भर्खरै : Sorry, your browser does not support inline SVG.

सूर्यविनायक साँगा ६ लेन सडकखण्डको विस्तार सुरु

सूर्यविनायक साँगा ६ लेन सडकखण्डको विस्तार सुरु

भक्तपुर । सूर्यविनायक-धुलिखेल-सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक- साँगा सडकखण्डको विस्तार सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, योजना प्रमुख राजेन्द्रप्रसाद दासलगायत भक्तपुरका जनप्रतिनिधिले संयुक्तरूपमा ढुङ्गा बिछ्याएर सडक विस्तार कार्यको सुरुवात गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य थापाले यो सडकको विस्तार योजनामा सङ्घीय सरकारअन्तर्गतकै बजेट रहेकाले बजेटको कमीले सडक निर्माणमा ढिलाइ नहुने बताए । उनले कुनै पनि सडक निर्माण हुँदा कम्तीमा २५ वर्षपछिको भविष्य हेरेर कार्य गर्नुपर्नेमा जोड दिँदै सडकमा जेब्रा क्रसिङ, आकाशे पुललगायतका विभिन्न संरचना कहाँ र कसरी राख्ने भन्ने निर्णय अगाडि नै हुनुपर्ने बताए ।

प्रदेशसभा सदस्य थापाले आफू वडाध्यक्ष हुँदा सडक पेटीका संरचना हटाएर सडक जाम खुलाउने र सडक अतिक्रमणलाई रोकेको बताउँदै सडक निर्माणमा सबैको सहयोग हनुपर्नेमा जोड दिए । उनले यो सडक निर्माणको क्रममा सवारी जाम हुन सक्ने भन्दै सूर्यविनायक सिपाडोल साँगाको वैकल्पिक बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न सकिने सुझाव दिए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले यो सडकखण्डमा सूर्यविनायकका तीन वटा वडा पर्ने भन्दै स्थानीयवासीलाई असुविधा नहुने गरी सडक निर्माण कार्य अगाडि बढाउन आग्रह गरे । भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले ठेक्का सम्झौता र मापदण्डअनुसार सडक निर्माण गर्न र सम्भावित दुर्घटना एवं धनजनको क्षति नहुने गरी काम गर्न सुझाव दिए ।

आयोजना प्रमुख दासले सडक शिलान्यास गर्न बाँकी नै रहे पनि निर्माण कम्पनीले काममा ढिलाइ नगर्नका लागि शुभ साइत निकालेर आजदेखि सडक विस्तार कार्य शुभारम्भ गरेको बताए । साढे सात किलोमिटर लामो सूर्यविनायक(साँगा सडकखण्ड कूल रु तीन अर्ब ८८ करोड ९३ लाखको लागतमा मुख्य चार लेन र दायाँबायाँ दुई लेन सर्भिस ट्र्याक रहने गरी ६ लेन सडक आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनासँग आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का सम्झौता गरेको आयोजना प्रमुख दासले जानकारी दिए ।

सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ८२ मिटरभित्रका रुखहरू काटिएको, सडकभित्र बनेको टहरा हटाइएको र सडकको सर्भिस ट्र्याक खुलाइएको थियो । बाँकी रहेका मापदण्डभित्र परेका घर भत्काइने र पाटी तथा मन्दिर सारिने भएका छन् ।

सूर्यविनायकबाट धुलिखेलसम्म १६ दशमलव तीन किलोमिटरमध्ये पहिलो चरणमा रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा सम्पन्न गर्ने गरी धुलिखेलदेखि साँगासम्मको आठ दशमलव चार किमी सडकखण्डको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले केही दिन अगाडि नै निर्माण सुरु गरेको छ ।

सडक विस्तारको ठेक्का पाएको कम्पनी आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीका सञ्चालक रामजी पन्तले वर्षामा पनि काम नरोक्ने गरी सम्झौता भएकै मितिभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरे । आयोजनाका अनुसार सडकको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० मा केही परिवर्तन हुँदा पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने छ ।

करिब रु एक अर्ब लागतमा यो सडकमा २०(२० मिटरका तीन पुल, जगाती, महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको छ । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने-आउने लेन तल(माथि हुने भएकाले सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था आएको छ।

 


Thali Mobile Pvt.Ltd.