मकवानपुर । लामो समयदेखि जीर्णोद्धार कार्य भइरहेको मकवानपुरगढी व्यवस्थित र सुन्दर बन्दै छ । ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी दरबार सामान्य मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो ।
पुरातत्त्वले मकवानपुरगढी दरबार परिसरमा रहेको श्री कृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेष मर्मत गरेको हो । मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरु भत्किएर जीर्ण बनेका थिए ।
पुरातत्त्वले मकवानपुरगढीको भत्किएका भागहरुलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरु निर्माण गरेको छ । मन्दिरको पश्चिमतर्फ रहेको दरबार भत्किएर ढुंगाको थुप्रो झैँ बनेको थियो ।
तर, पुरातत्त्वले जीर्णोद्धार गरेसँगै सो दरबार पुरानै अवस्थामा देखिन थालेको छ । सो दरबारको काठका खाबो परिवर्तन गरिएको छ भने भत्किएका भित्ता मर्मत गरिएका छन् । आँखी झ्यालसहित भुइँ तलालाई चिटिक्क बनाइएको छ ।
