काठमाण्डौं । राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको चुनावमा सत्ता गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रतिपक्ष एमालेबाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएपछि एमाले शुन्य हुनबाट जोगिएको छ ।
चुनावमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन् । यता नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह निर्वाचित भएका छन् । जनता (समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भए । विजयी हुनेहरू आगामी छ वर्षे कार्यकाल हुने छ ।
एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र मुस्किलले जोगाउन सफल भएको छ भने बाँकी ७ सिटमा शुन्य हात लागेको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले हात पारेका छन् ।
२४ सिटमध्ये ७ सिट गुमाएको एमालेको अब राष्ट्रिय सभामा १७ सिटमा खुम्चिएको छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको १५ सिट, तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट, एकीकृत समाजवादीको ८, जसपाको ३ सिट र राजमोको १ सिट भएको छ ।
आउँदो फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिदै छ । ती पदका लागि माघ १२ गते चुनाव भएको हो ।
प्रदेशगत विजयी विवरण :
