चितवन । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा सात वार्षको अवधिमा ३० बाघ मरेका हुन । आर्थिक वर्ष २०७२–०७३ मा एक, २०७३÷०७४ मा चार, २०७४–०७५ मा छ, २०७५–०७६ मा आठ बाघ मृत भेटिए भने आव २०७६–०७७ मा तीन, २०७७–०७८ मा दुई र २०७८–०७९ मा छ वटा बाघ मृत भेटिएका थिए । आर्थिक वर्ष २०७२(०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको निकुञ्जले जनाएको छ । मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेर मृत भएको पाइएको छ ।
निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको जनाइएको छ । चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ ।
