२३ असार २०७७ भक्तपुर । लामखुट्टेबाट धेरै रोगहरू सर्ने हुँदा आवश्यक सावधानीका उपायहरू अवलम्बन गर्दै व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिन नगरपालिकाले निर्देशन दिएको छ ।
नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा किटजन्य रोगहरूबारे अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले यस्तो निर्देशन दिएका हुन । उपत्यकामा बढ्दो सहरीकरण र जनसंख्या वृद्धिसँगै सर्ने र नसर्ने रोगहरूको पनि जोखिम बढ्दै गएको भन्दै प्रमुख प्रजापतिले देशको विभिन्न ठाउँहरूमा व्यवस्थित सुविधायुक्त स–साना सहर विकास गर्नुपर्नेमा बताए ।
विकासको अर्थ ठूल्ठूला भवन निर्माण गर्नु र चिल्ला सडक बनाउनु मात्र नभएको बताउदै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका सहरहरूको मौलिक पहिचान र संस्कृतिलाई जोगाइराख्नुपर्ने बताए । रुवा रोगहरूबाट बच्न आवश्यक सर्तकता अपनाउनुका साथै जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन आवश्यक भएको उनको जिकिर छ ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले लामखुट्टेबाट सर्ने रोगबाट निकै सतर्कता अपनाउनुपर्ने बताए । सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै डेङ्गु, मलेरिया, हेपाटाइटिस, स्क्रब टाइफाइड लगायतका रोग नियन्त्रणका लागि तालिमको आवश्यक्ता औल्याए ।

