काठमाडौं । अहिले समस्या देखिएका सहकारीका सञ्चालकको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सहकारी समस्या समाधानसम्बन्धी कार्यदलले सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित समितिले प्रारम्भिक प्रतिवेदन बुुझाएको हो ।
समितिको प्रतिवेदनमा तीनै तहका सरकारका सम्बन्धित नियामकहरुले अबको तीन महिनाभित्र मुलुकभरका सबै सहकारीहरुको स्थलगत अनुगमन र सुपरीक्षण गरिसक्नु पर्ने र त्यसका आधारमा प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख गरेको छ।यता सहकारी ऐनको दफा ११५ ले पनि समस्या आएका सहकारीहरुमा सञ्चालक समितिको सदस्य, व्यवस्थापक तथा तिनका परिवारको बैंक खाता रोक्का गर्ने, चलअचल सम्पत्ति रोक्का राख्ने व्यवस्था गरेको छ ।
त्यसैगरी समस्याग्रस्त सहकारीका सञ्चालकहरुको पासपोर्ट जारी नगर्ने वा गरिसकेको भए रोक्का राख्नेलगायतका व्यवस्था ऐनको दफा ११५मा उल्लेख रहेको छ ।
