माओवादीहरुको बैठक बालुवाटारमा जारी, सामूहिक प्रतिवाद गर्ने निर्णय

माओवादीहरुको बैठक बालुवाटारमा जारी, सामूहिक प्रतिवाद गर्ने निर्णय

काठमाडौं । माओवादी घटक दलहरुको बैठक बालुवाटारमा जारी छ । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरिरहेका माओवादी घटकहरुको संयुक्त बैठक बसिरहेको छ ।

बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु नजिकिदै गएका छन् । उनीहरुले द्वन्द्वकालीन घटनाको मुद्दामा पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका हुन ।

माओवादी घटकका नेताहरु संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् टुंगो लगाउनुपर्छ भन्नेमा एकमत भएका छन् । २०७६ माघ १ गते माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका छन् । सो रिटको पेसी आजका लागि सारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.