रमदान गरी केही वर्षअघि माटो फालेपछि अहिले तीन हेक्टर क्षेत्रफलमा दह फैलिएको छ ।
दह संरक्षण समितिका संयोजक कमल पोख्रेलले दह संरक्षणका लागि यहाँका बासिन्दाको धेरै श्रमदान र विभिन्न सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । पछिल्ला वर्षमा भने स्थानीय सरकारले दहको संरक्षणका लागि खासै चासो नदिएको उनको गुनासो छ ।
गत वर्ष जिल्ला वन कार्यालयले उपलब्ध गराएको रु २० लाखले दहको चारैतिरको भागमा पर्खाल लगाइएको थियो । तर, यस वर्ष घोराही उपमहानगरपालिकाले दहसम्म पुग्ने बाटो पक्की गर्नका लागि बजेट विनियोजन गरेको भन्ने सुन्नमा आए पनि कति बजेट र कहिलेबाट काम सुरु गर्छ भन्नेबारेमा कुनै जानकारी नभएको संयोजक पोख्रेलले बताए ।
दहलाई जिल्लाकै पर्यटकीय स्थलका रूपमा विकास गर्न सबैको सहयोग अति आवश्यक रहे पनि बजेट अभावका कारण अति आवश्यक पूर्वाधार निर्माण गर्न पनि नसकिएको उनले बताए ।
यसअघि दह संरक्षणका लागि साबिक जिल्ला विकास समिति, नेपाल पर्यटन विकास बोर्ड, चरिङ्गे दह सामुदायिक वन समूह र त्यहाँ रहेका पाँचवटा महिला समूहले पनि सहयोग जुटाएका थिए । दह संरक्षणका लागि जुटेका रामपुर–६ र ७ का जनताले दहलाई नै आयस्रोतको गतिलो माध्यम बनाउन केही समयअघि व्यावसायिक रूपमा माछा पालन समेत गरेका थिए ।
तीन वर्षअघि एक याममा दहमा गरिएको माछापालनबाट रु एक लाख आम्दानी भएको उनीहरूले बताए । उक्त दह सदरमुकाम घोराहीदेखि करिब १५ किलोमिटर पूर्व-उत्तरमा पर्छ ।
