भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सरकारको विशेष छुट, फ्लाई दुबईले असोज ७ देखि सिधा उडान गर्ने

पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सरकारको विशेष छुट, फ्लाई दुबईले असोज ७ देखि सिधा उडान गर्ने

काठमाडौं, ७ साउन । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको प्रमुख केन्द्रका रूपमा विकास गर्न विशेष सहुलियतको घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार २०८५ साल भदौ मसान्तसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइने भएको छ । साथै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

सरकारको यो निर्णयसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुल्क छुटको व्यवस्थाले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच, फ्लाई दुबई ले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्ने तयारी पूरा गरेको छ । उडान तालिका स्वीकृत भइसकेको छ भने यात्रुका लागि टिकट बुकिङ पनि खुला गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, यो उडान सञ्चालनमा आएपछि दुबई हुँदै युरोप, अमेरिका तथा अन्य मुलुक जाने यात्रुलाई सहज हुनेछ । यसबाट यात्राको समय छोटिने, यात्रा खर्च कम हुने तथा यात्रुहरूले थप सुविधा पाउने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रका लागि पनि यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विदेशी पर्यटकहरू अब काठमाडौं नआई सिधै पोखरा पुग्न सक्ने भएकाले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । साथै वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीहरूले पनि प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।

झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडानविहीन रहँदै आएको थियो । सरकारले शुल्क छुटको नीति लागू गरेसँगै अब विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने आधार तयार भएको अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.